काठाडमौं । सरकार र प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच वार्ताको तयारी भएको छ । वार्ताका लागि दुवै पक्षले वार्ता समिति गठन गरेका छन् ।
सरकारले विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
टोलीको अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका सरकारको तर्फबाट मन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यता, विप्लव समूहले पनि सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेका विज्ञप्तिमार्फत जनाएको छ। पूर्वमन्त्री समेत रहेका विश्वकर्मा विप्लव समूहका वरिष्ठ नेता हुनुहुन्छ ।
हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी ओली नेतृत्वकै सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।