दाङमा एकै महिनामा ४० प्रतिशत, वर्षै भर ६३ प्रतिशत खर्च

दाङ- दाङमा एक महिनाको अवधिमा कुल बजेटको ४० प्रतिशत विकास बजेट खर्च गरिएको छ । प्रदेश सरकार अन्तरगतका कार्यालयमा कुल बजेटको ६३ प्रतिशत खर्च हुँदै गर्दा असार महिनामा मात्रै ४० प्रतिशत बजेट खर्च भएको छ । कुल पुँजीगत बजेट ३ अर्ब ७४ करोड ८५ लाख ९१ हजार रहेकोमा असारमा मात्रै ९२ करोड १९ लाख २५ […]

सम्बन्धित सामग्री

यो साता डेढ अर्बले घट्यो कारोबार रकम, साढे ५५ अर्बभन्दा बढीले बढ्यो पूँजीकरण

काठमाडौं । यो साताको कारोबारमा रू. १६ अर्ब २७ करोड ८३ लाखभन्दा बढीको धितोपत्र कारोबार भएको छ । उक्त रकम बराबरको यो साता ४ करोड ५४ लाख १० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।  गत साताको तुलनामा यो साता कारोबार रकम रू. १ अर्ब ५८ करोडभन्दा बढीले घटेको छ । गत साता रू. १७ अर्ब ८६ करोडभन्दा बढीको ४ करोड ५० लाख ३८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । औसतमा यो साता रू. ३ अर्ब २५ करोडभन्दा बढीको कारोबार भएको छ । गत साता यो रकम रू. ३ अर्ब ५७ करोडभन्दा बढी रहेको थियो । कारोबार रकम घटेको यो साता नेप्से परिसूचक ३५ दशमलव ५५ अंकमाथि उक्लिएको छ ।  गत साताको अन्तिम कारोबार दिन रू. २ हजार ४९ दशमलव ३८ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८४ दशमलव ९३ विन्दुमा पुगेको हो । यो साता पाँच कारोबार दिनमा बजार दुई कारोबार दिन बढेको छ भने तीन कारोबार दिन घटेको छ ।  पहिलो कारोबार दिन २८ दशमलव ३८ अंकले बढेको बजार दोस्रो कारोबार दिन शून्य दशमलव ८० अंक र तेस्रो दिन ४ दशमलव ७३ अंक घटेको थियो । चौंथो दिन २५ दशमलव ३१ अंक बढेको बजार अन्तिम कारोबार दिन भने १२ दशमलव ६२ अंक घटेको छ ।  यो साताको कारोबारमा परिसूचकमा आएको उतारचढावलाई हेर्दा लगानीकर्ता कम आत्तिएको देखिन्छ । चालू आर्थिक वर्षको अन्तिम कारोबार समयमा लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा रहेको देख्न सकिन्छ । धितोपत्र बजारमा गत सातादेखि नयाँ सात ब्रोकर कम्पनीहरू प्रवेश गरिसकेका छन् । नयाँ ब्रोकर कम्पनीको प्रवेशसँगै बजारमा केही सकारात्मक प्रभाव पर्ने विश्वास लगानीकर्ताको छ ।  रू. २० करोड पूँजी भएका सात ब्रोकर कम्पनीले सीमित कार्य मात्र गर्न पाउनेछन् । यतिबेला एक स्टक डिलर र एक पूर्ण कार्य गर्ने ब्रोकर कम्पनीसहित १० नयाँ ब्रोकर कम्पनीसमेत नेप्सेको सदस्यताको पर्र्खाइमा छन् । रू. १ अर्ब ५० करोड पूँजी भएको स्टक लिडर कम्पनी र रू. ६० करोड पूँजी भएको पूर्ण कार्य गर्ने ब्रोकर कम्पनीले समेत चाडै नै धितोपत्र बजारमा प्रवेश पाउनेछन् ।  आगामी आर्थिक वर्षमा पुराना ५० ब्रोकरसमेत नयाँ ४३ सहित ९३ ब्रोकर कम्पनीले धितोपत्र कारोबारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन् । साथै एक नयाँ स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्जले समेत बजार प्रवेश पाउनेमा यतिबेला सरोकारवालाहरू आशावादी छन् ।  आगामी वर्ष बजारका लागि सुखद हुने आशामा लगानीकर्ता छन् । आगामी आर्थिक वर्षको बोर्डको नीति तथा कार्यक्रम र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा समेत बजारलाई सकारात्मक प्रभाव पर्ने नीति आउनेमा लगानीकर्ता विश्वस्त देखिएका छन् । यी आशा र अपेक्षाबीच यो साता बजार सकारात्मक बन्दा लगानीकर्ताको कुल सम्पत्तिको मूल्य अर्थात् कुल बजार पूँजीकरण रू. ५५ अर्ब ९२ करोडभन्दा बढीले वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३० खर्ब ८ अर्ब ७२ करोड रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन रू. ३० खर्ब ६४ अर्ब ६४ करोड कायम भएको छ ।  नेप्से परिसूचक माथि उक्लिएको यो साता ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स समेत ९ दशमलव शून्य ९ अंक माथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन ३८२ दशमलव १६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साताको अन्तिम कारोबार दिन ३९१ दशमलव २५ विन्दुमा पुगेको हो । विकास बैंक समूहले सर्वाधिक कमाए  यो साताको कारोबारमा विकास बैंक समूहको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । परिसूचकमा आएको वृद्धिका आधारमा विकास बैंक समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिएको हो ।  यो साता विकास बैंक समूहको परिसूचक सर्वाधिक ४ दशमलव १२ प्रतिशत बढेको हो । त्यस्तै लघुवित्तको ३ दशमलव ९० प्रतिशत, वित्तको ३ दशमलव ७७ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ५३ प्रतिशत, म्युचुअल फण्डको ३ दशमलव ४१ प्रतिशत, अन्यको २ दशमलव ६३ प्रतिशत, व्यापारिकको २ दशमलव शून्य ७ प्रतिशत, निर्जीवनको १ दशमलव ७९ प्रतिशत, बैंकिङको १ दशमलव ४७ प्रतिशत, लगानीको १ दशमलव ४० प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ७४ प्रतिशत र जीवन बीमाको शून्य दशमलव २२ प्रतिशत परिसूचक बढेको छ ।  यो साता जलविद्युत समूहको परिसूचक भने शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ ।

युवा पुस्ताको तनाव : विकसित देशका ६१ % युवाहरु लक्ष्य पूरा नहुने चिन्तामा

माघ २५, काठमाडौं । युवा पुस्तालाई जोशिलो अनि जाँगरिलो पुस्ताका रुपमा हेरिन्छ । यो पुस्ताले आँटेपछि गर्न नसक्ने केही छैन भन्ने सोच हामी सबैमा व्याप्त छ । सबैको आशा र सपनाको भारी बोक्ने पुस्ता भएकोले पनि यो पुस्तामा तनाव कहिल्यै घट्दैन ।  पछिल्लो समय काममा पनि युवा पुस्ताहरुमा तनाव र निराशा बढेको एक अध्ययनले देखाएको छ । अमेरिकी व्यवस्थापन परामर्शदाता कम्पनी बियन एन्ड कम्पनीले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणअनुसार युवा पुस्ता विशेषगरी जेनरेशन जेड (सन् १९९७ देखि सन् २०१२ को बीचमा जन्मिएकाहरु) र मिलेनियल (सन् १९८१ देखि सन् १९९६ बीच जन्मिएका) पुस्ताका कामदारहरु पैसासँग सम्बन्धित समस्या र आफ्नो करियर कसरी विकास हुन्छ भन्ने विषयमा धेरै चिन्तित पाइए ।   यस्तो प्रवृत्ति विकसित अर्थतन्त्रमा झनै धेरै पाइएको छ । सर्वेक्षणमा सहभागी ३५ वर्षभन्दा मुनिका करीब ६१ प्रतिशत उत्तरदाताहरु वित्त, रोजगारी सुरक्षा र आगामी १० वर्षमा आफ्नो करियरको लक्ष्य नै पूरा गर्न नसक्ने हो कि भनेर चिन्तित रहेको भेटिए । यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात ३५ वर्ष वा सोभन्दा बढी उमेरका समूहमा भने ४० प्रतिशत मात्रै छ ।   सबै युवा कामदारहरु आफ्नो भविष्यप्रति हताश छैनन् । उदीयमान अर्थतन्त्रमा फरक खालको अनुभव देखिएको छ । उदीयमान बजारमा आफ्नो जीवन अहिलेको पाँच वा १० वर्षपछि राम्रो हुनेछ भनेर आशा गर्नेको संख्या ८१ प्रतिशत रहेको छ । यो मामिला विकसित अर्थतन्त्र निकै पछाडि छ । त्यस्ता देशहरुमा भने भविष्यप्रति ६३ प्रतिशत मात्रै आशावादी पाइएको प्रतिवेदनले देखाएको छ ।  पछिल्लो समय विश्वभर आर्थिक वृद्धिदर सुस्ताइरहेको छ । आर्थिक असमानता बढेको छ । पश्चिमी देशहरुमा घर किन्ने सामथ्र्य घटिरहेको छ । केही यूरोपेली देशमा यूवा बेरोजगारी लाजै मर्दो स्तरमा उक्लिएको छ । स्पेनमा ३७ प्रतिशत युवा बेरोजगार छन्, इटलीमा यो दर २९ प्रतिशत छ भने फ्रान्समा १९ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । यी कारणहरुले गर्दा पनि वित्तीय स्थिरता हासिल गर्नु फलामे ढोका पार गर्नुभन्दा मुश्किल भइरहेको छ । उच्च कर्जा  पछिल्लो समय विकसित देशहरुमा युवा कामदारहरुले उनीहरुभन्दा पुराना पुस्ताका कामदारका तुलनामा कम कमाइरहेको बियनको अध्ययनले देखाएको छ । हरेक नयाँ पुस्तामा आफ्ना मातापिताले कमाएको भन्दा धेरै कमाउने, उनीहरुले बाँचेको भन्दा राम्रो जीवन बिताउने इच्छा हुन्छ । तर अमेरिकामै युवा पुस्ताहरुले यो लक्ष्य हासिल गर्ने सम्भावना दोस्रो विश्व युद्धयताका सबै पुस्तामध्ये सबैभन्दा तल देखिएको प्रतिवेदनले औंल्याएको छ । दक्ष सिप चाहिने पेशामा छिरेका र त्यस्तो खालको सिप नचाहिने पेशामा छिरेका युवा कामदारहरुमाझै आय अन्तर फराकिलो बन्दै गएको छ । प्रतिवेदनअनुसार कलेज तहको पढाई पूरा गरेका करीब ४० प्रतिशत विद्यार्थीहरु उच्च शिक्षा नै नचाहिने काममा जोडिन पुगेका छन् । कलेजको खर्च जोहो गर्ने सामथ्र्य भएकाहरु पनि कर्जाको कहिले नसकिने थुप्रोमाथि बस्नु पर्ने अवस्थामा छन् ।  उच्च शिक्षामा सीमित सरकारी वित्त प्राप्त हुने अमेरिकालगायत स्थानका विश्वविद्यालयहरुले नै विद्यार्थीमाथि थेग्नै नसक्ने कर्जाको भारी बोकाइरहेका छन् । ‘यसमाथि जनसांख्यकी परिवर्तन भएर वृद्ध जनसंख्या बढिरहेका देशमा वृद्ध जनसंख्याको हेरचाह गर्ने भार पनि युवापुस्तामाथि नै थपिएको छ । महामारीका कारण चुलिएको कर्जा घटाउने चुनौती पनि यही पुस्ता माथि छ’, प्रतिवेदनले भनेका छ ।  महामारीको प्रभाव  युवा कामदारहरुले भोगिरहेका यी सबै समस्या र तनाव अनौठो चाँहि होइनन् । कोरोना भाइरसको महामारीले विश्वको सारा अर्थतन्त्र प्रभावित बनाएको छ । यसले समग्रमा श्रम बजारमा पनि विविध प्रभाव पारेको छ । अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले विश्वको रोजगारी आगामी वर्ष कोरोना भाइरसको महामारी पूर्वको स्तरमा फर्किने बताएको छ । आईएलओले हालै यस वर्ष श्रम बजारको पुनःबहालीसम्बन्धी प्रक्षेपण घटाएको छ । यस वर्ष विश्वको बेरोजगारी २० करोड ७० लाखमा पुग्ने अनुमान यसको छ । कोरोना भाइरसको महामारी शुरु हुनु अघि सन् २०१९ मा यो संख्या १८ करोड ६० लाख थियो ।  विश्वभर कार्यघन्टा अझै पनि महामारी पूर्वको स्तरभन्दा २ प्रतिशत तल छ । विकासशील देशहरुमा रोजगारी निरन्तर चपेटामा आइरहेको छ । पुनःबहालीमा सबैभन्दा कठिन समयको सामना गर्ने क्षेत्रमा दक्षिण पूर्वी एशिया, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका देशहरु भएको आईएलओमा वरिष्ठ अर्थशास्त्री सारा एल्डर बताउँछिन् ।  पुरुषको तुलनामा धेरै महिलाले जागिर गुमाउँदा श्रम बजारमा लैंगिक असमानता झनै खराब भएको छ । महामारीका कारण विद्यालय बन्द भएका छन् । छोराछोरीको पठनपाठन ठप्प भएर घरमै बस्नु परेको वा अनलाइन कक्षा नै सञ्चालन भएपनि उनीहरुको रेखदेख गर्न बस्नु पर्ने बाध्यता देखिएपछि पुरुषको तुलनामा महिलाको जागिरमा असर परेको छ । महिलालाई जागिर र घरायशी कामकाजबीच सन्तुलन राख्न सहज होस् भनेर काखे बच्चा र शिशुहरुको स्याहार समेतको ‘हेरचाह अर्थतन्त्र’ मा थप लगानी गर्न जरुरी भएको पनि एल्डरले औंल्याएकी छिन् ।   पछिल्लो सर्वेक्षण विश्वको कुल जीडीपीको ६५ प्रतिशत हिस्सा ओगट्ने अमेरिका, जर्मनी, फ्रान्स, इटली, जापान, चीन, भारत, ब्राजिल, इन्डोनेशिया र नाइजेरियामा गरिएको थियो । करीब २० हजार सहभागी र १००  भन्दा धेरैको अन्तर्वार्तामा आधारमा बियनले पछिल्लो प्रतिवेदन तयार पारेको हो ।  एजेन्सीको सहयोगमा

लाभांश सार्वजनिक गरेका २१ वाणिज्य बैंकहरुमध्ये १० ओटा बैंकको लाभांश बढ्यो

कात्तिक २७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २६ ओटा वाणिज्य बैंकहरुमध्ये शुक्रवारसम्म २१ बैंकहरुले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । अझै ५ ओटा बैंकहरु कृषि विकास बैंक, एनसीसी बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको लाभांश घोषणा गर्न बाँकी रहेको छ । लाभांश सार्वजनिक गरेका २१ ओटा बैंकहरुमध्ये पनि सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, कुमारी बैंक र माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभामार्फत लाभांश पारित गरिसकेका छन् । नेपाल बंगलादेश बैंकले मंसिर २ गते र नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गतेसाधारण सभाको मिति तय गरेको छन् । हालसम्म सार्वजनिक भएका बैंकहरुको लाभांशमध्ये नबिल बैंकको सर्वाधिक रहेको छ भने दोस्रोमा हिमालयन बैंकको रहेको छ । नबिल बैंकले यस वर्ष ३३ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश पारित हुन भने बाँकी रहेको छ । त्यस्तै, दोस्रोमा सर्वाधिक लाभांश प्रस्ताव गरेको हिमालयन बैंकले पनि हालसम्म साधारण सभाको मिति तय गरेको छैन । बैंकको असोज २० गतेको सञ्चालक समितिको बैठकले २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ६२ प्रतिशत नगद लाभांश वितरणको प्रसताव गरेको हो । हालसम्म सार्वजनिक बैंकहरुमध्ये १० ओटा बैंकहरुले अघिल्लो वर्षको भन्दा गत वर्ष बढाएर लाभांश प्रस्ताव गरेका छन् । नबिल बैंकले २ दशमलव ७४ प्रतिशत, हिमालयन बैंकले ६ प्रतिशत, सानिमा बैंकले ४ दशमलव २९ प्रतिशत, नेपाल बैंकले १ प्रतिशत, प्राइम कमर्सियल बैंकले १ दशमलव ६३ प्रतिशत, सिटिजन्स बैंकले ५ प्रतिशत, नेपाल बंगलादेश बैंकले ७ दशमलव शून्य ८ प्रतिशत, माछापुच्छ्रे बैंकले ३ दशमलव ६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ दशमलव २२ प्रतिशत र प्रभु बैंकले २ दशमलव १ प्रतिशत बढी गत वर्षभन्दा यस वर्ष लाभांश वितरण गर्न लागेका हुन् । यस वर्ष लक्ष्मी बैंक र सिद्धार्थ बैंकले गत वर्षकै अनुपातमा लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी बैंकले ११ दशमलव ५ प्रतिशत र सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेका हुन् । गत वर्षभन्दा यस वर्ष नेपाल इन्भेष्टमेण्ट बैंकले २ दशमलव ५ प्रतिशत, एनआईसी एशिया बैंकले ४ दशमलव २१ प्रतिशत, एनएमबि बैंकले शून्य दशमलव ४ प्रतिशत, बैंक अफ काठमाण्डूले २ प्रतिशत, ग्लोबल आइएमई बैंकले २ दशमलव ५ प्रतिशत, मेगा बैंकले शून्य दशमलव ९८ प्रतिशत, एभरेष्ट बैंकले शून्य दशमलव २१ प्रतिशत, कुमारी बैंकले ५ दशमलव ३३ प्रतिशत र सनराइज बैंकले १ दशमलव २८ प्रतिशत कम लाभांश प्रस्ताव गरेका हुन् ।                                                            स्रोतः बैंकहरुद्वारा जारी सूचनामा आधारित