काठमाडौं । पोखराको लेकसाइडमा पाँचतारे होटल बनाइरहेको बाराही सेदी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँ बरावरको आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो, जसअनुसार उक्त होटेलले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
होटलले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।
विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बाराही सेदीका तर्फबाट कार्यकारी सञ्चालक विप्लव पौडेल र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् ।
अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।
हाल करीब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको उक्त होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्रगतिमा निर्माण भइरहेको छ । होटलमा १० ओटा प्रिसिडेन्सियल स्विटसहित १५० कोठा र ११ ओटा सर्भिस हाउस रहनेछन् ।
पोखराको लेकसाइडमै पाँचतारे होटलको माग बढ्दै गएकाले क्यासिनो सहितको सुविधा सम्पन्न होटल बनाउन लागिएको कम्पनीले जनाएको छ । १ हजार २०० क्षमताको हलसमेत रहने यो होटलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायतका आकर्षण हुनेछन् ।
विगत ३० वर्षदेखि पर्यटन व्यवसायमा संलग्न बाराही ग्रुपले बाराही सेदीको अलावा पोखराकै लेकसाइड होटल, काठमाडौंको ठमेलमा होटल बाराही, चितवनको मेघौलीमा बाराही जंगल लज सञ्चालन गरिरहेको छ ।
बाराही ग्रुपले होटल आवास पोखरा, सराङकोट माउन्टेन लजका अलावा लेकसाइडमा 'द व्यञ्जन रेस्टुरेन्ट' र खपौदीमा 'द बिच रेस्टुरेन्ट' पनि सञ्चालन गरिरहेको छ ।
त्यस्तै पोखरामा आउने पर्यटकलाई पोखरा भ्याली र हिमाली भेगमा हवाई टुर गराउन पोखरा अल्ट्रालाइट पनि बाराही ग्रुपकै नेतृत्वमा सञ्चालन भइरहेको छ ।