काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । अब सामूहिक लगानी कोष र कर्मचारीसमेत सर्वसाधारणमा कम्पनीले आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ८७ हजार ६७० कित्ता शेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको २ लाख ८० हजार कित्ता शेयरमध्ये वितरण हुन नसकेको १ लाख ९२ हजार ३३० कित्ता शेयरसमेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।
सर्वसाधारणमा कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर वितरण हुनेछ । योमध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्रीको अवधि जेठ २२ गतेसम्म तोकिएको छ । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा जेठ ३२ गतेसम्म विक्री समय लम्बिनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूणर् शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीले खोटाङ जिल्लामा ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त आयोजनाबाट २०७७ साल असोज १४ गतेदेखि व्यापारिक विद्युत् उत्पादन गर्दै आएको हो । आयोजनाको कुल लागत रू. ६४ करोड ६५ लाख रहेको छ भने प्रतिमेगावाट लागत रू. २१ करोड ५५ लाख छ । यस आयोजनाको विद्युत् उत्पादन अनुमति वहाल रहने अवधि २९ वर्ष ११ महिना बाँकी रहेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्