मलेसियामा नेपाली सुरक्षागार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव

काठमाडौं । नेपाली सुरक्षागार्डको तलब ३ हजार  रिंगेट बनाउन सरकारले मलेसियासँग प्रस्ताव राखेको छ । नेपाली कामदारका लागि प्रमुख रोजगार गन्तव्यमध्ये मलेसिया एक हो । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शनिवार त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय उच्चस्तरीय भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन् । मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवासुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग छलफल गरेका थिए । सेवासुविधा बढाउने विषयमा मलेसिया सरकार सकारात्मक देखिएको श्रममन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा नेपाल–मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । नेपाली कामदार मेहनती र इमानदार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्डसका रूपमा मलेसियामा नेपालीको राम्रो प्रभाव रहेको बताएका थिए । भेटवार्तामा नेपाली युवालाई शीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबीसै घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्थाबारे पनि छलफल भएको थियो । नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालीमको व्यवस्था गरी शीपयुक्त बनाउनेबारे समेत उनीहरूबीच छलफल भएको थियो । नेपालबाट सुरक्षागार्डमा जानेहरू पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालीम लिएका युवा छन् । पूर्वगोर्खा ब्रिटिश सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गाडर््सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकाले समयानुकूल तालीम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्नेमा नेपालले जोड दिएको भेटवार्तामा सहभागी श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । उनका अनुसार छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी गर्ने तयारी छ । भेटवार्तामा मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत मोतीबहादुर श्रीश पनि सहभागी थिए । यसअघि श्रममन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सरावननसँग भेट गरेका थिए । उनीसहित मलेसियाली प्रतिनिधि मण्डलसँगको बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो । साथै नेपाल–मलेसिया संयुक्त कार्यदलको तेस्रो बैठक छिट्टै काठमाडौंमा गर्ने सहमति पनि भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोस्को) समेत भ्रमण गरेको थियो । कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिक जान पाएका थिएनन् । फागुनदेखि त्यहाँको सरकारले विदेशी कामदार लिन शुरू गरेको छ । सोहीअनुसार मागपत्र अहिले नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएकाले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुनः सुचारु भएको छ ।

सम्बन्धित सामग्री

मलेसियामा नेपाली सुरक्षागार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव

काठमाडौं । सरकारले मलेसियामा कार्यरत नेपाली सुरक्षागार्डको तलब तीन हजार रिंगेट बनाउन प्रस्ताव गरेको छ । मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा कार्यरत नेपाली सुरक्षागार्डको तलब तीन हजार रिंगेट बनाउन प्रस्ताव गरेका हुन् ।  मन्त्री श्रेष्ठले आज मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग भएको द्विपक्षीय भेटवार्तामा नेपाली...

मलेसियामा नेपाली सुरक्षा गार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव

मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । पुत्रजयास्थीत गृह मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी गरेका हुन् । मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्ड सहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताए । श्रेष्ठले नेपाली सुरक्षा गार्डको म