नेपालमा लामो समयदेखि सार्वजनिक बिदा अन्योलको विषय बन्दै आएको छ । अहिले पनि यो विषय चासो र चर्चामै छ र सरकारले आगामी वर्ष २०८० का लागि सार्वजनिक बिदा निर्धारण गर्न काम गरिरहेको बताइएको छ । सार्वजनिक बिदा निर्धारण गर्नुभन्दा अघि त्यसको सिद्धान्त वा नीति स्पष्ट हुनु आवश्यक छ । नेपालमा अत्यावश्यक सार्वजनिक बिदा मात्र दिने, नदिए पनि फरक नपर्ने बिदा कटौती गरी काम गर्ने उत्पादनशील एवं सेवामूलक अवधि बढाउने नीति अपनाउने कि ? अन्य देशको दाँजोमा हामीकहाँ तलब सुविधा कम भएकाले बिदा धेरै दिएर कर्मचारीलाई फकाउने नीति लिने ? देशको अवस्थाप्रति संवेदनशील हुने हो भने पहिलो नीति नै सही बाटो हुन्छ ।