माघ ७, इन्डोनेशिया । इन्डोनेशियामा एक युवकले आफ्नो सेल्फी नन–फन्जिबल टोकन (एनएफटी)का रुपमा बेचेर डलरमा लखपति बनेका छन् ।
सेमाराङका कम्प्युटर साइन्सका विद्यार्थी २२ वर्षिय सुल्तान गुस्ताफ अल घोजालीले आफ्ना करीब १ हजार सेल्फीलाई एनएफटीमा परिणत गरेर ओपनसी एनफटीमा बेचेका थिए ।
एनएफटी भनेको कला, संगितलगायत संग्रह गरेर राख्न सकिने डिजिटल वस्तु हुन् । यसले ब्लकचेन प्रविधिमा काम गर्छ । यसको नक्कल गर्न सकिदैन, जोकोहीले हेर्न सक्छ । तर वास्तविक क्रेताले मात्रै आफूलाई यसको ‘आधिकारिक’ मालिक भन्न सक्छ ।
घोजालीले सन् २०१७ देखि २०२१ सम्म आफ्नो सेल्फी खिचेका थिए । आफ्नो स्नातक तहको पढाईको क्रममा यात्रा कस्तो हुन्छ भनेर हेर्नका लागि भनेर उनले सेल्फी खिच्न शुरु गरेका थिए । उनका सेल्फीहरु कि बसेको वा कप्युटर अगाडि उभिएको अवस्थामा छन् । उनले पछि यिनै सेल्फीहरुलाई एनएफटीमा परिणत गरे अनि सन् २०२१ को डिसेम्बरमा ओपन सिमा अपलोड गरे ।
उनले शुरुमा हरेक एनएफटीको लागि ३ डलर मूल्य तोकेका थिए । तर उनका केही सेल्फी एनएफटी शून्य दशमलव ९ इथेरियममा पनि विकेको छ । यसको मूल्य करीब ३ हजार डलर (करीब २ लाख २२ हजार रुपयाँ) हुन आउँछ ।
‘तपाईहरुले मेरो फोटो पल्टाउन वा जे पनि गर्न सक्नु हुन्छ, तर कृपया यसको दुरुपयोग चाँहि नगर्नुस् है । नत्र मेरा आमाबुबा मप्रति निराश हुनेछन्, तपाईहरुले मेरो फोटोको ख्याल गर्नहुन्छ भन्नेमा म विश्वस्त छुँ,’ ट्विटरमा घोजालीले भनेका छन् ।
सेल्फी बेचेर कमाएको पैसाबारे आफ्नो आमाबुबालाई भन्ने हिम्मत आफूसँग नभएको उनले एएफपीसँगको अन्तवार्तामा भनेका थिए । उनको ट्विटरमा २४ हजारभन्दा धेरै फलोअर छन् । पछिल्लो समय एनएफटी किन्न मानिसहरुले हजारौं डलर बोलकबोल गरिरहेका छन् । केही त दशौं लाख डलरमा पनि विक्री भइरहेका छन् । क्वाइन्टेलिग्राफले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानिसहरुले अहिलेसम्म एनएफटीमा १० अर्ब डलरभन्दा धेरै खर्च गरिसकेका छन् । एजेन्सी