असोज ७, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महीनामा विप्रेषण आप्रवाह घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आवको विवरणअनुसार गत साउन महीनामा विप्रेषण आप्रवाह १८ दशमलव १ प्रतिशतले कमी आई ७५ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव ५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव ५ प्रतिशतले बढेको थियो ।
सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्यरुपमा वृद्धि भई १३ हजार ८०० पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९९ दशमलव २ प्रतिशतले घटेको थियो ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६ दशमलव १ प्रतिशतले वृद्धि भई ११ हजार ६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८० प्रतिशतले घटेको थियो ।
सो अवधिमा खुद ट्रान्सफर आय १६ दशमलव ४ प्रतिशतले कमी आई ८५ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो । रासस