प्रविधिलाई आत्मसात् गर्दै नेपाली वित्तीय क्षेत्रले विभिन्न सुधारोन्मुख कार्य गरेको पक्ष हामीसमक्ष स्पष्ट नै रही आएको छ । हिजो लामबद्ध भएर शेयर आवेदन दिनुपर्नेमा आज सहजै मेरो शेयरबाट आवेदन दिन थालेका छौं । हिजो शेयर किनबेचका निमित्त काठमाडौं नै धाउनुपर्ने अवस्थाबाट माथि उठेर आज जुनसुकै कुनाबाट शेयर कारोबार गर्न थालेका छौं । मोबाइल बैंकिङ ग्राहकको उल्लेखनीय संख्याले र बढ्दो विद्युतीय कारोबारले हाम्रो प्राविधिक अवस्था सुधारोन्मुख रहेको पुष्टि गर्छ ।
वित्तीय समावेशितामा हामी अगाडि देखिए पनि हाम्रो वित्तीय क्षेत्रले विश्वव्यापी आधुनिकीकरण अपनाउन सकेको छैन । यसको पहिलो प्रमाण अन्तरराष्ट्रिय भुक्तानी माध्यम हो । अझै पनि पेपाल, इस्क्रिलजस्ता अन्तरराष्ट्रिय भुक्तानी प्रणालीमा हामी आबद्ध हुन सकेका छैनौं ।
वित्तीय क्षेत्रमा देखिएको प्राविधिक विकास सराहनीय भए तापनि सुधार र विकास गर्नुपर्ने कुरा थुप्रै छन् । वित्तीय समावेशितामा हामी अगाडि देखिए पनि हाम्रो वित्तीय क्षेत्रले विश्वव्यापी आधुनिकीकरण अपनाउन सकेको छैन । यसको पहिलो प्रमाण अन्तराष्ट्रिय भुक्तानी माध्यम हो । अझै पनि पेपाल, इस्क्रिलजस्ता अन्तरराष्ट्रिय भुक्तानी प्रणालीमा हामी आबद्ध हुन सकेका छैनौं । नेपाली जनशक्तिले सफ्टवेर कोडिङलगायतमा फ्रिलेन्सिङ गरेर विश्व बजारमा पहुँच पुर्याए पनिप भुक्तानी माध्यममा भने यस्तो देखिँदैन । पेपाल वा इस्क्रिललाई माध्यम बनाएर नेपालमा भुक्तानी गर्न सकिने अवस्था अहिले छैन ।
अहिले पनि विप्रेषण कारोबारको निमित्त बैंक नै धाउनुपर्ने अवस्था छ । मलाई अस्ट्रेलिया वा कतारमा रहेको मेरो साथीलाई पैसा पठाउनु छ भने, मेरो मोबाइल बैंकिङ सम्भव छैन, बैंकमै गएर विभिन्न कागजात प्रस्तुत गरी महँगो शुल्क तिर्नुपर्ने अवस्था छ । यही कारणले हुन्डी कारोबारले स्थान पाएको हुनुपर्छ ।
विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सुविधा सञ्चालनमा निकै ढिला भएको छ । केही समय अगाडि मात्र विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको निर्देशिका आएको देखिन्छ । यसको प्रभावकारिता के कतिको छ त्यो आगामी दिनमा पुष्टि हुँदै जानेछ । तरलता अभावको समस्या उच्च रहेको समयमा अन्य कर्जा नै सहज नहुँदा यस प्रकारको कर्जाले कसरी गति लिने हो त्यो हेर्न बाँकी छ ।
वित्तीय साक्षरताले हाम्रो वित्तीय आधुनिकीकरण देखाउँछ । यही वित्तीय साक्षरता सहज नभएको हुँदा अझै पनि क्रेडिट कार्ड, विमाका सेवाहरू सर्वसाधारणले बुझ्न र आत्मसात् गर्न पाएका छैनन् । आधुनिकीकरण केन्द्रमा मात्र भएर ग्रामीण भेगमा समेत सहज र सुनिश्चित हुनुपर्छ । अझै पनि शेयर कारोबारको निमित्त टीएमएस खाता खोल्न बिचौलियाहरूले कमिशन मागिरहेको अवस्था छ । अझै पनि शेयर कारोबारमा विद्युतीय प्रणाली हाबी हुन नसकेको देखिन्छ । कारोबार गर्दा देखिने प्राविधिक समस्या, कहिले वेबसाइट नै नचल्ने, कहिले मेरो शेयरमा समस्या भइ नै रहेको छ । यसलाई सामान्य रूपमा लिनुपर्ने अवस्था रहँदा हाम्रो आधुनिकीकरणको स्तर स्पष्ट हुन्छ ।
धितोपत्र बजारमा हुने लिलामीमा सहभागिता जनाउन अझै पनि काठमाडौं नै आइपुग्नुपर्ने अवस्था छ । मौद्रिक नीतिमा आफ्नै डिजिटल मुद्राबारे अध्ययन र कार्य थालनी गर्ने भनिए तापनि वास्तवमा त्यसमा हामी निकै पछाडि रहेका छौं । अहिले विश्वव्यापी चर्चा र अध्ययनको विषय रहेको क्रिप्टो मुद्रालाई हामी गैरकानूनी र आपराधिक भनेर चिन्दै छौं । यसमा केकति अध्ययन भयो, के कति तथ्य फेला पर्यो, सम्बद्ध निकायलाई समेत थाहा नहुन सक्छ । यो हाम्रो सक्षमताको भन्दा पनि हाम्रो सोचाइको कुरा हो । हामी अझै पनि खुलेर अनलाइन कारोबार गर्न सक्ने अवस्थामा छैनौं । हामीलाई डर छ, कतै एटीएमबाट निकाल्न खोजिएको रकम अड्किने पो हो कि, खाताबाट पैसा काट्ने तर पैसा ननिस्किएर बिचल्ली पार्ने पो हो कि भन्ने भय हामीमा छ । बिग मार्टमा गएर भुक्तानी गर्दा खाताको रकम काट्ने तर उता प्राप्त नहुने हो कि भन्ने डर अझै पनि छ । रकमान्तर गर्दा यताको पैसा झुक्किएर अर्कै खातामा पो जाने हो कि भन्ने शंका अझै पनि रहिरहँदा हामी वित्तीय आधुनिकीकरणको उपकरणमा केन्द्रित भए पनि प्रयोगात्मक पक्षमा कतै चुकेका पो हौं कि भन्न देखिन्छ ।
आफ्नो तलब आएको दिन पूरा तलब निकालेर भौतिक मुद्रालाई प्राथमिकतामा राख्नुले हाम्रो आधुनिक वित्तीय अवस्था स्पष्टसंग झल्काउँछ । त्यसमाथि अझै पनि विद्युतीय कारोबारमा हाम्रो हदबन्दी कायम रहेको झल्किन्छ जसले गर्दा हाम्रो सक्षमता र आत्मविश्वासमै प्रश्न चिह्न उठेको देखिन्छ । हिजो बैंकमा रोबोटबाट सेवा प्रवाह गर्ने कार्य पनि भएकै हो, हिजो प्रविधियुक्त बनाउनकै निमित्त विभिन्न प्रयास पनि भएकै हो; तर पनि बाह्य रूपमा बलियो प्रस्तुति देखिए पनि वित्तीय क्षेत्र आधुनिककीरणमा हामी चुकेकै छौं ।
नेपालमा अझै पनि बीमा बाध्यताका रूपमा लिइन्छ । सवारी साधनको बिल बुक नवीकरण गर्दा होस् वा अन्य प्रयोजनको निमित्त, बीमालाई बाध्यकारी प्रयोजनको रूपमा राखिने गरिन्छ । विभिन्न शर्तहरूको पालना गर्नकै निमित्त यहाँ बीमा गरिएको भेटिन्छ । आफ्नै इच्छाले बीमा गर्ने गरेको निकै कम भेटिन्छ । यसरी प्राथमिकतामा नपरेको क्षेत्रलाई सम्बद्ध निकायबाट प्रवर्द्धन गर्ने उद्देश्य रहेको पनि खासै देखिँदैन जसले गर्दा ज्ञान भए तापनि वित्तीय क्षेत्रमा समावेश हुनेहरूको उत्प्रेरणाको मात्रा न्यून रहेको हुन्छ ।
वित्तीय आधुनिकीकरणमा अग्रणी मानिएको अमेरिका जस्तो मुलुकको बैंकिङ क्षेत्र, सुरक्षाको दृष्टिकोण र बीमासम्बन्धी कार्यमा सुधार गर्ने प्रयासमै रहेको देखिन्छ । यस्तोमा नेपालमा भएको गति शायद सामान्य नै मान्नुपर्छ । आज बैंकहरू मुलुकको कुना कुनामा पुगेर दुर्गम भेगका सर्वसाधारणलाई सेवा प्रवाह गर्नु वास्तवमै सराहनीय कार्य हो । तर, त्यसमा मात्र सिमित रहनु हुँदैन । आधुनिकीकरणको यस समयमा, विश्वव्यापीकरणको यस युगमा प्रतिस्पर्धात्मक वित्तीय क्षेत्र सुधार गर्ने अवसर महत्त्वपूर्ण रहन जान्छ । यसले समग्र वित्तीय क्षेत्रलाई एउटा सुधारोन्मुख पाटोतर्फ देखाउँछ । वित्तीय क्षेत्र आधुनिकीकरण एकल प्रयासले सम्भव हुँदैन । यसको निमित्त विभिन्न क्षेत्रको संयुक्त प्रयास आवश्यक हुन्छ । जब उचित तरीकाले छलफल हुन्छ, अनि बल्ल मौद्रिक र वित्त नीतिमा वित्तीय क्षेत्र आधुनिकीकरणको परिकल्पना देख्न सकिन्छ । अन्यथा प्रविधियुक्त भनिएको हाम्रो वित्तीय प्रणाली यसमै सीमित रहन पनि सक्छ ।
रेग्मी बैंकर हुन् ।