काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बहुपक्षीय कर्जादार्ता निकाय विश्व बैंकको नेतृत्वका लागि मास्टरकार्डका पूर्वसीईओ अजय बांगाको नाम प्रस्ताव गरेका छन् ।
अमेरिकामाथि जलवायु परिवर्तनको समस्या समाधाका लागि दबाब बढिरहेकै समयमा सो कदम चालिएको हो । बांगाले एक दशकभन्दा बढी समय क्रेडिट कार्ड कम्पनी मास्टरकार्डको नेतृत्व गरेका थिए । उनी अहिले निजी इक्विटी कम्पनीमा काम गर्छन् ।
बैंकको लक्ष्य हासिलमा निजी क्षेत्रसँग मिलेर काम गर्नका लागि उनको अनुभवले सघाउने आशा अमेरिकी अधिकारीहरूको छ । बैंकको भावी प्रमुखको रूपमा बैंकको सञ्चालक समितिले नियुक्त गर्नुपर्छ । अमेरिकी सिनेटले पनि उनको नाम पुष्टि गरे बांगा विश्व बैंकको नेतृत्व सम्हाल्ने भारतीय मूलका पहिलो व्यक्ति हुनेछन् ।
बुधवार बैंकले तीन जना उम्मेदवारको अन्तिम सूची निकाल्ने र नयाँ प्रमुखको नाम मेको शुरुमा सार्वजनिक गरिने बताएको थियो । बैंकले महिला उम्मेदवारलाई प्रोत्साहन गरेको बताइएको थियो । अमेरिका विश्व बैंकको सबैभन्दा ठूलो शेयरधनी हो । विश्व बैंकको प्रमुखको नियुक्त अमेरिकाले गर्दै आएको छ ।
गत हप्ता डेभिड माल्पासले राजीनामा दिएपछि अहिले बैंकमा भावी प्रमुखको खोजी भइरहेको छ । बांगा बैंकको नेतृत्व गर्न सक्षम भएको बाइडेनले बताएका छन् । उनलाई बैंकको परिवर्तनकारी अध्यक्षको रूपमा हेरिएको छ । जलवायु परिवर्तनबारे मलपासको विवादास्पद अभिव्यक्तिपछि उनको निकै आलोचना भएको थियो । एजेन्सी