काठमाडौं । गत साताको कारोबारमा नेप्से परिसूचक २० दशमलव शून्य २ अंकले घटेर १ हजार ८६९ दशमलव ७३ विन्दुमा झरेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ८८९ दशमलव ७५ विन्दुमा रहेको थियो ।
गत साता पाँच कारोबार दिनमध्ये एक दिन सार्वजनिक बिदा परेकाले चार कारोबार दिनमात्र धितोपत्र दोस्रो बजार खुला भएको थियो । चार कारोबार दिनमा नेप्से परिसूचक एक दिन मात्र बढेको छ । पहिलो कारोबार दिन १९ दशमलव शून्य ९, दोस्रो कारोबार दिन ४ दशमलव २६ र तेस्रो कारोबार दिन ९ दशमलव ४१ अंकले घटेको नेप्से चौथो कारोबार दिन भने १२ दशमलव ७३ अंकले बढेर बन्द भएको हो ।
हाल नेपालमा एकमात्र धितोपत्र दोस्रो बजार सञ्चालनमा रहेको छ । धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन नियामक निकाय नेपाल धितोपत्र बोर्डले अर्को स्टक एक्सचेन्ज बजारमा भित्र्याउने तयारी गरेको छ । नयाँ स्टक एक्सचेन्जका लागि तीन ओटा आवेदन बोर्डले प्राप्त गरिसकेको छ । हाल सञ्चालनमा रहेको नेप्सेलाई नै थप प्रभावकारी बनाउनका लागि अर्को निजी क्षेत्रको स्टक एक्सचेन्ज भित्र्याउन लागेको बोर्डले प्रष्ट पारेको छ ।
नयाँ स्टक एक्सचेन्ज भित्रिने तयारी भइरहँदा नेप्सेले पनि नयाँ योजनाहरू अघि सारिरहेको छ । नेप्सेले सर्वसाधारणमा ३० प्रतिशत आईपीओ जारी गर्ने योजना विगतका वर्षदेखि नै बनाए पनि त्यस योजनालाई आगामी दिनमा जतिसक्दो चाँडो पूरा गर्ने तयारी गरेको छ । नयाँ इन्डेक्सको रूपमा नेप्से-३० इन्डेक्ससमेत थप गर्ने तयारीमा नेप्से रहेको छ ।
आम लगानीकर्तालाई कारोबारमा फरकपन ल्याउनका लागि नेप्सेले नयाँ योजनाहरू अघि सारिरहेको अवस्थामा गत साताको अन्तिम कारोबार दिनको बजारलाई हेर्दा लगानीकर्तामा आशा जागेको अनुमान लगाउन सकिन्छ । निरन्तर बजार घटिरहेको अवस्थामा पछिल्लो समय लगानीकर्ताको आशा तथा भरोसा लामो समय भने टिक्न नसकेको देखिन्छ । दुई दिन बजार लगातार बढेको खण्डमा समेत लगानीकर्ताले नाफा बुक गरिहालेको अवस्था पछिल्लो समय रहेको छ ।
गत साता चार कारोबार दिनमा रू. २ अर्ब ९९ करोड बराबरको १ करोड २ लाख ३२ हजार ३७५ कित्ता धितोपत्र कारोबार भएको छ । अघिल्लो साता पाँच कारोबार दिनमा रू. ४ अर्ब ५ करोड बराबरको १ करोड २४ लाख ४१ हजार ८१६ कित्ता धितोपत्र कारोबार भएको थियो । गत साता अघिल्लो साताको तुलनामा रू. १ अर्ब ५ करोड बराबरको २२ लाख ९ हजार ४४१ कित्ता कम धितोपत्र कारोबार भएको हो ।
औसतमा कारोबार रकम रू. ६ करोड ५ लाखले घटेको छ भने ६९ हजार ७३० कित्ता औसतमा बढी धितोपत्र कारोबार भएको छ । बजारमा देखिएको उतारचढावसँगै लगानीकर्ताले गत साताको बजारबाट रू. २८ अर्ब ७८ करोड ३६ लाख बराबरको सम्पत्ति गुमाएका छन् । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. २७ खर्ब ५३ अर्ब ४४ करोड रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन रू. २७ खर्ब २४ अर्ब ६६ करोड कायम भएको हो ।
गत साता निर्जीवन बीमा समूहको मात्र परिसूचक बढ्यो
गत साता निर्जीवन बीमा समूहबाहेक सबै समूहगत परिसूचक घटेका छन् । निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ५७ प्रतिशत बढेको हो । गत साता जलविद्युत्को परिसूचक सर्वाधिक २ दशमलव ७२ प्रतिशत घटेको छ ।
त्यस्तै व्यापारिकको २ दशमलव ६५, लघुवित्तको १ दशमलव ५५, अन्यको १ दशमलव ४४, होटल तथा पर्यटनको १ दशमलव १७, जीवनी बीमाको १ दशमलव शून्य १, विकास बैंकको शून्य दशमलव ७७, बैंकिङको शून्य दशमलव ६८, वित्तको शून्य दशमलव ६२, लगानीको शून्य दशमलव ६०, म्युचुअल फण्डको शून्य दशमलव २९ र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ११ प्रतिशत परिसूचक घटेको हो ।
स्रोत : नेप्से