जनकपुरबाट सञ्चालित बिरामी बोक्ने एम्बुलेन्सले आफूखुसी भाडा असुल गर्न थालेका छन्। ठाउँअनुसार एम्बुलेन्सको भाडादर निर्धारण गरिएको भए पनि यहाँका एम्बुलेन्सले एकै स्थानबाट फरकफरक भाडा लिने गरेका हुन्। एम्बुलेन्स सञ्चालक समिति धनुषाले दूरीअनुसार एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ। पछिल्लो पटक २०७८ जेठ ४ गते जिल्ला प्रशासन कार्यालय धनुषाको अध्यक्षतामा बसेको बैठकले जनकपुरबाट सञ्चालित एम्बुलेन्सको भाडादर निर्धारण गरेको थियो। नेपाल रेडक्रस सोसाइटी धनुषा, जिल्ला स्वास्थ्य कार्यालय धनुषा र एम्बुलेन्स चालकलगायतको प्रतिनिधित्वमा बैठक बसेको थियो।