लाभांश सार्वजनिक गरेका २१ वाणिज्य बैंकहरुमध्ये १० ओटा बैंकको लाभांश बढ्यो

कात्तिक २७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २६ ओटा वाणिज्य बैंकहरुमध्ये शुक्रवारसम्म २१ बैंकहरुले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । अझै ५ ओटा बैंकहरु कृषि विकास बैंक, एनसीसी बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको लाभांश घोषणा गर्न बाँकी रहेको छ । लाभांश सार्वजनिक गरेका २१ ओटा बैंकहरुमध्ये पनि सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, कुमारी बैंक र माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभामार्फत लाभांश पारित गरिसकेका छन् । नेपाल बंगलादेश बैंकले मंसिर २ गते र नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गतेसाधारण सभाको मिति तय गरेको छन् । हालसम्म सार्वजनिक भएका बैंकहरुको लाभांशमध्ये नबिल बैंकको सर्वाधिक रहेको छ भने दोस्रोमा हिमालयन बैंकको रहेको छ । नबिल बैंकले यस वर्ष ३३ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश पारित हुन भने बाँकी रहेको छ । त्यस्तै, दोस्रोमा सर्वाधिक लाभांश प्रस्ताव गरेको हिमालयन बैंकले पनि हालसम्म साधारण सभाको मिति तय गरेको छैन । बैंकको असोज २० गतेको सञ्चालक समितिको बैठकले २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ६२ प्रतिशत नगद लाभांश वितरणको प्रसताव गरेको हो । हालसम्म सार्वजनिक बैंकहरुमध्ये १० ओटा बैंकहरुले अघिल्लो वर्षको भन्दा गत वर्ष बढाएर लाभांश प्रस्ताव गरेका छन् । नबिल बैंकले २ दशमलव ७४ प्रतिशत, हिमालयन बैंकले ६ प्रतिशत, सानिमा बैंकले ४ दशमलव २९ प्रतिशत, नेपाल बैंकले १ प्रतिशत, प्राइम कमर्सियल बैंकले १ दशमलव ६३ प्रतिशत, सिटिजन्स बैंकले ५ प्रतिशत, नेपाल बंगलादेश बैंकले ७ दशमलव शून्य ८ प्रतिशत, माछापुच्छ्रे बैंकले ३ दशमलव ६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ दशमलव २२ प्रतिशत र प्रभु बैंकले २ दशमलव १ प्रतिशत बढी गत वर्षभन्दा यस वर्ष लाभांश वितरण गर्न लागेका हुन् । यस वर्ष लक्ष्मी बैंक र सिद्धार्थ बैंकले गत वर्षकै अनुपातमा लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी बैंकले ११ दशमलव ५ प्रतिशत र सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेका हुन् । गत वर्षभन्दा यस वर्ष नेपाल इन्भेष्टमेण्ट बैंकले २ दशमलव ५ प्रतिशत, एनआईसी एशिया बैंकले ४ दशमलव २१ प्रतिशत, एनएमबि बैंकले शून्य दशमलव ४ प्रतिशत, बैंक अफ काठमाण्डूले २ प्रतिशत, ग्लोबल आइएमई बैंकले २ दशमलव ५ प्रतिशत, मेगा बैंकले शून्य दशमलव ९८ प्रतिशत, एभरेष्ट बैंकले शून्य दशमलव २१ प्रतिशत, कुमारी बैंकले ५ दशमलव ३३ प्रतिशत र सनराइज बैंकले १ दशमलव २८ प्रतिशत कम लाभांश प्रस्ताव गरेका हुन् ।                                                            स्रोतः बैंकहरुद्वारा जारी सूचनामा आधारित