फागुन २१, काठमाडौं । सातामा पाँच कारोबार दिन सञ्चालनमा रहने धितोपत्र दोस्रो बजार यो साता तीन कारोबार दिनमात्र सञ्चालन भयो ।
फागुन १७ गते महाशिवरात्रि र फागुन १९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदाका कारण धितोपत्र दोस्रो बजार बन्द भएको हो । तीन कारोबार दिनमा लगानीकर्ताले यो साता रू. १ खर्ब ६२ अर्बभन्दा बढीको सम्पत्ति गुमाएका छन् ।
कुल बजारपूँजीकरण गत साताको तुलनामा यो साता घटेको छ । गत साताको अन्तिम कारोबार दिन फागुन १२ गते रू. ३७ खर्ब ६९ अर्ब रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन फागुन १८ गते रू. ३६ खर्ब ७ अर्ब ६० करोड ८० लाखमा झरेको हो ।
गत साता २ हजार ६६१ दशमलव ४४ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ५४७ दशमलव शून्य ४ विन्दुमा झरेको हो । साताको तीन दिन कै कारोबारमानेप्से परिसूचक निरन्तर घटेको छ । त्यस्तै गत साता ५०७ दशमलव ५८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४८८ दशमलव ८३ विन्दुमा झरेको छ । ठूला कम्पनीको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स यो साता १८ दशमलव ७५ विन्दु तल झरेको हो ।
यसै साता सरकारले एमसीसी सम्झौता पारित गरेको थियो । एमसीसी सम्झौता अन्तर्गतको अधिकांश रकम जलविद्युत् क्षेत्रमा लगानी हुने भएकाले धितोपत्र दोस्रो बजारमा सूचीकृत जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक प्रभाव पर्ने विश्लेषकहरुको अनुमान थियो ।
पछिल्लो समय सर्वाधिक कारोबार रकमको हिस्सा ओगट्दै आएको जलविद्युत् समूहअन्तर्गतका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि हुँदा समग्र बजारलाई सकारात्मक प्रभाव पार्ने पनि अधिकांश लगानीकर्ताको अनुमान थियो ।
तर, एमसीसी अनुमोदनपछिको पहिलो कारोबार दिन जलविद्युत् समूह अन्तरर्गतका कम्पनीमा लागनी गर्ने लगानीकर्ताहरुलेनै सर्वाधिक गुमाउन पुगे । साता भरीको उतारतढाव बीच नेप्से परिसूचक अन्तिम कारोबार दिन भने २ हजार ६०० विन्दु तल झरेको छ ।
यो साता तीन दिनमात्र कारोबार भएकाले पनि गत साताभन्दा कारोबार रकम र कित्ता घटेको छ । गत साता रू. १७ अर्ब ७२ करोडभन्दा बढीको ३ करोड २९ लाख ३५ हजार २४३ कित्ता शेयर कारोबार भएकोमा यो साता तीन कारोबार दिनमा रू. १० अर्ब ५५ करोडभन्दा बढीको २ करोड २५ लाख २७ हजार ६८२ कित्ता शेयर कारोबार भएको हो ।
यो अवस्थामा संयम भएर कारोबारमा सहभागी हुन अनुभवि लगानीकर्ता सिर्जना सुवेदीले आग्रह गरेकी छिन् । सुवेदीले शेयर बजार बढ्न हरेक पटक शेयर बजारको प्रणाली, प्रक्रिया र काम गर्ने मोडालिटीमा भएको परिवर्तनले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
‘बजारको स्वरुप ओपन क्राइडबाट कम्प्युटराइज हुँदा होस् या डिम्याटको व्यवस्था हुँदा होस् हालसम्मको अवस्थामा अनलाईन कारोबार प्रणालीलेनै बजारलाई परिवर्तन गरेको छ,’ उनले भनिन् ।
यो परिवर्तनले अर्को बुलको इतिहास बनाउनेमा सुवेदीले ढुक्क हुन लगानीकर्तालाई आग्रह गरेकी छिन् । बजार आफ्नै बाटोमा उभो लाग्ने भन्दै उनले आत्तिने र मात्तिने नगर्न सबैमा अनुरोध समेत गरेकी छिन् ।
यो साता उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले सर्वाधिक गुमाए
निरन्तर नेप्से परिसूचक घटेको यो साता सबै समूहगत परिसूचकहरु पनि घटेका छन् । यो साता उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । गत साताको तुलनामा उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ६ दशमलव ५९ प्रतिशतले घटेको छ ।
यो साता वित्त समूहको परिसूचक ६ दशमलव ०७ प्रतिशत, जीवन बीमा समूहको ६ दशमलव शून्य ८ प्रतिशत, व्यापारिक समूहको ५ दशमलव ५३ प्रतिशत, विकास बैंकको ५ दशमलव ५१ प्रतिशत,लगानी समूहको ५ दशमलव ४५ प्रतिशत, जलविद्युत् समूहको ५ दशमलव ४१ प्रतिशत परिसूचक घटेको छ ।
त्यसैगरी निर्जीवन बीमा समूहको ५ दशमलव २१ प्रतिशत, लघुवित्त समूहको ३ दशमलव ९४ प्रतिशत, बैंकिङ समूहको ३ दशमलव १४ प्रतिशत, ‘अन्य’ समूहको ३ दशमलव शून्य ६ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव २० प्रतिशत र लगानी समूहको सबैभन्दा कम १ दशमलव ९२ प्रतिशत परिसूचक घटेको छ ।