नेपालकाे जनसंख्या सन्तुलित नभएकाेप्रति प्रधानमन्त्री दाहालकाे चिन्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जनसंख्या सन्तुलित नभएको बताउनुभएकाे छ। शुक्रबार बिहान राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । कम उमेरको संख्या घट्दै गएको र बढी उमेरकाे जनसंख्या बढ्दै गएको देखिएकाले नेपालको जनसंख्या सन्तुलित नभएको उहाँकाे भनाइ थियाे । उहाँले यो चिन्ताको विषय रहेको समेत बताउनुभयाे। तथ्यांकले सुशासन, […]

सम्बन्धित सामग्री

युवा पलायनको अर्थराजनीति: रोजगारी सृजनामा सरकारको ध्यान पुगेन

एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीको बिदाइको एउटा फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उच्च शिक्षा अध्ययनपछि सरकारी सेवामा प्रवेश गरी १० वर्षमै सहसचिव तहसम्म पुग्ने सन्देशसहित स्कूलको पोशाकमा लेखिएको ‘बिदाइ स्मरण’मा देशका शीर्ष नेतृत्वबाट पनि प्रतिक्रिया आइरहेको छ । युवा पलायनलाई रोक्नु मुख्य चुनौती बनिरहेको अवस्थामा यो खालको मनोविज्ञान सकारात्मक र उत्साहजनक भएको टिप्पणी नेतृत्वको छ । भलै, देशमा पर्याप्त रोजगारीको अवसर सृजनामा नेतृत्व चुकेकै कारण रोजगारीका लागि युवा पलायनको भयानक दृश्य हेर्न हामी बाध्य बनिरहेका छौं । हुन त वैदेशिक रोजगारी नराम्रो होइन, तर अधिकांश युवालाई अदक्ष कामदारका रूपमा पठाएर तिनीहरूले पठाएको विप्रेषणबाट अर्थतन्त्र चलाउनु भनेको टिकाउ उपाय होइन । आजको रोजगारी प्रविधि र दक्षतामा केन्द्रित भइरहेको बेला हामी भने अदक्ष कामदारले पठाएको आयबाट देशको अर्थतन्त्र चलाउने उद्देश्यबाट अझै पनि बाहिरिन आवश्यक ठानेका छैनौं । समस्याको चुरो यहीँनिर छ ।  सरकार गरीबी घटाउन चाहन्छ भने रोजगारीका अवसर बढाउने योजनामा केन्द्रित हुनुपर्छ । युवा पलायन रोकेर त्यस्ता युवालाई देश निर्माणमा उपयोग गर्न पर्याप्त रोजगारीका अवसर उपलब्ध हुनुपर्छ । अहिले युवा पलायनको अवस्थाले नयाँनयाँ रेकर्ड बनाइरहेको छ । त्रिभुवन विमानस्थलबाट दैनिक ३००० सम्म युवा बाहिरिएका तथ्यांक हामीले हेरेका हौं । भारततिर जाने युवाको त कुनै हिसाबै छैन । कुनै समय तिनै युवाले पठाएको पैसा उपभोगमा सकियो, बचत भएन भनेर चिन्ता सुनिन्थ्यो । आज अवस्था यस्तो आइसक्यो कि, स्वदेशमा युवा नहुनुलाई पनि अहिलेको आर्थिक मन्दीको एउटा मुख्य कारण भनिएको छ । युवाजति विदेशिएपछि स्वदेशी बजारमा माग छैन । सरकारले अघि सारेको दीर्घकालीन सोचसहितको पन्ध्रौं योजनाले विसं २०८७ सम्ममा असमानता न्यूनीकरण गर्दै गरीबीलाई ५ प्रतिशतमा सीमित तुल्याउने लक्ष्य राखेको छ । विसं २१०० सम्ममा निरपेक्ष गरीबीमा रहेको जनसंख्या शून्यमा झार्ने महत्त्वाकांक्षी योजना पनि छ ।  सरकारले पर्याप्त रोजगारी सृजनाको माध्यमबाट आय आर्जन बढाएर गरीबी निवारण गर्ने बताइरहेको छ । कोरोना महामारीयता देखिएको मन्दीले नयाँ रोजगारी सृजना हुन सकेको छैन । भएकै रोजगारी पनि गएको छ । कोरोना महामारीका कारण त्यसबेला मात्रै ३६ लाखभन्दा बढी व्यक्तिले रोजगारी गुमाएको तथ्यांक आएको थियो । त्यसको असरबाट बच्न सरकारले वर्षेनि १०/१२ लाख नयाँ रोजगारीका योजना बजेटमा ल्याएको पनि हो । तर, ती योजना बजेटको किताबबाट बाहिर आउन सकेनन् । बजार, माग र आपूर्ति खस्किएको छ । उत्पादन अहिले पनि ४०/५० प्रतिशतमा सीमित छ । निर्माण सामग्रीका उद्योगको हविगत त अझ खराब देखिएको छ । उत्पादन, व्यवसायसँगै रोजगारी पनि खुम्चिएको छ । रोजगारी घट्दा यसको बहुआयामिक प्रभाव हुन्छ । आम्दानी खुम्चिएपछि यसबाट माग र उत्पादन घट्न जान्छ । यसबाट उत्पादन खुम्चिन्छ । र रोजगारीका अवसरहरू थप संकटमा पर्ने स्थिति हुन्छ । रोजगारी घट्दा गरीब थपिन्छन् । बेरोजगारी बढ्नु भनेको आम्दानी घटेर गरीबी बढ्नु हो । सरकारले यसको असर समाधानका लागि प्रभावकारी कार्यक्रम सार्वजनिक गर्न सकेको छैन ।  स्वदेशकै कच्चा पदार्थमा आधारित र बढी मूल्यअभिवृद्धि गर्ने खालका उत्पादनको संरक्षणका लागि प्रभावकारी नीतिको अभाव सधैं खट्किएको महसूस हुन्छ । सरकार यसमा गम्भीर हुन आवश्यक छ ।  सरकार गरीबी घटाउन चाहन्छ भने रोजगारीका अवसर बढाउने योजनामा केन्द्रित हुनुपर्छ । युवा पलायन रोकेर त्यस्तो युवालाई देश निर्माणमा उपयोग गर्न पर्याप्त रोजगारीका अवसर उपलब्ध हुनुपर्छ । हामी जनसांख्यिक अवसरको लाभ लिने अवस्थाबाट पनि बिस्तारै चुक्दै छौं भन्नेमा हेक्का राख्न आवश्यक ठानिएको छैन । यस्तो अवस्थामा सरकारले विशेष खालको कार्यक्रम ल्याउनुपर्छ । यस्तो कार्यक्रम जसमा रोजगारी सृजना उद्योग व्यापार क्षेत्रको उत्थानलाई ध्यानमा राखिनु पर्छ । उद्योग व्यापारका क्षेत्रमा दिइएको राहत पनि रोजगारी जगेर्नामा सहयोगी हुन सक्छ । विद्युत्, ब्याज, करलगायतमा दिइएको सहुलियतले उद्यममात्र होइन, रोजगारी जोगाउन पनि परोक्ष सहयोग पुर्‍याउँछ । यसमा सरकारले उदार नीति लिनुपर्छ ।  सरकारी योजनामा रणनीतिको अभाव छ । उत्पादन अभिवृद्धि, रोजगारीका अवसर र आयको वैज्ञानिक वितरणमार्फत आर्थिक असमानता न्यूनीकरण गर्दै जानुपर्छ । यसबाट गरीबी निवारण सहज हुन्छ । यो उद्देश्यको मुख्य औजार हो । योजना कार्यान्वयनमा नीतिगत व्यवस्थाको अभावले यो उद्देश्यमा अवरोध उत्पन्न गरेको छ । लक्ष्यमा पुग्न प्रभावकारी नीतिगत योजना र स्रोतको अभाव छ । अहिलेको संकटपूर्ण अवस्थामा सरकारले यो उद्देश्यमा पुग्न थप जिम्मेवारी बोध गर्नुपर्छ ।  यतिखेर उत्पादन, व्यापार, व्यवसाय, कृषि, रोजगारी, सेवा प्रवाह हुँदै आर्थिक वृद्धिसम्ममा देखिएका अवरोधको निकास निकालिनुपर्छ । जिम्मेवारीलाई सामान्यीकरण गर्नु अनुचित हो । यो मनोविज्ञानको अवतरणले अर्थसामाजिक सरोकारलाई विघटनको बाटोतिर उन्मुख गराउँछ । सरकार र सरोकारका क्षेत्र आआफ्नो जिम्मेवारीमा इमानदार हुनुपर्छ । निकासका लागि निजीक्षेत्रले अघि सारेका सुझावलाई सरकारले सकारात्मक रूपमा लिने परिपाटीको विकास हुन सकेको छैन । सरकार र निजीक्षेत्रबीच विश्वास हुनुपर्नेमा एकअर्कामा अविश्वास हाबी छ । यसले समस्यालाई अझ पेचिलो बनाएको छ ।  कोरोना महामारीयता विश्वव्यापी रूपमै रोजगारी कटौती भयो । विश्वकै अर्थतन्त्र शिथिल भएपछि अधिकांश देशले बेरोजगारीलाई घटाउन र यसबाट पर्न जाने चक्रीय प्रभावको असर कम गर्न राहतका कार्यक्रम ल्याएका थिए । हामीकहाँ भने यस्ता कुनै प्रभावकारी योजना देख्न पाइएन । औसत रोजगार नीति र योजनासमेत प्रभावकारी हुन सकेका छैनन् । सामाजिक सुरक्षाका नाममा ल्याइएका राजनीतिक लोकप्रियतामुखी योजनाहरू सत्ता राजनीतिका लागि जनताको सहानुभूति र वाहवाही बटुल्ने साधनमात्र बनेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम यस्तै समस्यालाई केही हदसम्म भए पनि सम्बोधनका लागि ल्याइएको हो । तर, यो कार्यक्रम सत्तासीन राजनीतिका सीमित कार्यकर्तालाई अलमल्याउने उपायबाहेक अन्य बन्न सकेको छैन । प्रदेश र स्थानीय सरकारहरूले यसमा गरेका काम पनि त्यति प्रभावयोग्य देखिएका छैनन् । स्थानीय तहका रोजगार सेवा केन्द्रले अपेक्षित गति लिन सकेका छैनन् । यथार्थमा यो कार्यक्रमले बेरोजगारी समाधानमा रचनात्मक प्रभाव देखाउन सकेको छैन । रोजगारीमा वास्तविक बेरोजगारभन्दा पनि सत्तासीन दलका कार्यकर्ताको हालीमुहाली छ । सडक दायाँबायाँ र खोल्साखाल्सीको झार उखेल्नेजस्तो अनुत्पादक कामका युवालाई लगाएर स्रोत बर्बाद गर्ने काम भइरहेको छ । यथार्थमा केही कार्यकर्ता पोस्ने उपक्रम बनेको अवस्था बढी छ । वास्तवमा सरकारी तवरबाट अघि सारिएका रोजगारीमूलक कार्यक्रम प्रभावकारी देखिएका छैनन् । यस्ता कार्यक्रम राज्यको स्रोत मास्ने काममात्र बढी भएको अवस्था छ ।  सबैभन्दा ठूलो रोजगारीको क्षेत्र उद्योग हो । ८ हजार ३८४ उद्योगमा ६ लाख २४ हजार ६६१ जनाले रोजगारी पाएको सरकारी तथ्यांक छ । उत्पादनलाई संरक्षण गर्नु भनेको रोजगारी प्रवर्द्धन हो । स्वदेशकै कच्चा पदार्थमा आधारित र बढी मूल्यअभिवृद्धि गर्ने खालका उत्पादनको संरक्षणका लागि प्रभावकारी नीतिको अभाव सधैं खट्किएको महसूस हुन्छ । सरकार यसमा गम्भीर हुन आवश्यक छ ।  ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

जी–ट्वेन्टीमा बिजनेश ट्वेन्टी

जी–ट्वेन्टीका विभिन्न सत्रमध्ये बिजनेश ट्वेन्टीलाई महत्त्वपूर्ण सत्रको रूपमा लिइएको छ । यूरोपेली संघलगायत १९ ओटा राष्ट्रहरूका साझा मञ्चका रूपमा रहेको जी ट्वेन्टीलाई संसारको सबभन्दा अब्बल र प्रभावकारी संगठनका रूपमा लिइन्छ । गत डिसेम्बरदेखि जी–ट्वेन्टीको अध्यक्षता भारतले ग्रहण गरेको छ । जी—ट्वेन्टीलाई जनजनसम्म पुर्‍याउन भारतका ६० ओटा शहरमा २०० शीर्षकमा विश्वका विभिन्न मौलिक मुद्दामा बहस भएको पाइन्छ । भारतको नीतिलाई पृथक् ढङ्गले व्याख्या गरेको देखिन्छ । यस्तो कार्यक्रमको उद्देश्य ती शहरलाई विश्व समुदायसँग परिचित गराउनु हो जसले गर्दा भारत व्यापार र पर्यटन क्षेत्रमा आफ्नो महत्त्वाकांक्षालाई प्रत्याभूत गर्न सकोस् । जी–ट्वेन्टीको कार्यक्रमको प्रारूपलाई भारतका परराष्ट्रमन्त्री जयशंकरले जनजनको कूटनीतिका रूपमा व्याख्या गरेका छन् । अर्थात् वर्तमान कूटनीति बौद्धिक विलास मात्र नभई जनजिब्रोमा हुनुपर्छ । जी–ट्वेन्टीका बिजनेश ट्वेन्टीका कार्यक्रमहरू दिल्लीदेखि जयपुरसम्म २३ अगष्टदेखि २७ अगष्टसम्म सञ्चालन भएको थियो । ५५ ओटा मुलुकबाट विश्वमा कहलिएका व्यापारिक घरानाका प्रतिनिधिहरूले कार्यक्रमको ओज र ऊर्जालाई बढाएका थिए ।  विश्वको व्यापारिक अवस्थालाई नयाँ मार्गदर्शन गर्न भारतले बृहत् रूपमा गृहकार्य गरेको देखिन्छ । जी–ट्वेन्टीमा दक्षिण गोलार्धको ध्वनिलाई ध्वनीकृत गर्न भारतका प्रधानमन्त्री मोदीले दक्षिण गोलार्धका १२५ ओटा मुलुकहरूसँग संवाद गरेका थिए । विद्युतीय माध्यमबाट संवाद गरेर दक्षिण गोलार्धका मुलुकहरूको समस्या र भावनालाई जी–ट्वेन्टीमा समावेश गर्न भारतले आफ्नो वचनबद्धता समेत जाहेर गरेको छ । अर्थात् भारतले जी–ट्वेन्टीलाई दक्षिण गोलार्धसँग जोड्न सामरिक र कूटनीतिक पहलसमेत गरेको देखिन्छ । जी–ट्वेन्टीमा अफ्रिकन संघलाई सहभागी गराउन मोदीले सम्पूर्ण कूटनीतिक अभ्याससमेत गरिसकेको देखिन्छ । बिजनेश ट्वेन्टीमा भारतले आफ्नो अनुभव र उपलब्धिलाई समेत साझा बनाएको देखिन्छ । विगतका दिनमा दक्षिण गोलार्धलाई लक्षित गर्दै ७८ ओटा मुलुकमा भारतले ६ सय ओटा योजनासमेत परिचालित गरेको देखिन्छ । कोरोनाको कहरमा दक्षिण गोलार्धलाई नै केन्द्रमा राखेर १०० ओटा मुलुकलाई खोप उपलब्ध गराउनु र १५० मुलुकलाई औषधि उपलब्ध गराएर भारतले आफ्नो सहानुभूति र सद्भाव जाहेर गरेको देखिन्छ । दक्षिण गोलार्धलाई नै ध्यानमा राखेर भारतले २ लाख विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्तिसमेत प्रदान गरेको छ । बिजनेश ट्वेन्टीको बैठक विश्व व्यापारमा आमूल परिवर्तन गर्नुपर्ने तर्क विभिन्न कोणबाट व्याख्या भएको देखिन्छ । उदार अर्थतन्त्र र भूमण्डलीकरणको राप र तापले गर्दा उपभोक्ताहरू केही सीमित व्यापारिक घरानाको आर्थिक चपेटामा परेको देखिन्छ । खुला बजार र उदारवादको आवरणमा दक्षिण गोलार्धमा ७५ ओटा मुलुक आर्थिक रूपले टाट पल्टिने अवस्थामा छन् । विश्वका एक तिहाई मुलुकहरू आर्थिक मन्दीबाट ग्रस्त छन् । संसारको २० करोड जनसंख्या गरीबीका रेखामुनि छन् । संसारका १० करोड मान्छेहरू बेरोजगार भएका छन् । अर्थात् कोरोनाको कहर र रसिया युक्रेन युद्धको पराकम्पनबाट सबभन्दा पीडित दक्षिण गोलार्धका विश्वमा कहलिएका वित्तीय संस्थाको समेत प्रतिनिधित्व रहेको थियो । प्रस्तोताहरूले ब्याजदर, लगानीमैत्री वातावरण, वितरण प्रणालीमा पुनर्विचार, विद्युतीकरण र समावेशिता जस्ता विभिन्न पक्षमाथि बहस गरेका छन् । बिजनेश ट्वेन्टीको बैठकमा आआफ्नो उपलब्धि र अनुभवलाई साट्न तम्तयार देखाएका छन् । आत्मनिर्भरता र मेक इन इन्डियाको नाराका साथ भारत आफ्नो आर्थिक महत्त्वाकांक्षा प्राप्त गर्न विभिन्न रणनीतिका साथ अगाडि बढिरहेको छ । २३ अगष्टमा भारतले चन्द्रयानमा प्राप्त गरेको सफलता र फाइभ–जी मा प्राप्त गरेको उपलब्धिलाई उल्लेख गर्दै विश्वको लागि भारत समावेशी विकासको मोडेल हुन सक्ने विज्ञहरूको तर्क रहेको छ । कोरोनाका बेला ४५० मिलियन जनताको बैंक खातामा राहत उपलब्ध गराउनु, १५० मिलियन जनतालाई आवास गृह प्रदान गर्नुजस्ता कार्य समावेशी विकासको नमूनाको रूपमा लिन सकिन्छ । अर्को शब्दमा भन्ने हो भने बिजनेश ट्वेन्टीमा डिजिटाइजेशनमा जोड दिइएको छ । डिजिटाइजेशनविना गरीब र विपन्न देशहरूले विकासको मूल प्रवाहमा आउन नसक्ने विज्ञहरूको तर्क रहेको छ । संसारका चार बिलियन जनताहरू विद्युतीय प्रणालीबाट वञ्चित रहेको अवस्था छ । वर्तमान परिवेशमा समेत तीन बिलियन जनता बैंक र वित्तीय संगठन आबद्ध छैनन् । यस परिवेशमा बिजनेश ट्वेन्टीको प्रमुख चिन्ता र चासो दक्षिण गोलार्धमा नै रहेको छ । विभिन्न पछौटेपन हुँदाहुँदै पनि दक्षिण गोलार्धमा जनसांख्यिकीय लाभले गर्दा विश्वको ८० प्रतिशत वृद्धिदर दक्षिण गोलार्धमा नै रहेको छ । वर्तमान परिवेशमा बिजनेश ट्वेन्टीको सम्पूर्ण रणनीति र कार्यनीति दक्षिण गोलार्धमा नै केन्द्रित रहेको छ । मध्यमवर्गको उदयले नै बजारलाई फराकिलो बनाउन सक्छ । यस अर्थमा बिजनेश ट्वेन्टीको सम्बोधनमा यूरोपेली र अमेरिकी व्यापारिक घरानाहरूलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री मोदीले व्यापारलाई मानवीय संवेदना र सहाभूतिसँग जोड्न आग्रह गरेका छन् । जी–ट्वेन्टीको संयोजक अमिताभ कान्तले यसको सत्रलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।  लेखक वैदेशिक मामिलाका अध्येता हुन् ।

लाभदायी पञ्चेश्वर जलविद्युत् आयोजना बन्ने विश्वास पलाएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही समयअघि सम्पन्न उहाँको भारत भ्रमणको क्रममा भारतीय पक्ष पञ्चेश्वर जलविद्युत् आयोजना अघि बढाउन सहमत भएको बताउनुभएको थियो ।  प्रधानमन्त्री दाहालले वर्षौंदेखि अघि बढ्न नसकेको पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ३ महीनाभित्र टुंगो लगाएर १ वर्षभित्र लगानीको प्रारूप तयार पार्ने सहमति भएको संसद्मा बताउनुभएको छ । २०५२ सालको महाकाली सन्धिदेखि नै पञ्चेश्वर जलविद्युत् आयोजना निर्माणको कुरा चलिरहे पनि ठोस उपलब्धि हात लाग्न सकेको छैन ।  प्रधानमन्त्री दाहालको ‘तीन महीनाभित्र डीपीआर टुंग्याएर १ वर्षभित्र लगानीको प्रारूप तयार पार्ने’ सहमति बनेको कुराले आशाको सञ्चार गर्न सकेको देखिँदैन । यो सहमतिको पनि विगतका सहमतिको जस्तै हविगत हुने र पञ्चेश्वर नबन्ने चिन्ता सर्वसाधारणमा छ ।  नेपाल सरकार र भारत सरकारबीच महाकाली सन्धि सम्पन्न भएपछि सर्वप्रथम यो आयोजना द्विदेशीय लगानीमा बनाउने र संयुक्त रूपमा सञ्चालन गर्ने निर्णय भएको थियो । यो जलाशययुक्त जलविद्युत् आयोजनाबाट कुल ६ हजार ४८० मेगावाट बिजुली उत्पादन हुने बताइएको छ । औसत उत्पादनचाहिँ १० हजार ६७१ गेगावाट आवर प्रतिवर्ष हुने अनुमान छ । पञ्चेश्वर जलविद्युत् आयोजना अगाडि बढाउन २०६६ सालमा नेपाल र भारतका जलस्रोत मन्त्रालयको संयुक्त बैठकमा पञ्चेश्वर विकास प्राधिकरण गठन गरी डीपीआर तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने सहमति भएको थियो । सोहीअनुरूप पञ्चेश्वर विकास बोर्ड गठन पनि भइसकेको छ । तर बोर्डबाट अहिलेसम्म उल्लेख्य काम हुन सकेको देखिँदैन ।  पञ्चेश्वर जलविद्युत् आयोजना निर्माण अगाडि बढाउने सहमति पटकपटक हुने तर कार्यान्वयनमा नजाने हुँदा ढिलाइको कारणबारे प्रश्न उठ्न थालेका छन् । जलविद्युत्विज्ञ अनुपकुमार उपाध्याय आयोजना निर्माणको काम अगाडि बढ्न दुवै देशका तर्फबाट सशक्त राजनीतिक प्रतिबद्धता व्यक्त हुनुपर्ने र सोहीअनुसार कार्यान्वयन गर्नुपर्ने बताउँछन् ।  ‘पञ्चेश्वरको हकमा राजनीतिक तहबाटै निर्माण गर्नैपर्छ भन्ने प्रतिबद्धता एवं तत्परताको कमी देखिन्छ,’ उनले भने, ‘महाकाली सन्धिबारेको बुझाइमा भिन्नता र पानी वितरणको विषय सुल्झन नसक्दा ढिलाइ भइरहेको छ ।’ पञ्चेश्वर जलविद्युत् आयोजना निर्माण लागत र अन्य दृष्टिकोणले निकै फाइदाजनक हुने तर्क गर्नेहरू पनि प्रशस्तै छन् । यो आयोजना ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाभन्दा निकै सस्तो, विस्थापित हुने जनसंख्या तथा डुबान कम हुने र उत्पादनको हिसाबले निकै बढी सम्भाव्य रहेको बताइन्छ ।  जलविद्युत् क्षेत्रका जानकार तथा लगानी बोर्डका पूर्वकार्यकारी अधिकृत राधेश पन्त पञ्चेश्वर बने ठूलो उपलब्धि हुने बताउँछन् । ‘पञ्चेश्वर बन्यो भने नेपाल र भारत दुवैले फाइदा लिन सक्छन् । त्यहाँको जनजीवनलाई पनि यो परियोजनाले सकारात्मक प्रभाव पार्छ । ऊर्जाबाहेक पनि पञ्चेश्वर जलविद्युत् आयोजनाका धेरै सकारात्मक साइड इफेक्टहरू हुन सक्छन्,’ उनले भने ।  पञ्चेश्वर जलाशययुक्त आयोजना भएकाले महाकाली नदीमा आउने बाढीको पानी जम्मा गरी सुक्खायाममा सिँचाइमा प्रयोग गरेर खाद्यान्न उत्पादन बढाउन पनि मिल्ने देखिन्छ । आयोजनाको बाँध नै ३ सय १५ मीटरको हुने भनिएको छ ।  धेरै फाइदा भएर पनि अलपत्र परेको आयोजना अब अगाडि बढ्नेमा पन्त विश्वस्त छैनन् । ‘सहमति गर्ने, कार्यान्वयन नगर्ने परिपाटी देखिन्छ । सहमति पहिला पनि भए/गरेका हुन् तर कार्यान्वयनमा गएनन्,’ पन्तले भने, ‘निर्माण सम्पन्न भइदियो भने त्यो धेरै राम्रो हो तर विगतका अभ्यास हर्दा नबनीकन विश्वस्त हुने आधार छैन ।’

पाकिस्तान टाट पल्टने जोखिम नजिक : अन्तरराष्ट्रिय जगतले नपत्याउँदा सकस

काठमाडौं । संकटग्रस्त पाकिस्तानी अर्थतन्त्र टाट पल्टने जोखिम बढ्दै गएको छ । स्टेट बैंक अफ पाकिस्तानको वेबसाइटअनुसार यतिबेला पाकिस्तानसँग ४ दशमलव ६ अर्ब अमेरिकी डलरमात्र सञ्चिति छ । तर, त्यहाँका स्थानीय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले विदेशी मुद्रा सञ्चिति ४ देखि ४ दशमलव ३ अर्ब डलरबीचमा रहेको बताइरहेका छन् । अहिलेको विदेशी मुद्रा सञ्चितिले पाकिस्तानलाई २२/२३ दिनको मात्रै आयात धान्न पुग्छ । २३ करोडभन्दा बढी जनसंख्या रहेको पाकिस्तानले पेट्रोलियम पदार्थ, खाद्यान्नसँगै आफ्ना कतिपय आवश्यकताका सामग्री आयात गर्नुपर्छ । पाकिस्तानमा अधिकतर ऊर्जा उत्पादन पनि आयातित जीवाश्म इन्धनबाटै हुन्छ । विदेशी मुद्रा सञ्चिति कम हुँदै गएपछि पाकिस्तानले सहयोगी राष्ट्रका साथै अन्तरराष्ट्रिय संस्था गुहारिरहेको छ । केही समयअघि उसले जलवायु परिवर्तनबाट भएको क्षति पुनःस्थापनाका लागि भन्दै जेनेभामा सम्मेलन गरेको थियो । सम्मेलनमा विभिन्न अन्तरराष्ट्रिय संस्था र राष्ट्रले पाकिस्तानलाई ९ अर्ब डलरभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साउदी अरेबिया र यूएईले पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफको भ्रमणका क्रममा सहयोग गर्ने वचन दिएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका थिए । पाकिस्तानी पत्रिका डनका अनुसार साउदी अरेबिया एक्लैले अवस्था हेरेर १० अर्ब डलरसम्म पाकिस्तानलाई सहयोग गर्ने बताएको थियो । तर, यी दुवै सहयोग प्राप्त भएको छैन । वल्र्ड इकोनोमिक फोरम, डाबोसमा बोल्दै साउदी अरेबियाका अर्थमन्त्रीले विश्व बैंक र अन्य संस्थासँग कसरी ‘त्यो सहयोग प्रदान गर्न थप रचनात्मक’ हुन सकिन्छ भनेर छलफल गरिरहेको बताएको डनले लेखेको छ । डाबोसमा साउदी अर्थमन्त्रीले अनुदान र ऋण दिने साबिकको तरीका परिवर्तन गरी बहुपक्षीय संस्थासँग काम गर्ने अभिव्यक्ति दिएसँगै साउदी अरेबियाबाट सीधै आर्थिक सहयोग प्राप्त हुने पाकिस्तानको आशामा तुषारापात भएको देखिन्छ । साउदी अरेबियाको यो अडानसँगै यूएईबाट पनि उस्तै प्रतिक्रिया आउन सक्ने चिन्ता पाकिस्तानलाई छ । पाकिस्तानले लामो समयदेखि खाडी मुलुकबाट आर्थिक सहयोग पाइरहेकोमा पछिल्लो समय त्यो घट्दो क्रममा छ । कतिपयले खाडी मुलुकसँग भारतको नजिकिँदो सम्बन्धले पाकिस्तानलाई अप्ठ्यारो परेको हुन सक्ने अनुमान गरेका छन् । साउदी अरेबियाको नीति परिवर्तनमा पनि भारतीय आर्थिक कूटनीतिले भूमिका खेलेको हुनसक्ने अनुमान छ । अर्थराजनीतिका जानकार एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल भारतको भूमिकालाई नकार्न नसकिने बताउँछन् । ‘अर्थ–कूटनीतिले काम गर्छ । भारत ठूलो बजार हो । खाडी देशले पनि ठूलो बजारसँगको व्यापारलाई हेर्छन् । भारत हावी भयो र पाकिस्तानले कूटनीतिक कौशल देखाउन सकेन भने स्वाभाविक रूपले त्यसको प्रभाव पर्छ,’ पोखरेलले भने । अन्यत्र सहयोगी नपाउँदा पाकिस्तानको ध्यान अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) तिर सोझिएको छ । आईएमएफले पाकिस्तानलाई ऋण दिनुपूर्व आफ्ना शर्त पालना गर्नुपर्ने बताउँदै आएको छ । पाकिस्तानसामु उसले विद्युत्को अनुदान फिर्ता लिनुपर्ने, ग्यासको मूल्यलाई अन्तरराष्ट्रिय बजारसँग जोड्नुपर्ने, डलरलाई स्वतन्त्र रूपमा प्रवाह गर्नुपर्ने, एलसी रोक्न नहुनेलगायत शर्त राखेको छ । पोखरेलका अनुसार आईएमएफले आफ्ना शर्त पूरा नगरे ऋण दिँदैन । ‘अन्तरराष्ट्रिय संस्थाहरूले सबै कुरालाई गहन तरीकाले अध्ययन गरेर आफ्नो पैसा फिर्ता हुन सक्ने अवस्थामा मात्रै लगानी गर्छन्,’ उनले भने । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका  अर्थ–राजनीतिका विज्ञ दीपेन्द्रबहादुर क्षेत्री आईएमएफको ऋण नपाउनुमा भूराजनीति पनि जिम्मेवार हुनसक्ने बताउँछन् । ‘आईएमएफलगायत संस्थामा यूरोपेली र अमेरिकीको वर्चस्व हुन्छ । पाकिस्तान चीनसँग अलि नजिक छ । इन्डो–प्यासिफिक क्षेत्रमा चीनसँग नजिक भएका देशलाई अलग्याउने रणनीतिअनुरूप पाकिस्तानलाई ऋण नदिएर अल्झाइरहेको हुन सक्ने सम्भावना रहन्छ,’ उनले भने । पाकिस्तान सरकार आईएमएफका शर्त स्वीकार्न हिचकिचाइरहेको देखिन्छ । पहिलेदेखि नै महँगीको चर्को मार खेपिरहेका जनतामा बोझ थप बढ्ने चिन्ताका साथै आगामी केही महीनाभित्रै आमचुनाव हुन लागेकाले अलोकप्रिय हुने र चुनावमा क्षति बेहोर्नुपर्ने डरले सत्तारूढ दलहरू आईएमएफका शर्त स्वीकार्न हच्केका हुन् । पाकिस्तानमा अहिले खाद्यान्नको मूल्य निकै बढेको छ । महँगोमा गहुँको पिठो किन्न मानिसले तँछाडमछाड गरेका तस्वीर र भिडियोहरू पाकिस्तानी सञ्चारमाध्यमले निरन्तर देखाइरहेका छन् । ऊर्जाका लागि जीवाश्म इन्धनमा निर्भर पाकिस्तानको डलर सञ्चिति कम हुँदै जाँदा ऊर्जासंकट देखिन लागेको छ । केही समयअघि पाकिस्तान सरकारले राति ८ ः ३० बजेपछि बजार बन्द गर्नुपर्ने आदेश जारी गरेको थियो । सोमवार त पाकिस्तान अन्धकारमै बस्नुपर्‍यो । सरकारले प्राविधिक समस्याका कारण यस्तो भएको बताएको छ । तर, सर्वसाधारणमा आसन्न संकटलाई लिएर डरको माहोल देखिएको बीबीसीले बताएको छ । केही दिनअघि पाकिस्तान सरकारले रूससँग सस्तो मूल्यमा कच्चा तेल किन्ने सम्झौता भएको बताएको थियो । रूस तेलको भुक्तानी मित्रराष्ट्रहरूको मुद्रामा लिन सहमत भएको छ । डनका अनुसार दुवै पक्षले मित्रराष्ट्रको मुद्रामा भुक्तानी गर्न सकिने सैद्धान्तिक सहमति गरेका छन्, यद्यपि यो मुद्दा अझै चर्किरहेको छ । मित्रराष्ट्रका मुद्रामा पाकिस्तानले चीन, भारत, साउदी अरब र इरानको मुद्रा प्रयोग गर्न सक्छ । भारत र पाकिस्तानबीच कश्मिर मुद्दालाई लिएर लडाइँ भइसकेको छ । अहिले पनि त्यो क्षेत्रमा विवाद कायमै छ । यस्तोमा भारतले पाकिस्तानलाई आफ्नो मुद्रा चलाउन दिने सम्भावना देखिँदैन । साउदी अरब र इरान आफैले पेट्रोलियम पदार्थ उत्पादन र निर्यात गर्छन् । उनीहरूले आफ्नो पेट्रोलियम पदार्थलाई महँगो भनेर रूसबाट कच्चा तेल किन्न खोज्ने पाकिस्तानलाई विनिमयका लागि आफ्ना मुद्रा चलाउन दिने सम्भावना नगन्य छ । त्यही भएर पाकिस्तानले रूसबाट कच्चा तेल ल्याउन चीनको भर पर्नुपर्ने बाध्यता छ । डलर संकटको सामना गर्दै आएको पाकिस्तानले आपूर्ति शुरू भएपछि आफूले किनेको तेलको मूल्य भुक्तानी गर्न चिनियाँ युआन प्रयोग गर्न सक्छ । तर, चीनले पहिलादेखि नै चाइना–पाकिस्तान इकोनोमिक कोरिडोर (सिप्याक) अन्तर्गत पाकिस्तानमा धेरै लगानी गरिसकेको छ । यस्तो अवस्थामा पाकिस्तानलाई चीनले कहिलेसम्म र कति दिने भन्ने प्रश्न रहने अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीको भनाइ छ । जानकारहरू अहिलेको स्थितिमा कतैबाट छिटो आर्थिक सहयोग नपाए पाकिस्तान टाट पल्टिने बताउँछन् । पाकिस्तान टाट पल्टियो भने त्यसको असर दीर्घकालीन र निकै गम्भीर हुनेमा नजिकबाट नियालिरहेका विज्ञहरू एकमत देखिन्छन् ।

बिदा माने विकास !

स्थानीय चुनावको मतगणना जारी छ । एमालेमाथि कांग्रेस भारी छ । सडकमा फोहोर थुपारी छ । देशैभर बिदामाथि बिदाको उर्दी जारी छ । पेट्रोलियममा मूल्यवृद्धिको लगातार सवारी छ । यातायातको भाडा बढाउने फेरि अर्को तयारी छ । सरकार बिन्दास छ । जनता जिन्दावादमा व्यस्त छन् । काम गरेर खानुपर्नेहरू, कर तिर्नुपर्नेहरू थपिएको बिदाका कारण व्यवसाय चौपट हुँदै गएकोमा त्रस्त छन् । केही गर्नु नपर्नेहरू बिदा थपिएकोमा मस्त छन् । हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयबारे पक्षविपक्षमा आआफ्ना तर्क छन् । किनकि सबैका आआफ्ना अर्थ छन्, आआफ्ना स्वार्थ छन् । अन्य तरिकाले नेपालको विकास गर्न नसके पनि धेरै बिदा दिएर गर्ने विकासको मोडलको पनि अभ्यास त गर्नैपर्‍यो नि ।    दुईदिने बिदाले खासगरी महिलाहरूको कल्याण हुन्छ रे । एक दिन लुगा धुने, घर सरसफाइ गर्ने । अर्को दिन पूरै दिनभरि सुत्ने वा बाहिर घुम्न जाने मौका उनीहरूलाई जुर्छ रे । दुईदिने बिदाले आन्तरिक पर्यटन पनि बढ्छ रे । अब विदेशी पर्यटक पनि नचाहिने भो जस्तो छ । त्यस्तै दुई दिन बिदा भएसि करेसाबारीमा तरकारी धेरै फल्छ रे । यसको मतलब अब भारतबाट तरकारी आयात हट्ने भो, नभए पनि स्वात्तै घट्ने भो । बिदा दिए मानिस सुतिरहन्छन्, कोेची कोची खाँदैनन् अनि खाद्यान्नको आयात पनि घट्छ भनेरै सरकारले योे निन्जा टेक्निक लगाएको जस्तो छ । बिदाको दुरुपयोग होला भनेर सरकारले तास र दारु आयातमा प्रतिबन्ध लगाएर मात्र दुईदिने बिदाको घोषणा गर्‍यो । नत्र त बिदा बढाउँदै उत्पादन वृद्धि गर्ने सरकारको नीति फेल खान्थ्यो । अनि अब पनि कसैले भन्न सक्छ नेपालमा दूरदर्शी नेता र नीति निर्माताहरू छैनन् भनेर ?   सरकारले खासमा चाहिँ पेट्रोलियमको खपत घटाउन दुई दिन बिदा द्या रे । तर उता बिदामा घुम्न जान पाउँदा यसको खपत चाहिँ दोब्बर हुने भा छ रे । अहिले भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएका कारण गहुँ लगायतमा भाउ बढेर छोइनसक्नु भा छ । अब गहुँको आयात घटाउन पनि कुनै नयाँ बिदाको योजना अघि सार्न म सरकारसँग जोडदार माग गर्दछु । ‘हाउथोर्न इफेक्ट’ भन्ने व्यवस्थापनको एउटा सिद्धान्त छ । यो सिद्धान्तले भन्न त अर्थोकै भन्छ, तर त्यसको नेपाली स्थानीयकरण अनुसार बढी बिदा भयो भने उत्पादकत्व बढ्छ रे । शायद त्यै भएर सरकारले हप्तामा ५ दिन मात्र काम गर्ने भनेर बनाएको होला । अब त्यो पनि घटाउँदै हप्तामा ४ दिन, ३ दिन काम गर्ने बनाउँदै जाऊँ न त, अझ उत्पादकत्व बढ्दै जान्छ कि ! हुन पनि दुनियाँले दुई दिन बिदा गरेर उत्पादकत्व बढाइराछन् भने हाम्रोमा किन नहुने ? विकसित भनिएका सबै देशमा दुईदिने बिदा देखेकै छौं । खाली अहिलेको प्रावधानले सरकारी अफिस बन्द हुँदा पनि प्राइभेट अफिस मात्र खुल्दा के हुने हो भन्ने मात्र प्रश्न हो । हप्तामा दुई दिन बिदा दिने देशहरूमा नेपालमा जस्तो अन्य बिदा यति धेरै त हुन्न होला । अनि उनीहरू कामका दिन राम्रैसँग काम गर्छन् होला । कि हाम्रा सरकारी कर्मचारीले जस्तै ‘सरकारी काम, कैले जाला घाम’ गर्छन् होला हँ ? जसरी अहिले पैसा झिक्न बैंकमा जानु पर्दैन, त्यसैगरी नागरिकता, पासपोर्ट आदि बनाउन सीडीओ अफिस जान नपर्ने भो भने त सरकारी अफिस सातै दिन बन्द गरे पनि भैगो त । शान्तिसुरक्षा आदि केही काम गर्नैपर्ने अवस्था हो भने सीडीओ सापको काम प्रहरी प्रभावलाई सुम्पिदिए पनि भो । सरकारले जनसंख्या कम भएकाले दुई दिन बिदा दिएर जनसंख्यामा चैं उत्पादकत्व बढाउन सोच्या पनि हुन सक्छ । सरकारहरू त दूरदर्शी पो हुन्छन् हाम्रोतिर । यसै पनि अहिले शनिवार र आइतवार गरेर १०४ र अन्य बिदा ४६ दिन जोड्दा १५० दिन अर्थात् वर्षको ६ महीना त बिदै हुँदो रेछ । योबाहेक एकजना सरकारी कर्मचारीले वर्षमा ३० दिन घर बिदा, १२ दिन बिरामी बिदा अनि १२ दिन व्यावि पर्व बिदा पनि पाउँछ । अझ, बेलाबेलामा कहिले कुनै विदेशी नेपाल आउँदा होस् वा कुनै समूहको दबाबको सनकमा सरकारले भोलिपल्ट बिदा हुने भन्ने सूचना अघिल्लो दिन राति ११ बजेतिर उर्दी जारी गरेर दिइने बिदाको त यहाँ हिसाबै छैन । यसरी ६ महीनाभन्दा कम काम गर्ने, ६ महीना काम नगर्ने । यो कुम्भकर्णवाला प्राचीन बिदा प्रणाली ठीकै त होला । किनकि जति धेरै विकास, त्यति धेरै बिदा थपिन्छ रे । अन्य तरिकाले नेपालको विकास गर्न नसके पनि धेरै बिदा दिएर गर्ने विकासको मोडलको पनि अभ्यास त गर्नैपर्‍यो नि । त्यसैले बिदा बढेकोमा खासै चिन्ता गर्नुपर्ने देखिन्न है । बरु फाइदा पो हुन्छ कि ? कुनै तथ्यांकशास्त्रीले एक दिन सरकारी अफिस बिदा हुँदा कति भ्रष्टाचार कम हुन्छ भनेर अध्ययन गरे नि हुने हो । काम नभएको दिन भ्रष्टाचार नहुने भएपछि भ्रष्टाचार पनि पक्कै घट्छ होला । दुई दिन बिदा भनेको सरकारी अफिस मात्र बन्द भा न हो । अरू क्यै भा छैन । अनि केको गुनासो ? यसै पनि बिदा कम हुँदा कुन चैं उत्पादकत्व सरकारी निकायबाट भा छ र ? तर २०५६ सालमा पनि सरकारले हप्तामा दुई दिन बिदा दिने चलन ल्याएको थियो । २० वर्षअघि फेल भएको त्यही अभ्यास अहिले फेरि किन ल्याए, पक्कै क्यै रहस्य होला । ‘अहिलेको आर्थिक मन्दीको अवस्थामा छफफल सीधा हुनुपर्ने थियो, कसरी आयात घटाउने र निर्यात बढाउने भनेर । तर सरकारले अरू कुरा छाडेर बिदा बढाउनेमा गयो’ भन्नुहोला । बिदा बढाउँदै आर्थिक वृद्धिदर पनि बढाउने नीति अंगीकार गरेको हो सरकारले । प्रधानमन्त्री राम्रोसँग बोल्दैनन् भन्दैमा यति धेरै जान्ने सुन्ने सरकारलाई मानिसले बुझ्ने प्रयासै नगर्नु पनि उचित भएन कि ? फेरि सरकारले जनसंख्या कम भएकाले दुई दिन बिदा दिएर जनसंख्यामा चैं उत्पादकत्व बढाउन सोच्या पनि हुन सक्छ । सरकारहरू त दूरदर्शी पो हुन्छन् हाम्रोतिर । त्यसैले जति बिदा थपियो, उत्ति नै उत्पादकत्व बढ्छ कि हेरौं न त । के बिग्य्रा छ र ? वास्तवमा देश विकास नभाकै बिदा कम भएर पो हो कि ? यति धेरै चाडपर्व र बिदै बिदा भएपछि अब त देशमा विकासले छलाङ कसो नमार्ला हँ ?

भारतमा रोजगारी संकट : काम गर्ने उमेर समूहका अधिकांशले खोज्न छाडे जागिर

वैशाख १३, काठमाडौं । भारतीय अर्थतन्त्रले अहिले युवाहरुको सिप र चाहना अनुरुपको पर्याप्त जागिर सृजना गर्न सकिरहेको छैन । अर्कोतिर कामको खोजी नै नगर्ने मानिसहरुको संख्या पछिल्लो समय बढ्न थालेको छ । आफूले चाहे जस्तो अनि आफ्नो दक्षताअनुरुपको काम पाउन नसकेपछि करोडौं भारतीय विशेषगरी महिलाहरु श्रम बजारबाट पूर्ण रुपमा बाहिरिरहेका छन् । मुम्बईस्थित निजी अनुसन्धान कम्पनी सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमीले सार्वजनिक गरेको नयाँ डेटाले यस्तो देखाएको हो ।  देशको युवा जनसंख्या आर्थिक वृद्धिको बलियो चालक बन्नेमा आशा भारतले गर्दै आएको छ । तर पछिल्लो तथ्यांकले यसको ठिक उल्टो संकेत गरिरहेको छ । सन् २०१७ र सन् २०२२ को बीचमा समग्रमा श्रम सहभागिता दर ४६ प्रतिशतबाट घटेर ४० प्रतिशतमा सीमित भएको छ । महिलाहरुमा यो दर अझै डरलाग्दो छ । झन्डै २ करोड १० लाख महिला कार्यबलबाट बाहिरिएका छन् । अहिले जागिरका लागि योग्य महिला जनसंख्याको ९ प्रतिशत मात्रै श्रम बजारमा आबद्ध छन् वा जागिर खोजिरहेका छन् ।  भारतमा ९० करोड हाराहारीका मानिसहरुले काम गर्न कानूनले मान्यता दिएको उमेर पार गरेका छन् । तर यीमध्ये आधा भन्दा धेरैले भने जागिर नै नचाहने सीएमआईईको भनाइ छ । यति ठूलो संख्यामा कामदारहरु काम गर्न अनिच्छुक देखिनुले युवा जनसंख्याबाट भारतलाई हुन सक्ने फाइदा उसले नपाउनेतर्फ संकेत गरेको विश्लेषकहरुले बताउन थालेका छन् । यसले भारत मध्यम आयको पासोमै अल्झिरहने र के आकारको वृद्धिको बाटोले आर्थिक असमानता झनै बढाउने सम्भावना बढाएको बैंगलुरुस्थित सोसाइटी जनरल जीएससी प्रालिका अर्थशास्त्री कुनाल कुन्दु बताउँछन् ।  सरकारी क्षेत्रका जागिरमा आवेदन दिन लाखौं मानिसको भिड लाग्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले रोजगारीलाई प्राथमिकता दिने भने पनि उनी नेतृत्वको सरकारले असम्भव जनसांख्यिकीय हिसाबको समाधानमा खासै प्रगति गरेको छैन । भारतले सन् २०३० सम्ममा कृषि बाहेक अन्य क्षेत्रमा कम्तिमा पनि ९ करोड नयाँ रोजगारी सृजना गर्न जरुरी भएको म्याकिन्से ग्लोबल इन्ष्टिच्यूटको सन् २०२० को एउटा प्रतिवेदनले देखाएको थियो । यसका लागि भारतीय अर्थतन्त्र वार्षिक ८ देखि साढे ८ प्रतिशतका दरले बढ्नु पर्नेछ ।  युवाहरुलाई रोजगारीमा आबद्ध हुन प्रेरित गर्न नसक्दा विकसित अर्थतन्त्र बन्ने भारतको सपना तुहिने हो कि भन्ने आशंका बढेको छ । भारतले जनसांख्यिकीय लाभांशबाट उच्चतम् लाभ लिन नसक्ने हो कि भन्ने चिन्ता पनि अर्थशास्त्रीहरुको छ । पछिल्लो केही वर्षयता भारतले विविध खालको चुनौतीको सामना गरिरहेको छ । कहिले अमौद्रिकीकरण त कहिले नयाँ कर प्रणालीको कार्यान्वयन अनि कहिले अनौपचारिक अर्थतन्त्रबाट औपचारिक अर्थतन्त्रसम्मको स्थानान्तरणको असफल प्रयास अनि कहिले कोरोना भाइरसको महामारी आर्थिक वृद्धिदरमा अनेकौं पक्ष तगारो बनेको छ ।  कार्यबलमा सहभागिता दर खुम्चिनुका कारण फरक फरक छ । बेरोजगार अधिकांश भारतीयहरु कि विद्यार्थी छन् कि गृहणी । यीमध्ये अधिकांश भाडाको रुपमा हुने कमाई, घरपरिवारका ज्येष्ठ सदस्यको पेन्सन वा सरकारी भत्तामा जीवन गुजारा गरिरहेका छन् । महिलाको मामिलामा भने घर बाहिरको असुरक्षा र घरकै कामले भएभरको समय खाइदिने अवस्था कारणका रुपमा देखिएको छ । भारतको कुल जनसंख्यामा महिलाको अनुपात ४९ प्रतिशत छ । तर जीडीपीमा महिलाको योगदान १८ प्रतिशत मात्रै छ । यो विश्वको औसतको पनि आधा हो ।  श्रम बजारमा महिला प्रति उदार खालको जागिर नहुनु पनि सहभागीता दर कम हुनुको अर्को कारण भएको सीएमआईईका महेश ब्यास बताउँछन् । पुरुषहरुमा जागिर खान रेल नै फेरेर भएपनि जाने इच्छा छ तर महिलाहरुमा यस्तो चाहना थोरै हुने ब्यासको भनाइ छ । अनि यो प्रवृत्ति ठूलो स्तरमा रहेको पनि उनले बताएका छन् । यो समस्या समाधानका लागि सरकारले विवाहका लागि योग्य उमेर बढाएर २१ मा पुर्‍याएको थियो । तर यसले अपेक्षाकृत फल दिएको छैन । अबेरसम्म घरबाहिर बसेर काम गर्नुलाई अहिले पनि कतिपय घरपरिवारमा राम्रो मानिदैंन । एजेन्सीको सहयोगमा