पृथ्वीमा भएका अनेकौं तत्त्वहरूमध्ये कुनै एकको घटी वा बढीले अरूलाई समेत प्रभाव पार्छ । त्यसकारण पृथ्वीमा भएका विविध तत्त्वको आत्मनिर्भरताका कारणले गर्दा नै मानवजातिले पर्यावरणको बचावट र संरक्षणका लागि चिन्तित हुनुपर्ने अवस्था देखापरेको छ । पर्यावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, जैविकलगायत समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुन्छन् । मानव स्वयंले पर्यावरणप्रति गरेको बेवास्ताले वर्तमानमा प्रचुरमात्रामा जैविक विविधतामा नास भई करोडौं धनजन तथा मानवीय सुखसमृद्धिका आधार संरचनाहरू जलवायु परिवर्तनका कारणले नष्ट हुँदै गएका छन् । जैविक विविधताको विनाश, वातावरण प्रदूषण, जनसंख्याको चाप, जलवायु परिवर्तन अहिलेका समस्या हुन् । पर्यावरण ज्यादै बिग्रिएको कारणे गुणस्तरीय जीवन मृगतृष्णा भएको छ । ३३ वर्षअगाडि सन् १९८८ मै जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समूह गठन भएपश्चात् यस क्षेत्रमा विकसित देशहरूको ध्यान पुगिसकेको थियो भने विकासशील तथा अविकसित देशहरू भने भर्खरमात्र यसतर्पm उन्मुख भएका छन् ।
विभिन्न ग्यासहरूले पृथ्वीबाट परावर्तन हुने सौर्यविकिरण सोसेर पुनः पृथ्वीमै फर्काउँछन् । फलस्वरूप पृथ्वीको तापक्रम बढ्न जान्छ । जब यी ग्यासको मात्रा वायुमण्डलमा बढ्न जान्छ तब यो प्रक्रियाले तापक्रम अझ बढाउँछ । यी तापक्रम बढ्न जाने प्रभावलाई हरितगृह प्रभाव भनिन्छ । यसका कारण भूमण्डलीय तापक्रम बढेको तथ्यांकले देखाएको छ ।
बोटबिरुवाले वातावरणमा भएको कार्बनडाइ अक्साइड सोसेर लिने भएकाले वायुमण्डलमा यसको मात्रा सन्तुलनमा रहेको हुन्छ, तर वनविनाशका कारण वायुमण्डलमा कार्बनडाइ अक्साइडको मात्रा बढ्न गएको छ । कलकारखानाबाट निस्कने ग्यास, जीवावशेष इन्धनको प्रयोगमा भएको वृद्धिले कार्बनमोनोअक्साइड तथा नाइट्रस अक्साइड जस्ता ग्यास उत्सर्जनमा भएको वृद्धि र विभिन्न अन्य कारण मिथेन ग्यासको उत्सर्जनका कारणले वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढेको छ । फलस्वरूप भूमण्डलीय तापक्रम बढ्न गई जलवायु परिवर्तनको दर बढेको छ । हरितगृह उत्सर्जनमा अविकसित देशभन्दा विकसित देशको योगदान अत्यधिक छ ।
नेपालले हरिगृह ग्यास उत्सर्जनमा कम प्रभाव पारेको देखिन्छ तर पनि भारत र चीनजस्ता देशको बीचमा अवस्थित भएका कारण जलवायु परिवर्तनको प्रभाव हाम्रो देशमा पनि देखिएको छ । जलवायु परिवर्तनका कारण पृथ्वीको सतहको तापक्रममा वृद्धि भएको र वर्षाका स्वरूपमा परिवर्तन भएको छ । यसबाट बोटबिरुवा र बालीनालीको जीवनचक्र छोटो भएको पाइन्छ । उष्ण क्षेत्रमा हुने बोटबिरुवा समशीतोष्ण हुँदै उपोष्ण क्षेत्रतर्फ फैलिन थालेका छन् । मनसुन ढिलो हुनुका साथै वर्षाको तीव्रता बढेको छ । सुक्खा समय लामो हुने गरेको छ । मौसमका तत्त्वहरूले अनियमित र अस्थिर स्वरूप देखाउने गरेको छ । हिउँ पग्लने दर बढ्नुका साथै हिमरेखा माथि सरेको छ र समुद्रको सतह बढेको छ । यस कारण जैविक विविधतामा ठूलो असर परेको छ जसको असर आर्थिक मूल्य निकै बढी छ ।
हुन त कतिपय धेरै चिसा क्षेत्रमा नयाँ बालीको सम्भावना नबढेको होइन, तर मौसमका तत्त्वहरूमा देखिएको अनियमित तथा अस्थिर स्वरूपले गर्दा कालान्तरमा उत्पादनमा नकरात्मक स्वरूप देखिन जान्छ । अनावृष्टि र अतिवृष्टिका कारण बाढीपहिरो गई खेतीयोग्य जमीनको विनाश हुन गएको छ भने सिँचाइ प्रणालीमा नकारात्मक असर परेको छ । यसरी आउने नकारात्मक असर पर्याप्त स्रोतको अभावका कारण सबैभन्दा बढी मध्यम वर्गका समुदायमा पर्न गएको छ ।
अबको समयमा वातावरणलाई अति महत्त्वका साथ हेरेर जैविक विविधतामा ह्रास आउन दिनु हुँदैन । योजनाकार र नीति निर्माताहरू पर्यावरणलाई असर पार्ने तत्त्वहरूको पहिचान गरेरमात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्था हुनुपर्छ । समयको क्रममा मानवले पर्यावरणमा पारेको नोक्सानी हेर्दा जैविक वस्तुको संरक्षण एवं पर्यावरणको दिगो विकास दीर्घजीवी हुन नसक्ने कुरा स्पष्ट छ । मानव जातिको समुन्नति एवम् अस्तित्वकै लागि पनि पर्यावरणको महत्त्व स्पष्ट हुँदै गएको छ । अतः पृथ्वीका सम्पूर्ण जातिको सुखसमृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जे जति महत्त्व छ त्यो भन्दा बढी पर्यावरण तथा जैविक विविधताको संरक्षण पनि अपरिहार्य छ ।
विकास आयोजनाको सञ्चालन गर्दा विद्यालय, विश्वविद्यालय तहका पाठ्यक्रम तयार गर्दा वा अन्य महत्त्वपूर्ण कार्य गर्नका लागि पर्यावरणीय पक्षलाई विशेष महत्त्वका साथ हेर्नुपर्ने हुन्छ । पर्यावरणको अध्ययन तथा जैविक वस्तु संरक्षणले उच्च तथा चिरस्थायी गुणस्तरीय जीवन बनाउन सहयोग पुर्याउन सकिन्छ ।
मानवको अस्तित्वका लागि वन, जङ्गल, जल आदि प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । पर्यावरणको अध्ययनले हरेक प्राणी तथा वनस्पतिमा केकस्तो सम्बन्ध रहेको हुन्छ भन्ने जानकारी दिन्छ । प्राकृतिक सन्तुलन विचलित नबनाई मानवले वर्तमान आवश्यकताहरू पूरा गरी भविष्यका सन्ततिका लागि संरक्षण गर्नुपर्छ । पर्यावरण संरक्षण जैविक विविधता अति आवश्यक एवम् महत्त्वपूर्ण हुन्छ । पर्यावरणको संरक्षणले विभिन्न स्थान, अवस्था तथा परिवेशमा विद्यमान विविधताको संरक्षणको उपायहरू अवलम्बन हुन्छ ।
विश्वमा गरीब मानिसहरूको संख्या अधिक छ । त्यसमा पनि कम विकसित देशमा गरीब तथा खाद्यान्नको संकटबाट गुज्रनेहरूको जमात ठूलो छ । वर्तमान समयमा खेतीपातीबाट मात्र हुने उत्पादनले खाद्यान्न पूर्ति नहुने हुँदा जङ्गली वस्तुहरू कन्दमूल, फलफूल आदिले पनि जीविकोपार्जनमा सघाउ पुर्याउँछन् । खाद्यान्नको संकट बेहोरिरहेका गरीबहरूको संकटपूर्ण अस्तित्वलाई केही मात्रामा भए पनि राहत पनि पुग्ने छ र पर्यावरण र जैविक विविधता संरक्षण भई स्वच्छ, हरा भरा वातावरणमा जीवन बिताउन मद्दत पुग्नेछ । जैविक विविधता तथा पर्यावरण संरक्षणमा खाद्य आपूर्ति बढाउनुका साथै दिगो आर्थिक विकासका लागि पनि आधार तय गर्छ । त्यसैले दिगो विकासका लागि पर्यावरण संरक्षणलाई महत्त्व दिइएको छ । पर्यावरणमा ध्यान नदिई गरिएको विकासले विपन्न वर्गलाई समस्यामा पार्छ । आर्थिक समृद्धिका लागि पर्यावरण संरक्षण जरुरी हुन्छ ।
लेखक गुणस्तरीय जीवनसम्बन्धमा विद्यावारिधि हुन् ।