वैशाख २८, काठमाडौं । नेपाल पर्यटन बोर्डले स्थानीय तहको निर्वाचनका दिन (वैशाख ३० गते) पर्यटकलक्षित सटल बस सेवा सञ्चालन गर्ने भएको छ ।
बोर्डले मंगलवार एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनको दिन काठमाडौंमा हवाई यात्रुलाई विमानस्थल र होटेलबीच हुन सक्ने यातायात असुविधा हटाउन यस्तो सेवा दिने तयारी गरेको जानकारी दिएको छ । बोर्डले पर्यटक प्रहरीको सहयोग तथा नेपाल टुरिस्ट भेहिकल एशोसिएशन र टुरिस्ट बस एशोसिएशन अफ नेपालको समन्वयमा उक्त सेवा दिने तयारी गरेको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटेल तथा होटेलदेखि विमानस्थलसम्म आवात–जावतको लागि सशुल्क सटल बस सेवा सञ्चालन गर्ने बोर्डले उल्लेख गरेको छ ।
जसअनुसार रूट १ मा विमानस्थल–एनएसी–होटेल अन्नपूर्ण–होटल याक एन्ड यती–ठमेल चोक–लैनचौर चोक–शंकर होटेल–एम्बासडर होटेल हुँदै पुनः विमानस्थलसम्मको हुनेछ । रूट २ मा विमानस्थल हुँदै होटेल र्याडिशन–सांग्रिला होटेल–नारायणगोपाल चोक–महाराजगञ्ज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटेल द्वारिका रहेको छ ।
तेस्रो रूटमा विमानस्थल हुँदै तीनकुने चोक–होटेल एभरेस्ट–माइतीघर चोक–होटेल हिमालयन–होटेल सोल्टी–ग्रान्ड होटेल रहेको छ । सटल बस सेवाबापत प्रतिव्यक्ति शुल्क ३ सय रुपैयाँ तोकिएको छ ।