काठमाडौं (अस) सनराइज बैंकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा सञ्चालन गरिरहेको छ । बैंकले डिजिटल बैंकिङमा बढीभन्दा बढी सर्वसाधारणको पहुँच पुर्याउने उद्देश्यसहित भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाका ग्राहकका लागि को–ब्रान्डेड डेबिट कार्ड जारी गर्न पायोनियर एसोसिएट्स प्रालि (कोसिस सहकारी सफ्टवेयर), आईमार्क प्रालि तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स्सँग सहकार्य गरेको छ ।
सहकार्यपछि सहकारी संस्थाका ग्राहकलाई डेबिट कार्ड जारी गर्ने परियोजना बुधबारबाट सञ्चालनमा ल्याइएको बैंकले बताएको छ । परियोजनाअन्तर्गतका पूर्वतयारीस्वरूप को–ब्रान्डेड कार्ड जारी गर्न भिसा इन्टरनेसनलबाट समेत सहमति प्राप्त गरिसकेको बैंकले जनाएको छ । बैंकले पहिलो चरणमा कार्ड जारी गर्न विभिन्न चार सहकारी संस्थासँग सम्झौता गरिसकेको छ भने प्राविधिक सेवाप्रदायकको सहकार्यमा सिस्टम तयार गरी परीक्षणसमेत भइसकेकोे छ ।
यस कार्यक्रमबाट बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका सीमान्तकृत बहुुसंख्यक जनसंख्या लाभान्वित हुने हुँदा वित्तीय समाबेशीतामा योगदान पुग्ने र डिजिटल कारोबारको कारणले आर्थिक पारदर्शितामा समेत वृद्घि भई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
भिसा ब्रान्डअन्तर्गत सहकारी संस्थाका ग्राहकलाई भिसा डेबिट कार्ड जारी गर्ने यो परियोजना समग्र दक्षिण एसियामै पहिलो अभ्यास भएको दाबी बैंकको छ ।
परियोजनाअन्तर्गत जारी गरिने कार्डमार्फत हुने कारोबारका लागी बैंकले मुख्यतः सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्नेछ । यसका अतिरिक्त कार्ड जारी गर्न सम्बन्धित भिसा इन्टरनेसलनसँग आवश्यक पहल गरी बीआईएन (बैंक आइडेन्टीफिकेसन नम्बर) उपलब्ध गराउने तथा कार्ड पर्सनलाइज्ड गर्ने कामसमेत बैंकले गर्नेछ । परियोजनाअन्तर्गत जारी हुने कार्डका लागि स्विचिङ सेवा प्रदान गर्ने कार्य नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सले गर्ने बैंकले जनाएको छ ।
परियोजनाअन्तर्गत जारी हुने कार्ड बैंक स्वामित्वको बीआईएनअन्तर्गत जारी हुनेछन् भने ती कार्ड सम्बन्धित सहकारी संस्थामा रहेको कार्डवाहकको खातामा सोझै लिंकेड हुनेछन् ।