लक्ष्मण बेल्बासे ।।
प्राकृतिक प्रकोप र विनासले पारेको विपत्तिका समाचार सधैँ आइरहन्छन् । यसलाई प्राकृतिक नै मानेर वा दैवीप्रकोप भनेर मानिसको क्षमताभन्दा बाहिरको मानेको पाइन्छ । त्यसैले होला, कहिले भाकल गरिन्छ; प्रकृतिको पूजा गरिन्छ र अबोध पशुपन्छीको बलि दिएर आफ्नो जिम्मेवारी सकिएको ठानिन्छ । आफूले गरेका गल्ती के हुन् ? महशुस नै नगरी क्षमा मागेको पाइन्छ ।
यो त एउटा प्रकृतिपूजक हाम्रो सांस्कृतिक प्रचलन र अन्धविश्वासको निरन्तरता मात्रै भयो । तर प्राकृतिक प्रकोपको वैज्ञानिक बुझाइ बुझेकाहरू पनि समयमै सजक र सचेतक भएको पाइँदैन । सचेतनाका स्वरलाई सबैले महत्त्वका साथ ग्रहण गरेको पनि पाइँदैन । त्यसैको परिणाम जब प्रकोप हुन्छ, तब तयारी थाल्ने हाम्रो व्यवहार भएको छ ।
मूलतः सार्वजनिक सम्पत्ति तथा प्राकृतिक स्रोत र साधन राज्यको सम्पत्ति हुने गर्दछ । त्यसैले गर्दा पनि व्यक्ति यसको विनास भइरहँदा पनि आफ्नो व्यक्तिगत लाभहानीको हिसाब गरेर आफ्नो केही नभएको ठानी मूकदर्शक भइदिन्छ । यसैको परिणाम भन्नुपर्छ, देशका केही बाठाहरूले यिनै प्राकृतिक स्रोतसाधनको दोहन गरिरहेका छन् । विकासको नाममा या निर्माणको नाममा यस्ता सीमित व्यक्तिले यी स्रोत र साधनको संरक्षण र सम्बद्र्धधन गर्ने निकाय वा अधिकारी सबैलाई विभिन्न माध्यमबाट प्रभावमा परेका हुन्छन् । राजनीतिक अगुवा तथा सामाजिक अगुवा सबैलाई लाभमा साझेदारी वा विभिन्न माध्यमबाट मुखमा बुझो लगाइदिएका हुन्छन् । असङ्गठित नागरिकको आवाज यी सबै मिलेर नसुनिने बनाइदिन्छन् ।
यसैको परिणाम हुन सक्दछ, हरिया पहाड राता हुन थालेका छन्; खोलाका बहाव बदलिएका छन्; हिमाल काला पत्थर भएका छन्, जहाँ आम नागरिकको कुनै दोष छैन । केही लाभ लिन पाएका छैनन् । जनता सधैँ हानीको भागिदार मात्रै हुने गर्दछन् । बाढीपहिरो र प्रदुषणको भागिदार आम नागरिक हुने गर्दछन् ।
पहाड खोतलेर प्राकृतिक खनिज निश्चित व्यक्तिले लाभ लिने गर्दछ । मुहान सुकेर बस्ती सार्ने सोझा गाउँले हुने गर्दछन् । यस्ता उदाहरण अब हाम्रै गाउँतिर थुप्रै पाइन्छ ।
सामान्य नागरिकले यी सार्वजनिक सम्पत्ति हाम्रा पनि हुन् र आफ्नो व्यक्तिगत सम्पत्ति जस्तै महत्त्वपूर्ण पनि छन् ...