काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो ।
यससँगै २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३९ जना पुगेको छ ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए ।
सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक सङ्क्रमण देखिएको हो ।