सगरमाथा पदमार्गमा अस्पताल, गन्तव्य चुम्न पर्यटकलाई सहज

खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव  ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् । हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । यसका लागि कोही लुक्लाबाट पैदल त कतिपय हेलिकोप्टर प्रयोग गर्छन् । तर सबैजसोलाई बाटो भरि एउटै कुराको पीर रहन्छ, स्वास्थ्य अवस्था बिग्रिए तत्काल उपचार गर्न कहाँँ जाने ? उपचारको भरपर्दो व्यव

सम्बन्धित सामग्री

उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै

सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै गएको छ।

कोभिडपछि आन्तरिक पर्यटनले भरथेग गर्दै नेपाली पर्यटन उद्योग

पुस १७, भक्तपुर । कोरोना भाइरसको संक्रमणका कारण डेढ वर्षभन्दा बढी थलिएको पर्यटक व्यवसाय चलायमान हुन लागिरहेका बेला अङ्ग्रेजी नयाँ वर्ष २०२२ का अवसरमा भक्तपुरका पर्यटकीयस्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन् । नयाँ वर्ष मनाउनका लागि यहाँका रानीकोटदेखि नगरकोटसम्मका होटल आन्तरिक पर्यटकले भरिएका हुन् ।      नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका– ७(गुण्डु) र ८(सिपाडोल) को संगमस्थल ऐतिहासिक रानीकोटमा सबै होटल आन्तरिक पर्यटकले नै भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्नेको शनिवार बिहान भीड थियो । रातभर नाचगान गरी नयाँ वर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुइँचोले होटल पाउनै मुश्किल थियो ।             उता भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी पर्यटक नै पुगेका छन् । शुक्रवार बेलुका बास बसेर शनिवार बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्न पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो । हरेक वर्ष विदेशी पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारीका कारण विदेशी पर्यटक नआए पनि स्वदेशी पर्यटकको आगमन देखेर होटल व्यवसायी उत्साहित भएका छन् ।             समुद्री सतहबाट २ हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यकालगायत विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरि तथा लाङ्टाङजस्ता ८ हजार मिटरभन्दा अग्ला आठ ओटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकें बताउँछन्। सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्रा मार्गले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको छ भन्दै उनी कोरोना भाइरसको महामारीमा पनि नयाँ वर्ष २०२१ को उत्साह र उमङ्ग स्वदेशी पर्यटकले नै थपेकोे बताउँछन्।             अङ्ग्रेजी नयाँ वर्षका अवसरमा भएको भीडले पर्यटन व्यवसायीका लागि ऊर्जा र उत्साह बढेको चर्चा गर्दै व्यवसायी बकें रानीकोट ऐतिहासिकरुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान भएको बताउँछन् । उनका अनुसार कोरोनाले ठप्प बनेको होटल व्यवसाय पछिल्लो केही महिनादेखि चलायमान हुँदै थियो, अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको घुइँचो लागेपछि पर्यटन व्यवसायमा पुनःआशा पलाएको छ ।             रानीकोटमा १६ करोड रुपैयाँको लागतमा निर्माण भएको सबभन्दा ठूलो भिलेज हाइल्यान्ड रिसोर्ट सञ्चालनमा आएलगत्तै कोरोनाका कारण बन्द गर्नु परे पनि अहिले भने पुनःआशा जगाएको उनी बताउँछन्। नयाँ वर्ष आफ्नो होटल सात दिन अघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्य होटलमा पठाउनु परेको छ भन्दै व्यवसायी बकें आगामी एकसातासम्मका लागि होटलमा आन्तरिक पर्यटकले भरिने उल्लेख गर्छन्।             विगत छ महीनादेखि खुल्न थालेका नगरकोटका सानादेखि ठूला होटल नयाँ वर्षको अवसरमा भने खचाखच छन् । नयाँ वर्ष २०७८ देखि चहलपहल भए पनि अङ्ग्रेजी नयाँ वर्ष २०२२ को आगमनमा विदेशी पर्यटक नभए पनि स्वदेशी पर्यटकले नै यहाँको होटल खचाखच भएकोे होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले बताए।             उनले होटल क्षेत्रमा काम गरेको २१ वर्षभन्दा बढी भयो तर कोरोनाले होटल सुनसान भएको यो पहिलो पटक हो, यद्यपि हरेक नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन्थे, सबै होटल भरिन्थ भनी बताए । उनले गत वर्ष सुनसान भए पनि यस वर्ष अङ्ग्रेजी नयाँ वर्षमा भने आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा पुनः आशा पलाएको बताए ।             भूकम्पले भत्किएपछि पुनर्निर्माण गरेर नयाँस्वरुपमा होटल सञ्चालनमा ल्याएका होटल चौतारीका सञ्चालक बद्री माक भूकम्प र कोरोनाले संकटमा पारेको होटल व्यवसायलाई अहिले आन्तरिक पर्यटकले राहत मिलेको बताउँछन् । अङ्ग्रेजी नयाँ वर्षमा नगरकोटमा विदेशी पर्यटक नभए पनि स्वदेशी पर्यटकको आगमनले होटल खचाखच रहेको बताउँदै उनी नयाँ वर्षमात्रै नभई शुक्रवार र शनिवार अधिकांश होटल आन्तरिक पर्यटकले भरिने गरेको जानकारी दिन्छन् ।  सन् २०२१ को अन्तिम दिनलाई बिदाइ र २०२२ को पहिलो दिनको सूर्योदयलाई स्वागत गर्नका लागि यस वर्ष स्वदेशी पर्यटकको आगमनले पनि पर्यटन व्यवसायमा आशा पलाएको सञ्चालक माक बताउँछन्। रास

सित्तैको प्रचार र नेपालको पर्यटन

नेपाल कोरोनाबाट थलिएको विश्व पर्यटनले बिस्तारै गति समात्दै छ । बाह्य पर्यटक आगमन उल्लेख्य नभए पनि आन्तरिक पर्यटककै भरमा धेरै देशको पर्यटनले पुनरुत्थानको बाटो लिइरहेको छ । नेपालमा कहिलेबाट बाह्य पर्यटक आउलान्, आन्तरिक पर्यटकलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ठोस र प्रभावकारी रणनीति तय भएको छैन । न सरकार, न पर्यटन बोर्ड न त व्यवसायीले नै यसमा राम्रो तयारी गरेको देखिन्छ । अहिले लोन्ली प्लानेटले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेपछि पर्यटन व्यवसायी खुशी भएका छन् । लोन्ली प्लानेटले हरेक वर्ष विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्ने गरेको छ । अरू वर्षहरूमा जसरी नै नेपालको नाम पनि यसमा समावेश गरिएको छ । तर, यसपटक सगरमाथा र अन्नपूर्ण सर्किटबाहेक मुस्ताङको विशेष चर्चा गरेको छ ।  पर्वतारोहीहरूका लागि मुस्ताङ पनि उत्तिकै आकर्षक स्थल रहेको उल्लेख छ । त्यहाँको मरुभूमि समान अलौकिक दृश्यको मजा लिनुका साथै स्थानीय होमस्टेहरूमा नेपालका विशेष परिकारको स्वाद पनि लिन पाइने उल्लेख गरिएको छ । जस्तै याकको बटरसँग कफी, कोठे शैलीको मःमः लगायत विभिन्न स्वादिष्ट परिकारबारे पनि उल्लेख गरिएको छ । विश्वका अन्य आकर्षक गन्तव्यहरूमा इजिप्टको पिरामिड्स अफ गिजा, मलावी, ओमान, एङविला, स्लोभेनिया, बेलिज, मोरिसियस, नर्वे र कुक आइलन्ड्स रहेको छ । यसरी विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा नेपाल पर्नु ठूलो महŒवको कुरा हो । विभिन्न संस्थाले पर्यटकलाई नयाँनयाँ गन्तव्यहरूको सूची जारी गरेर त्यहाँको विशेषतालाई उजागर गरिदिने गरेका छन् । फोब्र्सको सूची होस् बा लोन्ली प्लानेट वा ट्रिप एडभाइजर नै किन नहोस् । तिनले नेपालको नाम छुटाउने गरेको छैनन् । नेपालका विभिन्न पर्यटकीय गन्तव्य र विशेषताहरूको चर्चा तिनीहरूले गर्ने गरेका छन् । नेपालले करोडौं रुपैयाँ खर्च गरेर पनि गर्न नसक्ने विज्ञापन यिनीहरूले गरिदिएका छन् । अहिले विश्वभरि नै पर्यटन बजारमा मन्दी आएका बेला लन्ली प्लानेटको सूची महत्त्वपूर्ण मान्नुपर्छ । पर्यटन बिस्तारै लयमा आउन खोजेको आभास भइरहँदा यस्ता निःशुल्क रूपमा भएका विज्ञापनले ठूलो अर्थ राख्छ । तर, प्रचार हुनुमात्रै पर्याप्त होइन भन्नेमा हाम्रो ध्यान जानु पनि उत्तिकै महत्त्वपूर्ण छ । यस्ता पर्यटकीय चर्चामा नेपालको नाम आउँदा हामी मख्ख पर्छौं । तर, त्यस्तो प्रचारबाट पाएको अवसरको उपयोगमा भने हामी मजाले चुकेका छौं । विश्वभरि नै नेपालको भौगोलिक र प्राकृतिक अद्वितीयताको चर्चा राम्रै भएको पाइन्छ । त्यहाँका मानिसहरूको ड्रिम डेस्टिनेशन अर्थात् सपनाको गन्तव्य नेपाल बनेको पनि पाइन्छ । तर, उनीहरू नेपाल घुम्न चाहेर पनि घुम्न पाइरहेका छैनन् । यो सरासर हामी नेपालीको कमजोरी हो । यसमा सरकार, पर्यटन बोर्ड र हामी व्यवसायीहरू कुनै न कुनै रूपमा दोषी छौं । तिनलाई नेपाल सुरक्षित छ, घुम्नका लागि सहज सुविधा छ र तिनले नेपाल भ्रमणका कुनै अवरोध वा समस्या भोग्नु पर्दैन भन्ने विश्वास पर्यटकलाई दिलाउन सकेका छैनौं । पर्यटकले हेर्ने विविध कुरामध्ये सुरक्षा पनि एक हो । ट्रेकिङ आदिमा आउने पर्यटक दुई चार जनाको समूहमा हिँड्न रुचाउँछन् । एक्लै हिँड्न रुचाउने पर्यटक पनि हुन्छन् । तिनबाट उचित शुल्क लिएर यस्तो अवसर दिलाउनुपर्छ । उनीहरूलाई यी खालका क्रियाकलापमा समस्या छैन, आपत्ति आइपर्दैन भन्ने जानकारी राम्ररी दिन सकेमात्रै पनि गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन नसकिने होइन । नेपालमा पछिल्लो समयमा स्तरीय होटलहरू खुल्ने क्रम निकै बढेको छ । ठूला व्यापारिक घराना र गैरआवसाीय नेपालीहरूले यसमा ठूलो लगानी गरेका छन् । पर्यटकीय बसहरू चल्न थालेका छन् । आन्तरिक हवाई उडानको पनि राम्रै व्यवस्था छ । अर्थात् पर्यटकीय सेवाहरू पस्कन हामी तयार भएर बसेका छौं । १ वर्षमा २० लाख पर्यटक नेपाल आए भने पनि तिनलाई सेवा दिन सक्ने हैसियत पर्यटन व्यवसायीको रहेको छ । पर्यटक नेपाल आउन तयार छन्, नेपालभित्र पर्यटकलाई सेवा दिन व्यवसायीहरू तयार छन् तर पर्यटक नेपाल आउन सकेका छैनन् । किन उनीहरू नेपाल आउन नसकेका हुन् त ? तिनलाई नेपाल ल्याउन कस्तो रणनीति आवश्यक पर्छ त भन्नेमा नै हाम्रो पर्याप्त तयारी रहेको देखिँदैन । पर्यटनहरू नेपाल आउन नसक्नुको एउटा प्रमुख कारण हवाई सेवा गन्तव्य मुलुकहरूमा नहुनु हो । नेपाल वायु सेवा निगमले जापानमा उडान शुरू गर्नेबित्तिकै कोरोना शुरू भयो । जर्मनी, बेलायत र फ्रान्सजस्ता गन्तव्यमा नेवानिको उडान कहिलेदेखि हुन्छ अत्तापत्तो छैन । यी देशमा नेवानिको सेवा सञ्चालन भएका वर्षहरूमा त्यहाँबाट गुणस्तरीय पर्यटक आएको इतिहास छ । नेवानिसँग विमान भएर पनि उसले उडान विस्तार गर्न नसक्नुको परिणाम पर्यटन व्यवसायले भोगिरहेको छ । विगतमा नेवानिसँग विमान थिएन तर अहिले विमान भएर पनि उसले पर्यटक ल्याउन सकेको छैन । नेवानिको सस्तो उडान यूरोपेली मुलुकमा गर्न सक्ने हो भने लोन्ली प्लानेट वा अन्य पर्यटन उडभाइजरहरूले गरेको प्रशंसा र प्रचारको फल नेपाली पर्यटन क्षेत्रले पाउन सक्छ । निजीक्षेत्रको हिमालयन एयरलाइन्सले पनि पर्यटकीय बजारमा उडान गर्न सकेको छैन । नेपालीहरू जाने क्षेत्रमा मात्र उसले उडानमा रुचि राखेको छ । अर्काले प्रचार गरिदिए पनि त्यसको लाभ लिन नसक्नुको कारण विदेशी पर्यटक एजेन्टसँग राम्रो सम्बन्ध राख्न नसक्नु हो । नेपालीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण गन्तव्य मुलुकहरूका एजेन्टले नेपालजस्तै भूभाग भएको भारत वा अन्यत्र जान पर्यटकरूलाई प्रेरित गरेको पाइन्छ । पर्यटन एजेन्सीहरूसँग राम्रो सम्बन्ध कायम गर्न सके यो प्रचारको फाइदा लिन सकिन्छ । पर्यटन बोर्डको भूमिका पनि सन्तोषजनक देखिएको छैन । परिणाममुखी नयाँ सोचको काम गर्नुभन्दा दैनिक प्रशासनिक काममा सीमित रहनु नै बोर्डको काम देखिएको छ । यसरी नेपालको पर्यटन व्यवसायमा समन्वयको अभाव भएकाले तथा सही नीति राज्यले लिन नसकेकाले पर्यटनको सम्भाव्यता दोहन गर्न नसकिएको हो । पन्त नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

आन्तरिक पर्यटककै भरथेग

सन् २०२० मा २० लाख पर्यटक ल्याउने तयारीका साथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा जुटेको नेपालका लागि कोरोना भाइरस (कोभिड–१९) पर्यटन व्यवसायका लागि ठूलै समस्या बनेर आयो । कोरोना भाइरस संक्रमणका कारण बाह्य पर्यटक आगमन ठप्पप्रायः हुँदा पर्यटन क्षेत्र नराम्रोसँग पछाडि धकेलियो । नेपालमा पर्यटक आगमन ८० प्रतिशत र विदेशी मुद्रा आर्जनसमेत ७१ प्रतिशतले कमी आयो । पर्यटन क्षेत्र ‘बाउन्स ब्याक’ हुन सन् २०२५ सम्म पर्खनुपर्ने देखिन्छ । कोभिडविरुद्धको खोप, आन्तरिक पर्यटकको रुचि, छिटफुट रूपमा आएका विदेशी पर्यटक आशाका संकेत हुन् । हस्पिटालिटी क्षेत्र, एयरलाइन्स कम्पनीहरूले ल्याएका विशेष प्याकेज तथा छूटले नेपालमै भ्रमण संस्कृति स्थापित गर्दै छ भने प्रतिस्पर्धी पर्यटन बजारले आन्तरिक पर्यटकलाई सस्तो तथा सुलभमा सेवा दिएर यसलाई आकर्षित गर्दै छ ।  अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्रमा आर्थिक पुनरुत्थानमा सहयोगी हुने किसिमले सकारात्मक संकेतहरू देखिन थालेका छन् । कोभिडविरुद्धको खोप लगाए पनि कोरोना संक्रमण हुने त्रास कायमै रहेको छ । तैपनि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध भएको, व्यवसायीले पनि खोप लगाइसकेको र अन्य मुलुकहरूमा पनि खोप लगाउनेको संख्या बढ्दो क्रममा रहेको हुँदा अबको पर्यटकीय सिजनमा विदेशी पर्यटक आउन सक्ने सम्भावना भने नकार्न सकिँदैन । नेपालमा पर्यटकहरू पर्वतारोहण, दृश्यावलोकन, साहसिक खेल आदिका लागि बढी आउने गर्छन् । यसमध्ये बिदामा घुमफिर गर्ने र धार्मिक पर्यटकले जोखिम लिन नचाहने भएकाले उनीहरू आउने सम्भावना कम हुन्छ । तर, साहसिक पर्यटनका लागि भने पर्यटक आउने गरेका छन् । यो सम्भावना अझ सहज देखिन्छ । सन् २०२१ को वसन्त सिजनमा पनि नेपालमा बन्दाबन्दी थियो । तर, पनि पर्वतारोहणका लागि विभिन्न देशबाट पर्यटक आएका थिए । सन् २०२० मा पर्वतारोहणका लागि आउने पर्यटकको संख्या शून्य थियो । पर्यटन विभागको तथ्यांकअनुसार कोभिडकै बीचमा यो वर्षको सिजनमा ४५९ जना पर्यटकले सगरमाथा आरोहण गरेका थिए । त्यसमध्ये सबैभन्दा धेरै नेदरल्याण्ड्सबाट २८३ जनाले सगरमाथाको आरोहण गरेका थिए । अमेरिकाबाट ३२ जनाले सगरमाथा आरोहण गरेका थिए । यस्तै छिमेकी देश चीनबाट २४ र भारतबाट २० जना पर्वतारोही आएका थिए ।  नेपालको पर्यटन क्षेत्रको ठूलो पूँजी पर्वतारोहण हो, जसले केन्द्रदेखि ग्रामीण क्षेत्रसम्म आर्थिक गतिविधिहरू हुन पाउँछ । बहराइनका राजकुमारहरू विमान चार्टर्ड नै गरेर नेपालको हिमाल आरोहण गर्न आउँदा पर्वतारोहणमा आशा देखियो । यसले नेपाल घुम्न आउने कि नआउने भनी ‘पर्ख र हेर’को अवस्थामा रहेका विदेशी पर्यटकका लागि सकारात्मक सन्देश दिएको छ । ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार नेपालमा सन् २०२० मा २ लाख ३० हजार ८५ जना मात्रै विदेशी पर्यटक नेपाल घुम्न आएको देखिन्छ । सन् २०१९ को तुलनामा यो ८० प्रतिशतले कमी हो । पर्यटन क्षेत्रबाट उक्त वर्ष रू. २५ अर्ब आर्जन भएको देखिन्छ । पर्यटकको औसत बसाइ भने विगत वर्षभन्दा बढेको देखिन्छ । औसतमा १२÷१३ दिनको बसाइ हुने पर्यटकको अवधि १५ दिन पुगेको छ भने प्रतिपर्यटक खर्च पनि बढेर दैनिक ६५ अमेरिकी डलर पुगेको छ ।  कोरोनाकालमा पर्यटकको खर्च र बसाइ बढेको छ भने पर्वतारोहणका लागि आउने पर्यटकको संख्यामा पनि सुधार देखिएको छ । यसले थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा आउने आशा पलाउन थालेको छ । खोप र कोरोना संक्रमण दरमा केही कमी आउँदा खुकुलो बनाउँदै लगिएको निषेधाज्ञाले आन्तरिक पर्यटनमा पनि सुधार ल्याएको छ । काठमाडौं उपत्यका वरपरका र देशका विभिन्न पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बाक्लो हुन थालेको छ ।  साप्ताहिक बिदामा काठमाडौं नजिकका नगरकोट, धुलिखेलदेखि चितवनको सौरहा, कास्कीको पोखरा जस्ता प्रसिद्ध गन्तव्यहरू आन्तरिक पर्यटकले भरिन थालेका छन् । पाँचतारे होटेल, रेस्टुराँ सञ्चालन गरेर भए पनि व्यवसायी सञ्चालन खर्च जुटाउन लागिपरेका छन् । नेपालीको पहुँच पनि तारे होटेलसम्म पुग्न थालेको छ । आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिने पर्यटन क्षेत्र प्रभावित हुँदा विदेशी मुद्रा आर्जनमा समेत कमी आएको छ । विदेश भ्रमणमा  जाने नेपालीहरू पनि अहिले यहीँका पर्यटकीय गन्तव्यका राम्रो स्रोत भएका छन् । पहिलो आफ्नै देश घुम्नुपर्छ भन्ने मान्यता विस्तारै स्थापित हुँदै आएको छ । खासगरी आन्तरिक पर्यटकले पर्यटनलाई ठूलो भरथेग गरेको छ । बिदा हुनासाथ विदेशका पर्यटकीय क्षेत्रहरू रोज्ने र रोजाइमा पर्ने ग्राहकहरू माउन्टेन भ्यू तथा अन्य गन्तव्य खोजेर जान थालेका छन् । आन्तरिक भ्रमणको संस्कृति स्थापित गर्न निजीक्षेत्रका वायुसेवा कम्पनी तथा हेलिकोप्टर कम्पनीका साथै पर्र्यटकीय गन्तव्य मानिने क्षेत्रका होटेलले आकर्षक प्याकेज ल्याएर थप मलजल गरे ।  काठमाडौंमा रहेका पाँचतारे होटेलदेखि उपत्यका वरपर रहेका होटेल तथा रिसोर्टहरूले पनि विभिन्न छूट दिँदै आन्तरिक पर्यटकलाई आकर्षित गर्ने प्रयास जारी राखेका छन् । तैपनि सन् २०१९ कै अवस्थामा आउन नेपाललाई समय लाग्न सक्छ । विदेशी पर्यटकमाथि आश्रित रहेको पर्यटन क्षेत्र उनीहरूको कम उपस्थितिले अहिले शिथिल छ । कोरोना कहर नै चुनौती बन्दै आएका बेला पर्यटन क्षेत्र पुनः लयमा फर्काउन धैर्य र नेपालमै भएका आन्तरिक पर्यटकलाई घुम्नलाई प्रेरित गर्नुको विकल्प छैन । सरकारले चालू आर्थिक वर्ष २०७८÷७९ को बजेटमा ल्याएको कार्यक्रम कार्यान्वयन गर्न सके निजामती, संस्थान तथा सार्वजनिक निकायको ठूलो हिस्सा आन्तरिक पर्यटकको रूपमा देशभर घुम्न सक्छन् । सरकारले बजेट वक्तव्यमा ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान, प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने घोषणा गरेको छ । निजीक्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गर्ने कार्यक्रम छ । सरकारले घोषणा गरेका यस्ता कार्यक्रम छिटो कार्यान्वयनमा ल्याउन सके मात्रै पनि आर्थिक गतिविधि चलायमान बनाउन सकिने आधार तय हुन्छन् । तर, कागजमा मात्रै उल्लेख गरेर न त पर्यटकीय गतिविधि बढ्छन् न त, आर्थिक पुनरुत्थानमा पर्यटनले योगदान दिन सक्छ । त्यसैले सरकारले नै घोषणा गरेका कार्यक्रमहरू समयमै कार्यान्वयनमा ल्याई लय समात्न थालेको पर्यटन क्षेत्रलाई ऊर्जा दिन जरुरी छ ।