काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको छ । कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट असार १५ गते अनुमति पाएको हो ।
कम्पनीले १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
कम्पनीले शुरूमा सेबोनमा आईपीओ निष्कासनको अनुमति माग्दा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो । पछि फेरि कम्पनीले प्रिमियम मूल्य बढाउँदै १९९ थपेर प्रतिकित्ता २९९ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति मागेको थियो ।
सेबोनले भने कम्पनीलाई अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी अनुमति दिएको छ । कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रिमियमबापत कम्पनीले रू. १ अर्ब ८८ करोड भन्दा बढी उठाउनेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड छ । आईपीओ निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब पुग्नेछ ।