मध्य अफ्रिकी देश ग्याबोनमा मंगलबार ‘कु’ भएपछि अपदस्थ गरिएका राष्ट्रपति अली बोन्गोले एउटा छोटो भिडियो सार्वजनिक गरे, जसमा सन् २००९ देखि शासनमा रहेका उनी कमजोर देखिन्थे । सन् १९६७ देखि ग्याबोनमा शासन गरेका पिता ओमारका उत्तराधिकारी ६४ वर्षीय अलीले ‘कु’ विरुद्धमा आवाज उठाउन आग्रह गरेका थिए । तर, त्यसविपरीत लामो समयदेखि एकै परिवारको शासन अन्त्यको खुसीयाली मनाउन राजधानी लिब्रभिलमा नागरिकहरू जम्मा भइरहेका थिए ।