माघ २३, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
कम्पनीले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आइपीओ निष्कासन गर्नेछ । कम्पनीले हालसम्ममा ३२ ओटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीको प्रधान कार्यालय कोहलपुर - ११, बाँकेमा रहेको छ ।
कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५२ प्रतिशतले कमि आएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ९३ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू.१ करोड ८८ लाखमा झरेको हो ।
त्यसैगरी कम्पनीको सञ्चालन नाफा गत आवमा रू. ३४ करोड ११ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा रू. २ करोड २६ लाख धनात्मक भएको हो । त्यसै कम्पनीको खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी रू. ६ करोड १६ लाख रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. ६ करोड ६० लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू.९५ करोड ६९ लाख सापटि लिएर,रू. ८९ करोड ८७ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब १३ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।
त्यसैगरी कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ७५ लाख ९ हजार खराब कर्जा उठाएको छ ।