थप गहुँ आयातका लागि भारतसँग पत्राचार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन लाख मेट्रिक टन गहुँ आयात अनुमति दिनका लागि भारतलाई पत्राचार गरेको छ । बजारमा आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत तीन लाख मेट्रिक टन गहँ उपलब्ध गराउन पत्राचार गरेको हो । स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा थप परिणाममा गहुँ आयात गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

भारतबाट १७ हजार टन गहुँ ल्याउने म्याद थपियो

विराटनगर । भारत सरकारले पहिलो खेपमा नेपाल निकासी गर्न छुट्ट्याइदिएको ५० हजार मेट्रिक टन गहुँमध्ये व्यापारीको भागमा परेको १६ हजार ९५१ टन मार्च ३१ भित्र ल्याइसक्नुपर्ने गरी समयसीमा तोकिएकोमा भारतीय दूतावासले मे ३१ सम्म समय थपिदिएको छ । उद्योगीको भागमा परेको ३३ हजार ४९ टन गहुँ यसअघि नै नेपाल भित्रिसकेको छ । सोही गहुँको कारण यहाँ आँटा, मैदा र चोकरको मूल्य घटेको छ ।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वितरण गरेको कोटामध्ये २२ व्यापारिक फर्मले गहुँ ल्याउन बाँकी छ । मोरङ व्यापार संघका पदाधिकारीले भारतीय राजदूत नवीन श्रीवास्तव विराटनगर आएको बेला सोको समयसीमा थप गरिदिन आग्रह गरेका थिए । संघले समयसीमा बढाउन भारतीय दूतावासमा पत्राचार पनि गरेको थियो । सोही आधारमा दूतावासले व्यापारीले ल्याउन बाँकी झन्डै १७ हजार टन गहुँ आयातको समयसीमा दुई महीना थपिदिएको हो । नेपाल फ्लोर मिल एशोसिएशनका सचिव तथा मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले भारतीय दूतावासको प्रयासले नेपालमा भइरहेको गहुँको अभाव केही हदसम्म कम गरेको बताए । मार्च ३१ सम्ममा गहुँ आयात नगरे ल्याउनै नसक्ने अवस्था रहेको पनि उनले बताए । नेपालमा अहिले गहुँको मूल्य प्रतिकिलो ४८ रुपैयाँ छ । भारतबाट गहुँ आउनुअघि यसको मूल्य प्रतिकिलो ६५ रुपैयाँ थियो । भारतमा अहिले ३८ रुपैयाँ किलोमा गहुँ पाइन्छ । यसअघि भारतमा पनि गहुँको मूल्य प्रतिकिलो ५० रुपैयाँ जति पर्थ्यो । अबको १० दिनपछि नेपाल र भारतीय बजारमा नयाँ गहुँ आउँछ । त्यसपछि नेपालमा मूल्य प्रतिकिलो ४० रुपैयाँ र भारतमा ३२ रुपैयाँ कायम हुने अपेक्षा एशोसिएशनले गरेको छ । भारतबाट गहुँ आएपछि नेपालमा ९० रुपैयाँ पुगेको प्रतिकिलो आँटाको मूल्य घटेर ७० रुपैयाँ कायम भएको छ । मैदाको मूल्य प्रतिकिलो ८५ रुपैयाँबाट ६७ रुपैयाँमा ओर्लेको छ । चोकरको मूल्य ५६ रुपैयाँ किलोबाट ४४ मा झरेको छ । नयाँ गहुँ बजारमा आएपछि मूल्य अझै तल ओर्लने सचिव बेगवानीले बताए । एशोसिएशनका अध्यक्ष कुमुद दुगडले सरकारले मुलुकमा आगामी दिनमा गहुँ अभाव हुन नदिन भारत सरकारसँग चार लाख टन माग गर्नुपर्ने बताए । नेपाली उत्पादनले मुश्किलले पाँच महीना धान्ने भएकाले बाँकी समयको लागि तत्कालै माग गर्नुपर्ने उनको भनाइ छ । भारत सरकारलाई कोटा तोक्न लगाएर आयात गर्दासम्ममा दुई महीना लाग्ने भएकाले सरकारले समयमै पहल गर्नुपर्ने उनको भनाइ छ ।

गहुँ आयात शून्य, चामल एक तिहाइ कम

वीरगञ्ज । देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट गहुँको आयात शून्य भएको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ६ महीनामा वीरगञ्ज नाकाबाट गहुँ आयात शून्य भएको हो । गत साउनदेखि पुस मसान्तसम्ममा कत्ति पनि गहुँ नभित्रिएको वीरगञ्ज भन्सारको तथ्यांकले देखाउँछ । खाद्यान्न निकासीमा भारतले लिएको नियन्त्रण नीति र सरकारी उदासीनताका कारण आयात शून्य हुन पुगेको हो । आयात रोकिँदा स्वदेशी बजारमा गहुँको उत्पादन मैदा र पिठोको मूल्य आकाशिएको छ । अघिल्लो आवको समीक्षा अवधिमा वीरगञ्जबाट मात्रै ५१ करोड ६१ लाख रुपैयाँ मूल्यको १ करोड ६३ लाख ३४ हजार किलो गहुँ भित्रिएको प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए । रूस–युक्रेन युद्धका कारण विश्वभर खाद्यान्न अभाव हुने सम्भावनालाई ध्यानमा राखेर भारतले खाद्यान्न निकासीमा नियन्त्रणको नीति लिएको छ । निकासी रोकेरै भए पनि मूल्य नियन्त्रण गर्ने नीति भारतको छ । भारतले आफ्नो आन्तरिक बजारमा मूल्य नियन्त्रणका लागि गहुँ, धान, चामल, चिनीलगायत खाद्यवस्तु निकासीमा नियन्त्रणको नीति लिएपछि आयात प्रभावित भएको हो । भारतले नेपाललगायत २० देशलाई गहुँको आवश्यक कोटा माग्न भने पनि सरकारले समय सीमाभित्र कोटा माग गरेन । सरकारले उद्योगीसँग कोटा मागेपछि उद्योगीले आवेदन गरेका थिए । तर, सरकारले यसबारे भारतलाई समयमै पत्राचार गरेन । सरकारले समय सीमाभित्र कोटा नमागेपछि गहुँ आयात ठप्प भएको हो । भारतले हालैमात्र नेपाललाई ५० हजार टन गहुँको कोटा दिएको छ । सरकारले केही उद्योगलाई ३० हजार टन गहुँ आयातको कोटा वितरण गरेर आयातको सुरसार गरिएको छ । कोटाको शर्तअनुसार यो परिमाणको गहुँ आगामी चैतभित्र आयात गरिसक्नुपर्छ । धान र चामलको निकासीमा पनि भारतले २० प्रतिशत अतिरिक्त शुल्क लगाइदिएको थियो । सरकारको आग्रहमा ६ लाख टन धानमा यस्तो शुल्क नलिने भएपछि अहिले धानको आयात उल्लेख्य बढेको छ भने चामल आयात ३० प्रतिशतले खुम्चिएको छ । यो वर्षको ६ महीनामै गतवर्षको समीक्षा अवधिभन्दा ३८ प्रतिशत बढी धान भित्रिएको भन्सारको तथ्यांक छ । उक्त अवधिमा ६ लाख ८१ हजार टन धान भित्रिएको छ । चामल आयात घटेपछि अहिले मूल्य बढेको छ । कनिकाको आयात पनि उल्लेख्य परिमाणमा खस्किएको छ । कनिका आयात ७१ प्रतिशतले घटेको तथ्यांक छ । भारतले कनिकाको निकासी पनि नियन्त्रण गरेको छ । मकै, फापर, कोदो, जौ र जुनेलो आयात पनि निकै घटेको भन्सारको तथ्यांक छ ।