मलेसियामा नेपाली श्रमिकको सामाजिक सुरक्षा समझदारी

मलेसियामा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने विषयमा नेपाल र मलेसिया सरकारबीच समझदारी भएको छ । वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (सस्को)बीच नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिको प्रवद्र्धनसम्बन्धी सहकार्यको समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालको तर्फबाट बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र मलेसियाको तर्फबाट सस्कोका प्रमुख कार्यकारी अधिकृत डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले हस्ताक्षर गर्नुभयो । विश्वव्यापी रूपमा सङ्क्रमण कायम रहेको कोरोनालाई ध्यानमा राखी समझदारी पत्रको आदानप्रदानमार्फत यही फागुन ४ गते काठमाडौँमा र १४ गते मलेसियामा हस्ताक्षर सम्पन्न भएको जनाइएको छ । मलेसियामा रहेको नेपाली दूतावासको सक्रियतामा समझदारी पत्रको मस्यौदामाथि विभिन्न चरणमा छलफलपछि तयार भएको अन्तिम मस्यौदा माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको थियो । समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो । सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिक भर्ना गर्दा सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान छ । सोस्कोका अनुसार हालसम्म करिब तीन लाख नेपाली श्रमिक यसमा आबद्ध छन् । सोस्कोमा आबद्ध हुन रोजगारदाताले श्रमिकले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रूपमा बुझाउनुपर्ने हुन्छ ।

सम्बन्धित सामग्री

मलेसियामा नेपाली सुरक्षागार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव

काठमाडौं । नेपाली सुरक्षागार्डको तलब ३ हजार  रिंगेट बनाउन सरकारले मलेसियासँग प्रस्ताव राखेको छ । नेपाली कामदारका लागि प्रमुख रोजगार गन्तव्यमध्ये मलेसिया एक हो । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शनिवार त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय उच्चस्तरीय भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन् । मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवासुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग छलफल गरेका थिए । सेवासुविधा बढाउने विषयमा मलेसिया सरकार सकारात्मक देखिएको श्रममन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा नेपाल–मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । नेपाली कामदार मेहनती र इमानदार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्डसका रूपमा मलेसियामा नेपालीको राम्रो प्रभाव रहेको बताएका थिए । भेटवार्तामा नेपाली युवालाई शीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबीसै घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्थाबारे पनि छलफल भएको थियो । नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालीमको व्यवस्था गरी शीपयुक्त बनाउनेबारे समेत उनीहरूबीच छलफल भएको थियो । नेपालबाट सुरक्षागार्डमा जानेहरू पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालीम लिएका युवा छन् । पूर्वगोर्खा ब्रिटिश सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गाडर््सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकाले समयानुकूल तालीम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्नेमा नेपालले जोड दिएको भेटवार्तामा सहभागी श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । उनका अनुसार छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी गर्ने तयारी छ । भेटवार्तामा मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत मोतीबहादुर श्रीश पनि सहभागी थिए । यसअघि श्रममन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सरावननसँग भेट गरेका थिए । उनीसहित मलेसियाली प्रतिनिधि मण्डलसँगको बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो । साथै नेपाल–मलेसिया संयुक्त कार्यदलको तेस्रो बैठक छिट्टै काठमाडौंमा गर्ने सहमति पनि भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोस्को) समेत भ्रमण गरेको थियो । कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिक जान पाएका थिएनन् । फागुनदेखि त्यहाँको सरकारले विदेशी कामदार लिन शुरू गरेको छ । सोहीअनुसार मागपत्र अहिले नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएकाले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुनः सुचारु भएको छ ।

मलेसियाको रोजगारीमा देखिएका समस्याको दिर्घकालिन समाधान खोज्दै सरकार

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने क्रममा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको जनाएको छ ।  मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले गैरकानूनी र अनुचित ढंगले श्रमिकमाथि भएको शोषण बन्द गरी वैदेशिक रोजागरीको क्षेत्रमा देखिएका समस्या...