पुस मसान्तसम्ममा सिद्धार्थ व्यवस्थित लगानी योजनाको सूचीकृत शेयरमा लगानी ८५% बढ्यो

माघ १२, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले पुस मसान्तको खुद सम्पत्ति मूल्य विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी मंसिर मसान्तको तुलनामा पुस मसान्तमा ८५ प्रतिशत वृद्धि भएको छ । फण्डले मंसिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७ करोड ९७ लाख ५८ हजार लगानी गरेकोमा पुस मसान्तमा वृद्धि भएर रू. १४ करोड ७९ लाख १५ हजार पुगेको हो । पुस मसान्तसम्ममा फण्डले लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा लगानी बढेको हो । त्यसैगरी फण्डको एनएभी पनि वृद्धि भएको छ । मंसिर मसान्तसम्ममा फण्डको एनएभी रू. ९ दशमलव ३५ रहेकोमा पुस मसान्तमा वृद्धि भएर रू. १० दशमलव ४० पुगेको छ ।  त्यसैगरी, फण्ड मंसिर मसान्तसम्ममा रू. १ करोड ३० लाख ९८ हजार नोक्सानीमा रहेकोमा पुस मसान्तमा रू. ८३ लाख ३८ हजार धनात्मक भएको छ ।  फण्डले पुस मसान्तसम्ममा रू. १ करोड १८ लाख ६९ हजार आम्दानी गर्न सफल भएकाले नाफामा गएको हो ।

सम्बन्धित सामग्री

एक अर्ब लागतको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा १२ वर्षमा सकियो

बनेपा नगरका घरमा हाल दैनिकजसो चौबिसै घण्टा खानेपानी आउन थालेको छ । परीक्षणका क्रममै रहेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी निरन्तर आउन केही महिना लाग्नेछ । काभ्रेपलाञ्चोकको तीन पुराना नगर बनेपा, धुलिखेल र पनौती समेटिएको यस आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ । आयोजना सम्पन्न भएपछि तीन नगरका करिब ९३ हजार बासिन्दाले निरन्तर खानेपानी पाउनेछन् । गत वर्षको चैतसम्ममा तीनै नगरमा स्थानीयका घरघरमा चौबिसै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्‍याउने लक्ष्य लिइए पनि केही प्राविधिक समस्याका कारण केही समय लम्बिएको छ । तीन नगरका नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब १२ वर्षअघि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया शुरू गरिएको थियो ।  सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको छ ।      बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्यले केही महिनामा आयोजनाको काम पूर्णरुपमा सम्पन्न हुने बताए । “हामी प्राविधिक रुपमा समस्या देखिएका स्थानको पहिचान गर्दै पानी वितरण परीक्षण पनि गर्दैछौँ, आयोजनाको काम छिट्टै सक्ने आयोजनामा छौँ”, उनले भने। उनका अनुसार ठेकेदार कम्पनीको लापरबाहीका कारण पनि आयोजनाको काम लम्बिएको हो । ठेकेदारबाट निरन्तरण काम हुनसके चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने शाक्यको भनाइ छ । योजनाको भण्डारण ट्याङ्की निर्माण र पाइप ओछ्याउने लगायतका भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हालै पनौतीको शारदादेवीस्थानमा पानी पुर्‍याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको छ । मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको छ । आयोजना सम्पन्न भएपछि तीन नगरमा पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाइने धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जु बताउँछन्। “अब केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदैछन्, यो निकै सुखद विषय हो”, उनले भने।  उनका अनुसार यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रुपमा हेरिएको छ । उता पाँचखाल नगरमा सात हजार परिवारलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ शुरू गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्र गति दिइएको छ । आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका सात हजार घरमा खानेपानी पुर्‍याउने लक्ष्य लिइएको हो । परियोजनाको २०७६ साल भदौ १२ गते २०७९ पुस महिनाभित्र सक्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिए पनि कोरोना महामारीलगायत सामग्री अभाव तथा विविध कारणले एक वर्ष समयावधि थपिएको हो । नगरको १३ मध्ये १० वटा वडाका लागि यस खानेपानी आयोजना सञ्चालनार्थ रु एक अर्ब ३४ करोड ६६ लाखमा हुवाई कन्काई जेभीसँग सम्झौता भएको थियो । आयोजना सम्झौताको सर्तानुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका थिए । हाल खानेपानी आयोजनाको काम ८५ प्रतिशत काम सकिएको जनाउँदै केही स्थानमा पानी परीक्षणसमेत गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार योजना प्रारम्भिक लक्ष्यअनुसार प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ । प्रतिघण्टा तीन लाख दुई हजार चार सय लिटर पानी तान्न सहज ढङ्गबाट सकिने भएको छ । यस्तै दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो । हालको अवस्थामा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने छ । दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव पाँच लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको छ । काभ्रेपलाञ्चोकमा सञ्चालित अर्को ठूलो तेमाल बृहत् खानेपानी आयोजनाद्वारा तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइँदैछ । गत साल मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन नसक्दा आयोजना करिब एक वर्ष धकेलिएको छ । हाल पाइपलाइन विस्तार तथा धारा जडानका काम भइरहेको तथा अबको तीन महिनापछि घरघरमा खानेपानी पुर्‍याउने गरी आयोजनाको अन्तिम चरणका काम भइरहको समितिले जनाएको छ । “आउँदो चैत महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको छ”, समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भने। प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ । हाल तेमाल गाउँपालिका–१ सस्युखर्क र आधावाट, वडा नं ७ को चापखोरी र वडा नं ५ को याङ्वेल तथा नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिब नौ सय घरमा खानेपानी पुर्‍याइएको लामाले बताए । तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । साथै, रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय १० घरपरिवारका लागि एक महिनाभित्रै उक्त आयोजनाको खानेपानी वितरण गरिने तयारी भएको उनले जानकारी दिए । याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौवटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिका–७ का बासिन्दाले यस आयोजना खानेपानी उपभोग गर्न पाउने भएका हुन् । विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजना खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको थियो । आयोजनाअन्र्तगत दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनेको छ । यसैगरी खानेपानीको चरम अभावमा झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा इन्द्रावती नदीको पानी पुर्‍याइँदैछ । लिफ्टिङ प्रविधिमार्फत खानेपानी उपलब्ध गराउन लागिएको उक्त आयोजनाको २०७८ असारमा निर्माणको काम शुरू गरिएको थियो । आयोजनाको हाल ७५ प्रतिशत काम सकिएको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताए । आयोजना तीन वर्षमा सक्ने समयसीमा निर्धारण गरिए पनि यसै वर्षभित्र सक्ने देखिएको छ । आयोजनाका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौवटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङकीमा प्रतिसेकेण्ड १३ दशमलव शून्य पाँच लिटर पानी खस्नेछ । गोरखा भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहाँका बासिन्दाले केही महिनामै खानेपानी अभावबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ । यस्तै यही साउन दोस्रो साता जिल्लाको बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउमा पाँच सय परिवारलाई ‘एक घर एक धारा’ कार्यक्रममार्फत घरघरमै खानेपानी उपलब्ध गराइएको छ । महाङ्कालचौर खानेपानी तथा सरसफाइ र थिङछाप खानेपानी आयोजना सम्पन्न भएपछि करिब दुई हजार पाँच सय स्थानीयले घरमै खानेपानी पाएका हुन् । दुई आयोजना बेथानचोक गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को साझेदारीमा निर्माण सम्पन्न भएका हुन् । गत फागुनमा बेथानचोक गाउँपालिका–६ मा सिउरानीमा समुदायमा हस्तान्तरण गरिएको भञ्जायाङखर्क खानेपानी आयोजनाबाट दुई सय २३ घरपरिवारका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । जिल्लामा हाल पाँच ठूला खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । केही भर्खरै सञ्चालनमा आएका र केही निर्माण अन्तिम चरणमा पुगेका सबै खानेपानी आयोजनाको स्रोत नदी–खोला नै हुन् । नदी–खोला किनारमा ठूला इनार बनाई पानी सङ्कलन गर्ने र ‘लिफ्टिङ’ प्रविधिमार्फत डाँडामा तानेर बस्तीमा वितरण गर्ने गरी आयोजनाका भौतिक पूर्वाधार निर्माण भइरहेका छन् । गोरखा भूकम्पका कारण जिल्लामा खानेपानीका मूल सुकेपछि नदी–खोला नै खानेपानीको स्रोत बनाइएको हो । प्रत्येक आयोजनामा पानी प्रशोधन केन्द्रका छुट्टाछुट्टै पूर्वाधार निर्माण भइरहेका छन् । हाल काभे्रपलाञ्चोकको पाँच ठूला खानेपानी आयोजनामध्ये तीन नगरका लागि सञ्चालित काभ्रे उपत्यका बृहत् खानेपानी आयोजनालाई भने पानी लिफ्ट गर्नु पर्दैन । उक्त आयोजनाका लागि पनौतीमा रहेका गुड्गुडे, खारखोला, वैरामहादेव र मूलडोल तथा बनेपाको शशीपानी खानेपानीको स्रोत हो । नमोबुद्ध नगरपालिकाको ७, ८ र ९ वडाका लागि थालिएको काशीखण्ड बृहत् खानेपानी आयोजनाको खानेपानीको स्रोत रोशी खोला हो । उक्त खोलाबाट लिफ्टिङमार्फत छ दशमलव पाँच किलोमिटरको दूरीको डराउनेपोखरीस्थित तल्लो हटिया कालीकुवामाथि डाँडामा दुई लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण हुनेछ । सोही ट्याङ्कीबाट खानेपानी वितरण हुने योजना बनाइएको हो । रु १८ करोड ४७ लाखमा सम्झौता भएको यस आयोजनामार्फत तीन वडाका एक हजार पाँच सय घरपरिवारलाई खानेपानी उपलब्ध गराइने योजना रहेको आयोजनाका अध्यक्ष मनोज अधिकारीले जानकारी दिए । यस्तै १० वडाका सात हजारलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ शुरू गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानीको स्रोत इन्द्रावती नदी हो । भुम्लु गाउँपालिका–१० विमिरेस्थित उक्त नदी किनारमा इनार निर्माण गरिएको छ । सोही इनारमा सङ्कलित पानी लिप्mिटङ प्रविधिमार्फत पाँचखाल ल्याइने भएको हो । त्यस्तै तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याइने उद्देश्यका साथ सात वर्षअघि भूकम्पपछि शुरू गरिएको तेमाल बृहत खानेपानी आयोजनाको खानेपानीको स्रोत सुनकोशी नदी हो । खानेपानीको चरम अभावमा झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा खानेपानी पानी पुर्‍याउन पनि इन्द्रावती नदीको पानी लिफ्टिङ गर्न लागिएको हो । नगरका पाँच हजारभन्दा बढीलाई हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा वडास्थित इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेमा पानी खसालिने योजना बनाइएको छ । यसअघि विभिन्न सङ्घसंस्थाबाट खानेपानी आयोजना निर्माण भएको र हाल सञ्चालित ठूला खानेपानी आयोजना पूर्णरुपमा सम्पन्न करिब ८० प्रतिशतका घरमा स्वच्छ खानेपानी पुग्ने आँकलन गरिएको छ । “करिब ८० प्रतिशतका घरमा खानेपानी पुगिसकेको छ, बाँकी रहेकाको अनुगमन निरीक्षण गरी योजना बनाइनेछ”, काभ्रेपलाञ्चोकका सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने। उनका अनुसार केही आयोजना मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने सकिने पनि छन् । वर्षायाममा खानेपानी आयोजनाबाटै वितरित खानेपानी दूषित हुने हुँदा वर्षेनी समस्या हुुँदै आएको छ । अहिले काभ्रेपलाञ्चोकको ६० प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट जिल्लाको विभिन्न स्थानीय तहका खानेपानी आयोजनाका परीक्षण गर्दा करिब ६० प्रतिशत दूषित भएको पाइएको छ । परीक्षण गरिएका सबै खानेपानीमा दिशाजन्य किटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालयका प्रमुख डा.पुरुषोत्तम सेडाईंले बताए । “जिल्लाको आधा स्थानीय तहमा गरिएको खानेपानी परीक्षणबाट सबै खानेपानी दूषित पाइएको छ”, सेढाईंले भने। अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीको स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको छ । खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ । कार्यालयले जोखिममा द्रूत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको जनाएको छ । दूषित पानीका कारण हैजा सबै उमेर समूहलाई हुने भएपनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो । रासस

सिद्धार्थ म्युुचुअलका तीन ओटै फण्डको न्याभ बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन ओटा फण्डले पुस मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । सिद्धार्थ व्यवस्थित लगानी योजना, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इक्वीटी फण्डले पुस महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । उक्त वित्तीय विवरण अनुसार यी तीन ओटै फण्डको न्याभ मंसिरको तुलनामा पुसमा बढेको छ । सिद्धार्थ इक्वीटी फण्डको न्यााभ मंसिर मसान्तसम्ममा रू. ९ दशमलव ४७ रहेकोमा पुस मसान्तमा बढेर रू. १० दशमलव ६९ पुगेको छ । त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को न्याभ मंसिरमा रू. ९ दशमलव ५३ रहेकोमा पुसमा बढेर रू. १० दशमलव ८१ पुगेको हो । सिद्धार्थ व्यवस्थित लगानी योजनाको न्याभ मंसिरमा रू. ७ दशलमव ८५ रहेकोमा पुसमा बढेर रू. ८ दशमलव ६२ पुगेको छ । न्याभसँगै यी तीन ओटै फण्डको नाफामा पनि सुधार आएको छ । मंसिरमा यी तीन ओटै फण्ड नोक्सानीमा रहेकोमा पुसमा नाफामा गएका छन् ।  सिद्धार्थ इक्वीटी फण्डले पुस मसान्तसम्ममा रू. ९ करोड ९७ लाख नाफा कमाएको छ । यो फण्ड मंसिर मसान्तसम्ममा रू. ८ करोड २७ लाख नोक्सानीमा थियो । यस फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब २९ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी मंसिर महीनामा रू. १ अर्ब १० करोड थियो ।  त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले पुस मसान्तसम्ममा रू. ९ करोड ५४ लाख नाफा कमाएको छ । यस फण्डले मंसिरमा रू. ५ करोड ८४ लाख नोक्सानी व्यहोरेको थियो । फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ७ करोड लगानी गरेको छ । यो लगानी मंसिर महीनामा रू. ९० करोड ७० लाख थियो । सिद्धार्थ व्यवस्थित लगानी योजनाले पुस मसान्तसम्ममा रू. १ करोड ६७ लाख नाफा कमाएको छ । यो फण्ड मंसिरमा रू. ६१ लाख ५० हजार नोक्सानीमा थियो । यस फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १८ करोड लगानी गरेको छ । यो लगानी मंसिरमा रू. १२ करोड ७१ लाख थियो । पुसमा शेयर बजार बढेसँगै म्युचुअल फण्डको न्याभ लगायत नाफामा सुधार आएको हो । म्युचुअल फण्डहरूले आफ्नो अधिकांश फण्ड शेयर बजारमा लगानी गरेका हुन्छन् । सोही कारण शेयर बजारमा घटबढसँगै फण्डहरूको नाफा-नोक्सान, न्याभ लगायतमा असर परेको हुन्छ ।

सिद्धार्थ व्यवस्थित लगानी योजना मंसिर महीनामा १ करोडभन्दा बढी नोक्सानीमा

पुस १२, काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी प्रकृतिको सिद्धार्थ व्यवस्थित लगानी योजना मंसिर महीनामा रू. १ करोड ३० लाख ९८ हजार नोक्सानीमा रहेको छ ।  कात्तिक महीनामा योजनाले रू. १० लाख ४५ हजार नाफा गरेको थियो । मंसिर महीनामा योजनाको प्राप्त भइसकेको आम्दानी रू. ३० लाख ६५ हजार र प्राप्त भइनसकेको आम्दानी रू. १ करोड २९ लाख ३९ हजार छ । कात्तिक महीनामा रू. २९ लाख १५ हजार खर्च भएको योजनाको मंसिर महीनामा रू. ३२ लाख २५ हजार खर्च भएको छ ।  खर्च बढेसँगै योजना नोक्सानीमा गएको हो । कात्तिक महीनामा रू. १० दशमलव शून्य ५ रहेको प्रति इकाई खुद मूल्य मंसिर महीनामा रू. ९ दशमलव ३५ मा झरेको छ ।  यस योजनाको हाल २ करोड ३ लाख ११ हजार ३ दशमलव ६६ कित्ता इकाई कायम भएको छ । योजनाको खुद सम्पत्ति पनि कात्तिक महीनाको भन्दा कम भएको छ । कात्तिक महीनामा रू. २० करोड ४० लाख १३ हजार रहेको खुद सम्पत्ति मंसिर महीनामा रू. १८ करोड ९९ लाख ८८ हजारमा झरेको छ । योजनाले बैंक मुद्धती निक्षेप सहित धितोपत्रमा गरेको लगानीको परल मूल्य रू. १ अर्ब २७ करोड ७० हजार छ । लगानीको परल मूल्यभन्दा बजार मूल्य कम भएको छ । योजनाले गरेको कुल लगानीको बजारमूल्य भने रू. १ अर्ब १३ करोड ६ लाख ९८ हजार रहेको छ ।

योजना छनोटप्रति मन्त्री नै असन्तुष्ट

काठमाडौं । वार्षिक बजेटमा आउने सरकारी योजना छनोटप्रति मन्त्री नै असन्तुष्ट रहेको पाइएको छ । संघीय सरकारका प्राथमिकताका भनिएका आयोजनाहरू पहुँचवाला व्यक्तिको कब्जामा परेको र उनीहरूले बजेट किताबमा शब्द हालेर छनिरहेको भन्दै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असन्तुष्टि जनाएकी हुन् । ‘संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट किताबमा शब्द हालेर छानिरहेका छन् । मुलुक कस्तो बनाउने भन्ने सपना राजनीतिक व्यक्तिको हो राजनीतिक व्यक्तिले नै योजनाको छनोट गर्न पाइरहेको अवस्था छैन,’ बिहीवार विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री झाँक्रीले भनिन् । मन्त्री झाँक्रीका अनुसार योजना छान्दा कस्ता कार्यक्रम छान्ने ? अर्थतन्त्रमा के दिन सकिन्छ भन्ने कुराको विचार नगरी छान्ने गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनले निर्दिष्ट गरेका व्यवस्था धेरैले पालना गरेका छैनन् । सयौं परिवार प्लास्टिकको छानामुनि भइरहेको बेला एउटा डाँडामा ५० करोड बढीका भ्यूटावरहरू बनाउन आवश्यक नरहेको भन्दै आधारभूत उपभोगको सेवा सुविधा जनतालाई पु¥याउनु आजको आवश्यकता रहेको उनले बताइन् । मन्त्री झाँक्रीका अनुसार योजना छान्ने कुराको असन्तुलनका लागि संसद्ले लगाम लगाउनुपर्छ । प्रदेश र स्थानीय तहसँग समन्वय हुन नसक्दा आवास पुनर्निर्माण, शहरी विकासका काम हुन नसकेको उनको भनाइ छ । बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काले सरकारी निकायहरूले बजेट निकासा गरी आआप्mनो भवन निर्माण गर्दा वातावरण लगायत विविध क्षेत्रमा नकारात्मक असर परेको र मापदण्डबमोजिम नगरेकाले शहरी विकास मन्त्रालयबाट नै मापदण्ड र गुणस्तरयुक्त भवन निर्माणको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन् । सभापति खड्काका अनुसार परिवर्तित राजनीतिक परिवेशमा नागरिकको विकासप्रतिको तीव्र चाहना सम्बोधन गर्न विभिन्न शीर्षकहरूमा छरिएर रहेका बजेट अभावका कारणले अलपत्र परेका आयोजनाहरू तत्काल पहिचान गरी व्यवस्थित शहरीकरणको अवधारणाअनुरूप नागरिकले अनुभूत गर्ने किसिमको विकासका आयोजनाहरू अघि बढाउन पनि समितिले निर्देशन दिएको छ । सभापति खड्काले शहरी विकास मन्त्रालयले नयाँ शहर मेगा सिटी, स्मल सिटी, मेट्रो सिटी, एकीकृत नमूना बस्तीलगायत सम्बन्धमा अघि बढाइएको कार्ययोजना बारेमा विस्तृत छलफल गर्न समितिका सदस्य एवं कर्मचारीहरूलाई पुस महीनाभित्र सम्पन्न गर्नेगरी आवासीय कार्यशाला गोष्ठी गर्ने पनि बताइन् । विकास तथा प्रविधि समितिले दिएको निर्देशनअनुसार बनाउनुपर्ने विधेयक तत्काल संसद्मा पेश गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको उक्त बैठकले विभिन्न मितिमा दिएको निर्देशनअनुसार बनाउनुपर्ने विधेयकहरू प्रतिनिधिसभाको बैठकमा पेश गर्न निर्देशन दिएको सभापति खड्काले बताइन् ।