काठमाडौं । सरकारले भारतसँग जीटूजी प्रक्रियामार्फत खरीद गरेर ल्याएको युरिया मल सरकारी गोदाममा थन्किँदा किसानले गहुँ बालीमा ‘टप ड्रेसिङ’ गर्न पाएका छैनन् । सरकारले ल्याएको तीन र्याक युरिया मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा आइपुगेको करीब एक साता भइसकेको छ । बाँकी मल आउने क्रममा छ । सरकारसँग मल मौज्दात भए पनि आफूहरूले नपाएको गुनासो किसानले गरिरहेका छन् ।
जीटूजी प्रक्रियाबाट पहिलो खेपमा भारतले दिएको ३० हजार मेट्रिक टन युरियामध्ये सोमवारसम्म तीन र्याक वीरगञ्ज आइपुगेको छ । अरु जोगबनी आइपुगेको कृषि सामग्री कम्पनी लिमिटेडका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कम्पनीमा व्यवस्थापन टिम नयाँ आएकाले भर्खरै आइपुगेको मलको विक्रीवितरण खोल्न केही समय लागेको हो । विक्रीवितरण खोल्न ढिलो हुँदा किसानले नपाएको उनले स्वीकार गरे ।
सरकारले मल ल्याएर राखे पनि आफूहरूले गहुँबालीमा टप ड्रेसिङ गर्न नपाएको सप्तरीका अगुवा किसान भुवनेश्र यादवले गुनासो गरे । ‘सरकारले धमाधम युरिया मल भित्र्याइरहेको खबर सुनेका छौं तर गहँुबालीमा हाल्न गाउँमा कोही पनि किसानले पाएका छैनन्,’ यादव भन्छन्, ‘यति बेला युरिया हाल्न नपाए उत्पादन राम्रो हुँदैन । किसान दिनहुँजसो सहकारीमा पुगेर फर्किन्छन् । सहकारीमा पनि मल छैन ।’
भारतबाट ल्याउन लागिएको ३० हजार मेट्रिक टन युरियामध्ये २५ हजार ५ सय टन वीरगञ्ज र बाँकी ४ हजार ५ सय टन विराटनगर भन्सारबाट नेपाल आउनेछ । वीरगञ्जबाट आउने मलमध्ये ११ हजार ५ सय टन वीरगञ्ज प्रादेशिक कार्यालयमा पठाउने तयारी छ । त्यसैगरी १० हजार टन भैरहवा प्रादेशिक कार्यालयमा र ४ हजार ५ सय टन विराटनगर पठाउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।
तत्कालीन कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवको पालामा नेपालले गतवर्ष फागुन दोस्रो साता भारतसँग जीटूजीमार्फत पाँच वर्षमा कुल ९ लाख ३५ हजार टन रासायनिक मल ल्याउने गरी सहमति भएको थियो । सहमतिपत्रमा नेपालका तर्फतबाट मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा र भारतको तर्फबाट भारत सरकारको रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले हस्ताक्षर गरेका थिए ।