काठमाडौं (अस) । शैक्षिक परामर्श सेवाका लागि खोलिएका कन्सल्टेन्सीले वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी गर्ने गरेको पाइएको छ । इन्टरनेशनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्रालि र जिनियस एजुकेशन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालिले एक महीना अवधिमा १४४ जनाबाट साढे ४ करोड रुपैयाँ उठाएको पाइएपछि वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।
शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थामध्ये तीनओटाविरुद्ध न्यायाधिकरणमा मुद्दा दायर गरिएको पौडेलले जानकारी दिए । पछिल्लो एक महीनामा दाबी र सोको हर्जनासहित ७ करोड रुपैयाँ असुलउपर गराउन मुद्दा दायर गरिएको उनले बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणमा शून्य सहनशीलताको नीति लिइएको दाबी गरे । श्रमसचिव एकनारायण अर्यालसहित बिहीवार विभागको आकस्मिक अनुगमन गर्दै मन्त्री श्रेष्ठले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्ने संयन्त्र बनाइने बताएका छन् ।