केही दिनदेखी लगातार परेको वर्षाका कारण माटोको भाँडा बनाउने कुमालेले भाँडा सुकाउन पाएका छैनन् । मेसिनमा माटोलाई कुँदेर भाँडाको आकार दिइसकेपछि केही समय घाममा सुकाएर भट्टी पोल्नुपर्ने भए पनि झरीका कारण दाउराको जोहो गर्न नपाउँदा भाँडाले मौसम कुरेर बसेका छन् । दाङको गढवा गाउँपालिकाको वडा नम्बर १ बडहरा, पत्रिङगा, मलमला गाउँमा कुमाल समुदायले व्यावसायिक रुपमा माटाको भाँडा बनाउने गर्दछन् ।
अहिले कुमाल समुदायले हरितालिका (तिज), दसैँ, तिहार लगायतका पर्वलाई लक्षित गरी निर्माण गरेका पाला, खुत्रुके, गमला, पटेला, ठेकुवा, करुवा, पैनी सुक्न पाएका छैनन् । लगातार झरी पर्दा बाहिर काम गर्न नमिल्ने हुँदा अहिले कुमालेहरु माटाका भाँडा बनाउन व्यस्त छन् । गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी राजकुमार थारु कुमालले पानीमा घरबाहिर काम गर्न नमिल्ने हुनाले घरमै बसेर माटाका भाँडा बनाउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, मौसम खुल्यो भने सुकाउने र पकाउने काम गर्छौ, यो समयमा जति सकिन्छ बनाउने तर्फ लागेका छौँ । विशेषगरी अहिले आफूहरू पाला, गमला बनाउन तर्फ केन्द्रित भएको कुमालले जानकारी दिनुभयो । चाडपर्वहरु नजिकिँदै गर्दा कुमाल समुदायलाई माटाका भाँडा बनाउन भ्याई नभ्याई छ ।