चार वर्ष अघिदेखि बन्द रहेको झापाको गौरीगन्ज गाउँपालिकामा रहेको छोटी भन्सार कार्यालय सुचारु गर्न पहल सुरु भएको छ । भन्सार कार्यालयको नयाँ भवन बनेपनि भन्सार कर्मचारी नबसेपछि प्रयोजन विहीन बनेको छ ।
वीरगन्ज भन्सार कार्यालय मातहतका ११ मध्ये ४ मात्र छोटी भन्सार संचानलमा रहेका छन् । हाल पर्साका ठोरी र भिष्वा तथा बाराका सिम्रौनगढ र मटिअर्वा छोटी भन्सार मात्र संचालनमा छन् । कोरोना महामारीपछि बन्द रहेको सिम्रौनगढ छोटी भन्सार र ठोरी छोटी भन्सार कार्यालय पुनः संचालनका लागि दुवै पालिकाका बासिन्दाले लामो संघर्षसमेत गरेपछि यी छोटी भन्सार गत आर्थिक वर्षदेखि संचालनमा आएका हुन् ।
बिर्तामोड– कोरोना महामारीपछि बन्द भएको झापा गौरीगञ्जको आठमौजा छोटी भन्सार सञ्चालन नहुँदा गौरीगञ्जका व्यवसायी समस्यामा परेका छन् । सात दशकदेखि सञ्चालनमा आएको गौरीगञ्जको आठमौजा छोटी भन्सार कोरोना कहरपछि विगत तीन वर्षदेखि बन्द हुँदा गौरीगञ्ज बजार समेत प्रभावित भएकाले आफूहरु समस्यामा परेको उनीहरुको भनाइ छ । झापाको दक्षिण पश्चिम भारतको सीमासँग जोडिएको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा […]
रामायण कालदेखि चर्चित हालको मधेश प्रदेशको महोत्तरी जिल्लामा अवस्थित एउटा सानो गाउँ ‘मटिहानी’ लाई विसं २०७३ मा छिमेकका मझौरा, धिरापुर, बिसनपुरलाई समेट्दै नगरपालिका बनाइयो । यस नगरपालिकामा ३६ हजार हाराहारीमा जनसंख्या रहेको छ । यो स्थानका केही आफ्नै धार्मिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक पृष्ठभूमि रहेकाले आर्थिक विकासमा समेत ठूलो सम्भाव्यता रहेको छ ।
सीताको श्रीरामसँग विवाह गर्दा मैथिल परम्पराअनुरूप वेदीका लागि माटो खन्ने काम यही मटिहानीमा भएको थियो । उक्त ठाउँ लक्ष्मीनारायण पोखरीको नामले चिनिन्छ । यहाँ वर्र्षैभरि विभिन्न पर्व मनाइन्छन् । भारतको वाराणसीझैं नेपालको जनकपुरपछिको दोस्रो गंगा आरती हुने स्थान हो, यो । नेपालको सबैभन्दा पुरानो मठ र राष्ट्रकै सबभन्दा पुरानो विद्यालय राजकीय संस्कृत मावि पनि यहीँ छ ।
विगतका केही वर्षदेखि यहाँका जागरुक जनता र जनप्रतिनिधिको प्रयासबाट यसक्षेत्रको पर्यटकीय आकर्षण, व्यावसायिक क्षमता र भौतिक पूर्वाधारमा सम्भाव्यता देखिन थालेको छ । भारतसँग खुला सिमाना जोडिएकाले यहाँ राष्ट्रिय मुद्रास्फीति र मूल्यस्तरले कमै प्रभाव पारेको हुन्छ । कुनै समय चामल, तरकारी, सुनचाँदीको व्यापारका लागि अति नै प्रसिद्ध रहेको यो स्थान आज विकासका नयाँ लहरसँगै आफ्नो पहिचान कायम गर्न सफल भएको छ ।
सम्भाव्यताका क्षेत्र
यो क्षेत्र कृषि बाहुल्य भएकाले सानो हाटलाई विस्तार गरी कृषिक्रान्ति ल्याउन सकिन्छ । २० किलोमीटरको दूरीमा रहेको जनकपुरधाममा रेलवे, हवाई अड्डा, राष्ट्रिय राजमार्ग, विभिन्न सरकारी र सार्वजनिक कार्यालय भएकाले मटिहानी क्षेत्रमा गरिने आर्थिक लगानी मुनाफामूलक हुने देखिन्छ ।
खुला र खेतीयोग्य जग्गा पर्याप्त उपलब्ध भएकाले यहाँ विविध स्वास्थ्य र शैक्षिक सुविधाहरू विस्तार गर्न सकिन्छ । मटिहानी क्षेत्रमा ठूलो सुविधासम्पन्न अस्पताल स्थापना गर्न सम्भव देखिन्छ । यसबाट त्यस क्षेत्रका करीब १५ गाउँपालिका र केही नगरपालिकाहरू एवं नजीकका भारतीय सीमापारिका समेत हजारौं मानिस लाभान्वित हुनुका साथै मनग्य आम्दानी र रोजगारीको अवसरसमेत सृजना गर्न सकिन्छ । यसका लागि अहिले पनि प्रदेशको राजधानी जनकपुर धाउनुपर्ने बाध्यता छ ।
यस क्षेत्रमा अहिले पनि कृषि जीविकाको स्वरूपमा मात्र रहेकाले व्यावसायिक कृषिको थालनी गरी कृषि उद्योग स्थापना गर्न सकिन्छ । त्यसका लागि वरपरका किसान भेला गरी तरकारी, फलफूल, नगदेबालीको उत्पादनमा विविधता ल्याउन सकिन्छ । स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन, कृषि, विज्ञान, प्रविधि, शिक्षा आदि विभिन्न संकायका उच्च शिक्षाका लागि यहाँ अझै क्याम्पसको अभाव रहेकाले यतातिर पनि लगानी गर्न सकिन्छ ।
दुग्ध उत्पादनहरूको माग उच्च रहेको मटिहानी क्षेत्रतिर गाई, भैंसी आदिको दूधको उपलब्धता भएकाले आधुनिक दुग्ध उत्पादन उद्योग सञ्चालन गर्न सकिन्छ ।
यस क्षेत्रमा कृत्रिम सुन्दरता सृजना गर्न सजिलो छ किनकि हरेक नगरपालिकाले संघीय प्रणालीको गणतन्त्रमा थुप्रै बजेट पाएकै हुन्छन् तर अर्थशास्त्रले यसलाई विकासको पूर्ण स्वरूप नै मान्दैन । विकासका लागि जीडीपी, विकास सूचकांक आदि सबै उच्चतम हुनु आवश्यक हुन्छ । यसका लागि औद्योगिक क्रान्ति चाहिन्छ । मटिहानीको नजीकै धनुषा जिल्ला उखुजस्तो नगदेबालीका लागि एक समय प्रसिद्ध थियो । अहिले त्यो घट्दो छ । यहाँ चिनी मिल स्थापना गर्न सके वरपरका कृषकलाई पुन: उखुखेती गर्न उत्प्रेरित गर्न सकिन्छ र देशमा रहेको चिनीको माग पूरा गर्न सकिन्छ ।
भारतको मुजफ्फरपुर, पटना, कोलकाता र दिल्लीबाट हरेक गुणस्तरका रेडिमेड कपडाहरूको ठूलो खरीद क्षेत्र मानिने मधवापुर ग्रामपञ्चायत मटिहानीसँग टाँसिएको सीमावर्ती क्षेत्र हो जहाँबाट किनिएका कपडा जनकपुरदेखि काठमाडौंसम्म विक्रीवितरण गरिन्छन् । त्यस क्षेत्रबाट त्यस्ता र अन्य औद्योगिक वस्तुहरू ठूलो परिमाणमा आयात गरी थोक विक्री र उत्पादन व्यवसाय सञ्चालन गर्न सकिन्छ ।
मसलाका उद्योग र व्यापार समेतका लागि मटिहानी उत्तम आर्थिक क्षेत्र सावित हुन सक्छ । धार्मिक विश्वास राख्ने ठूलो जनसमुदाय रहेको यस क्षेत्रमा पूजासामग्री जस्तै : अगरबत्ती, दीपबत्ती, चुनरी, सिन्दुर र धातुका सामान उत्पादन गर्ने साना ठूला उद्योग स्थापना गर्न सकियो भने यसले विशाल क्षेत्रसम्म बजार पाउने सम्भाव्यता छ । अहिले यहाँको मागलाई भारतीय आयातले पूरा गरिरहेको छ । फूल र माला, साबुन, कुखुराको दाना र पोल्ट्री फर्मको व्यापारको पनि सम्भावना देखिन्छ, यहाँ ।
यस क्षेत्रमा निजीक्षेत्रको लगानीमा संस्कृति र प्रविधिको सम्मिश्रणबाट कृत्रिम पर्यटकीय सुविधाहरू सञ्चालन गर्न सकिन्छ । यसबाट आन्तरिक र बाह्य पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि गराई मुनाफा कमाउन सकिन्छ ।
चुनौती
यो क्षेत्र भारतसँगको खुला सिमाना र अत्यधिक समीप रहेकाले भन्सार विभाग, सरकार र प्रशासनको लापरवाहीले भन्सार छली सामान ल्याउने गरिएको छ जसबाट कर चुहावट उच्च देखिएको छ । छोटी भन्सार रहे तापनि यो ठूलो परिमाणको आयात–निर्यात प्रक्रियाका लागि उपयुक्त छैन । यहाँ पनि ठूलो भन्सार विभाग राख्ने हो अथवा त्यस्तो सुविधा दिने हो भने व्यापार व्यवसाय फस्टाउन सक्छ । यसप्रकारको कदमले एक नयाँ भन्सार बिन्दु थपिन गई यस क्षेत्रका व्यवसाय र त्यसका सहायक व्यवसायहरू जस्तै ढुवानी सेवाप्रदायक, विभिन्न बैंक र बीमा संस्थाहरू, क्लियरिङ एजेन्ट कार्यालयहरू सञ्चालनमा आउँछन् जसले बजार विस्तार हुन्छ ।
आन्तरिक राजस्व विभागको कुनै कार्यालय यहाँ नरहेकाले कर नियन्त्रण फितलो देखिन्छ जसको लागि जनकपुरमा रहेको आ.रा.का.को शाखा मात्र थप्न लगाई व्यापार मात्र सहज नभई कर चुहावटसमेत अनुगमन गरी नियन्त्रण गर्न सकिन्छ । यस ठाउँको मुख्य समस्या सबल भन्सार बिन्दु नहुनु हो जसको कारणले नै अवैध व्यापारिक कारोबार फस्टाइरहेको छ । धनी झन् धनी भइरहेछन् भने मध्यमवर्गीय योग्य शिक्षित जनशक्ति आन्तरिक पलायन गरिरहेको पाइएको छ । सीमामा अवैध क्रियाकलापमा कडाइ गरी भन्सार विस्तार गरियो भने मुअकर तिरेर वस्तु किनबेच गर्नुबाहेक कुनै विकल्प व्यापारमा नरहने हुन्छ । साथै नयाँ एवं पुराना पसल र व्यवसायले समेत सञ्जीवनी पाउनेछन् ।
लेखक नेशनल एकेडमी क्याम्पस वीरगञ्जमा व्यवस्थापन विषयको अध्यापन गर्दछन् ।
कैलाली । कैलालीको भजनी नगरपालिका–५ मा रहेको पृथ्वीपुर छोटी भन्सार दुई वर्षदेखि बन्द छ । कोरोना संक्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको उक्त छोटी भन्सार सबै सीमानाका खुला भइसक्दा पनि सञ्चालनमा आउन नसकेको हो ।
छोटी भन्सार बन्द हुँदा भन्सार कार्यालय परिसर नाजुक अवस्थामा पुगिसकेको छ । कार्यालय परिसरमा झारपात उम्रनुका साथै भवन संरक्षण अभाव देखिएको छ ।
सरकारले भारतसँग सीमा जोडिएका सबै सीमानाका खुला गर्ने निर्णय गरे पनि बन्द भएको उक्त भन्सार सञ्चालनमा नआउँदा त्यहाँबाट संकलन हुँदै आएको राजस्व बन्द भएको छ ।
खक्रौलास्थित सत्ती भन्सार कार्यालय मातहतको उक्त छोटी भन्सार बन्द हुँदा त्यस क्षेत्रबाट चोरी तस्करीका घटनासमेत बढ्दै गएका छन् । भन्सार कार्यालय खुला हुँदा स्थानीयले भन्सार महसुल तिरेर घरायसी सामान ल्याउने गरेका थिए ।
भजनी नगरपालिका– ५ का सुरेन्द्र चौधरी भन्सार तथा आसपास क्षेत्रमा रातीको समय निकै हलचल हुने गरेको बताउँछन् । ‘यस क्षेत्रबाट चोरी तस्करीका सामान निकै आयात हुने गरेको छ । यो विषय सत्ती भन्सार, प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिलाई पनि थाहा छ’, उनी भन्छन्, ‘सबै तस्करसँग मिलेका छन् । कसैले केही बोल्ने कुरै भएन । कहिलेकाहीँ बार्गेनिङ नमिलेपछि मात्रै एक्सन लिने काम हुन्छ ।’
सत्ती भन्सार कार्यालयका प्रमुख विमलकुमार साह कोरोनाका कारण पहिलो चरणको बन्दाबन्दीको समय बन्द भएका देशभरका कुनै पनि छोटी भन्सार सञ्चालनमा आउन नसकेको बताउँछन् ।
भन्सार विभागबाट अख्तियारी नआएका कारण छोटी भन्सार सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ । ‘हामीले चाहेर पनि भन्सार खुला गर्न सक्दैनौं । विभागको अख्तियारी चाहिन्छ । त्यो अख्तियारी अहिलेसम्म आएको छैन’, भन्सार प्रमुख साह भन्छन्, ‘कुनै पनि छोटी भन्सार सञ्चालनमा आएका छैनन् । अख्तियारी आएपछि हामीलाई भन्सार सञ्चालनमा ल्याउन कुनै कठिनाइ छैन ।’
छोटी भन्सार बन्द भएकै कारण चोरी तस्करीका घटना नबढे पनि राजस्व संकलन भने बन्द भएको छ । वार्षिक करिब ४० लाखभन्दा भन्दा बढी राजस्व संकलन छोटीबाट हुँदै आएको थियो । दुई वर्षदेखि राजस्व सञ्चालन हुन नसकेको उनले बताए । साह भन्छन्, ‘घरायसी सामान ल्याउनेबाट सामान्य भन्सार रकम संकलन हुने गरेकामा अहिले त्यसको निगरानी गर्ने कोही छैन । भन्सार बन्द हुँदा घरायसी सामान ल्याउन बन्द गर भन्न सकिँदैन ।’ रासस
विराटनगर । मोरङका ९ मध्ये तीनओटा छोटी भन्सार सञ्चालनमा छन् । अन्य ६ ओटा नाका बन्दप्राय: छन् । सञ्चालनमा रहेका रंगेली र डाइनिया नाकाको राजस्व असुली वर्षदेखि शून्य छ । यी भन्सारमा दिनभर कर्मचारी बस्छन् । तर भन्सार चेकजाँचका लागि एक वर्षदेखि एकजना पनि व्यापारी छिरेका छैनन् । मायागञ्ज छोटी भन्सारले भने महीनामा करिब ५० हजार राजस्व बुझाउँदै आएको छ ।
रंगेली र डाइनिया भन्सार नाका हुँदै दिनहुँ लाखौं मूल्यका व्यापारिक सामान सीमावर्ती बजारबाट भित्रिन्छन् । तर कोही पनि राजस्व तिर्न आउँदैनन् । भन्सार अधिकृत अमित तिवारीले भने, ‘सञ्चालनमा आएका यी छोटी भन्सार नाममात्रका भए । छोटी भन्सार सञ्चालनको औचित्य पुष्टि हुन सकेको छैन ।’ यी दुई भन्सारमा खोर्सानी र प्याजको राजस्व तिर्नमात्र व्यापारी पस्ने गरेका छन् ।
धनपालथानमा पर्ने मायागञ्ज छोटी भन्सारले मासिक सरदर ५० हजार रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । भन्सारसँगै सशस्त्र प्रहरीको उपस्थिति भएकाले यो नाकाबाट केही राजस्व असुली हुने गरेको छ ।
कुनै समय सीमावर्ती बुधनगरमा रहेको मधुमल्ला छोटी भन्सारले दैनिक १० हजार रुपैयाँसम्म भन्सार महसुल असुली गरेको अभिलेख छ । तर त्यो कार्यालय डेढ दशकदेखि बेवारिसे अवस्थामा छ । भवन भत्किएको छ । सरकारको नाममा रहेको करीब तीन कठ्ठा जमिन पनि उपयोगविहीन छ ।
त्यही छोटी भन्सारको नाममा करिब चार किलोमिटर दक्षिण सीमा क्षेत्रमा तरिगामा गोदाम छ । त्यो गोदाम पनि अलपत्र छ । उक्त गोदाम र छोटी भन्सारको सडक हुँदै दैनिक लाखौं मूल्य बराबरका व्यापारिक सामान अवैध रूपमा ओसार पसार हुन्छ । नियन्त्रण गर्ने निकाय वेखबर छ ।
सशस्त्र द्वन्द्वका बेला यो छोटी भन्सार बन्द भएको हो । स्थानीय रूपचन मण्डलले भने, ‘विराटनगर भन्सारका कर्मचारी पटक पटक आएर भवन मर्मत गर्ने र सञ्चालन गर्ने भन्दै गएका थिए, अहिलेसम्म फर्किएर आएका छैनन् ।’ यो नाका हुँदै मरिच, छोकडा, सुपारी लगायत तेस्रो मुलुकबाट आयातित वस्तु भारत निकासी र भारतीय उत्पादनको चोरी पैठारी हुने गरेको उनको भनाइ छ ।
भारतसँग ६० किलोमिटर सिमाना जोडिएको मोरङमा मायागञ्ज, रंगेली, डाइनिया, डोरिया, चुनीवारी, तरिगामा, मधुमल्ला, कदमाहा र चौकीघाट छोटी भन्सार छन् । तीमध्ये अहिले मायागञ्ज, रंगेली र डाइनिया छोटी भन्सार मात्र सञ्चालनमा छन् ।
छोटी भन्सारलाई पछिल्लो समय १५ हजार मूल्य बराबरको निकासी पैठारीका सामानको मात्र भन्सार महसुल लिने अधिकार छ । सञ्चालनमा भएका छोटी भन्सारले प्याज, आलु, खोर्सानी, माछाको मात्र भन्सार रसिद काटेको पाइएको छ ।
छोटी भन्सार सञ्चालनमा ल्याए पनि चोरी पैठारी रोकिने स्थिति छैन । ‘चोरेर खान बानी परेका व्यापारीले छोटी भन्सार नाकाबाट सामान ल्याउँछन्, तर राजस्व तिर्दैनन्,’ एक अधिकारीले भने, ‘मोरङका छोटी भन्सार नाका व्यर्थका भए ।’
मोरङका सबै छोटी भन्सार मूल भन्सार कार्यालयबाट पूर्वमा पर्छन् । तिनै नाकाबाट चोरी पैठारी भएका भारतीय वस्तुले जिल्लाका ग्रामीण बजार थेग्ने गर्छ । भन्सार अधिकारीका अनुसार भन्सार नतिरेका भारतीय वस्तु विराटनगर लगायत आसपासका बजारमा छ्याप्छ्याप्ती भेटिन्छन् ।
मोरङका नौमध्ये तीनवटा छोटी भन्सार सञ्चालनमा छन् । दुईवटाको राजस्व असुली एक वर्षदेखि एक रुपैयाँ पनि छैन । रंगेली र डाइनिया छोटी भन्सारमा दिनभर कर्मचारी बस्छन् । जाँचका लागि वर्ष दिनदेखि एक जना पनि व्यापारी छिरेका छैनन् ।
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा रहेको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने गौरा छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन । तत्कालीन माओवादी द्वन्द्वका बेला यो भन्सार कार्यालय विस्थापित भएको थियो । मुलुकमा शान्ति स्थापना भएको १५ वर्ष बित्दा पनि यो भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन ।