प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएको तीन साता बितेपछि मात्रै ठूला राजनीतिक दलहरूले भटाभट घोषणापत्र सार्वजनिक गरेका छन् । निर्वाचन आउन तीन साता पनि बाँकी नरहँदा गरिएका यी घोषणाहरू संकल्पसूचीभन्दा बढी सपनासूची अर्थात् इच्छासूचीजस्ता देखिन्छन् । लाग्छ— आफू सरकारमा पुगेर गर्नभन्दा पनि दलहरूले राम्रो सुनिने गरी भन्नका लागि घोषणापत्र ल्याएका हुन् । यो कुनै आरोप होइन, विगतमा सरकारमा बसिसकेका दलहरूले प्रदर्शन गरेको कार्यसम्पादनले बताएको यथार्थ हो ।