असुरक्षाको कारण देखाउँदै बन्द गरिएको सप्तकोसीमा सञ्चालित जेटबोट पुनः सञ्चालनमा आएको छ । प्रदेश सरकारको पहलपछि जेटबोट मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो ।
जेटबोट सञ्चालनसम्बन्धी कानुनको अभाव र असुरक्षा बढेको भन्दै व्यवसायीले दुई साता अघिदेखि सेवा बन्द गरेका थिए । जेटबोट सञ्चालनसम्बन्धी कानुन बनाउने र सुरक्षा प्रदान गर्ने प्रदेश सरकारको आश्वासनपछि पुनः सञ्चालनमा ल्याइएको हो । सुनसरीको चतराबाट सप्तकोसी नदीमा सञ्चालन हुँदै आएको मोटरबोट तथा जेटबोटहरूले सेवालाई पुनः निरन्तरता दिएका छन् ।