माघ ३, काठमाडौं । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभामा विशेष अतिथि तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निर्देशक लक्ष्मी जोशीले हस्तकलाको निकासीका लागि सरकारले गरेको सहयोगको प्रशंसा गर्दै हस्तकला व्यवसायीहरु एकजुट भएर यसको प्रवर्द्धन गर्न हातेमालो गर्न आवश्यक रहेको बताइन् ।
यसैगरी नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले हस्तकलाको व्यवसायलाई कोभिड - १९ पूर्वको अवस्थामा लैजानका लागि हस्तकलाका उद्यमी र व्यवसायीहरुलाई सहुलियतपूर्ण सुविधा तथा नेपाली कपडाबाट बनेका कार्यालय पोसाक प्रयोग गर्न र उपहारलगायत कार्यालयको प्रयोगमा आउने सामानमा नेपाली हस्तकलाको अनिवार्य उपयोग गर्नुपर्ने नीति व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
साधारण सभाले अध्यक्षमा मीरा भट्टराई, उपाध्यक्षद्वयमा किरण कुमार डंगोल र रीता भण्डारी महासचिवमा अनन्त गुप्ता, कोषाध्यक्षमा मलिका श्रेष्ठ, सचिवमा रमेशलाल श्रेष्ठ र कार्यसमिति सदस्यमा दिव्यचन्द्र आचार्य, अनु श्रेष्ठ र विक्रम सिं महर्जनलाई निर्वाचित गरेको छ ।
सभामा वरिष्ठ कलाकार चिनीकाजी ताम्राकारलाई २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।
सोही सभा अघि आयोजित अन्तरक्रिया कार्यक्रममा स्रोतव्यक्ति एवं राष्ट्रिय आविष्कार केन्द्रका संयोजक डा महाविर पुनले मरुभूमिको देश इजरायल अनुसन्धान तथा विकासबाट विकसित देश भइसकेको भन्दै भौगोलिक रुपमा हराभरा, नदीनाला, वनजंगल प्रशस्त भएपनि नेपालचाहीं उद्यमीका लागि मरुभूमि सरह भएको बताए ।
उनले हामीकहाँ करीब ७ प्रतिशत निर्यात हुन्छ तर ९३ प्रतिशत आयात हुने भएकोले उद्यमी र उद्यमशीलता बढाउनुको विकल्प नभएको भन्दै अनुसन्धान र विकासमा आविष्कार केन्द्र लागि परेको बताए ।
सोही अवसरमा मिलन नेपालकी प्रबन्ध निर्देशक शारदा रिजाल अधिकारीले राष्ट्रिय आविष्कार केन्द्रका संयोजकलाई १ लाख रुपैयाँ हस्तान्तरण गर्दै केन्द्रले देशका लागि पुर्याएको योगदानबाट विशेष ऊर्जा र प्रेरणा प्राप्त भएकोे बताइन् ।