काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले ड्युटीको समयमा अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नुपर्ने भएको छ । ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि ड्युटीमा खटिँदा हुने घटनाहरू तथा अन्य विवरणहरू सम्झेर नसक्ने; तत्काल भुल्न सक्ने भएकाले कार्यालय प्रयोजनमा काम लाग्ने तथा जानकारीमूलक विवरणहरूको सुरक्षित र उत्तरदायी अभिलेखीकरण गर्ने उद्देश्यले सो व्यवस्था लागू गरिएको प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।