फागुन १३ देखि सर्वसाधारणमा आईपीओ जारी गर्दै सर्वोत्तम सिमेन्ट, प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा मूल्यमा खरीद गर्न सकिने

काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले यसअघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि र दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उद्योग प्रभावित स्थानीयसँगै खानी उत्खतत् क्षेत्रका स्थानीयमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा कम्पनीले २४ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । त्यस्तै सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको ३६ लाख कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता र आयोजना प्रभावित स्थानीयमा २ लाख ४८ हजार ४७० कित्ता आईपीओ बाँडफाँट भएको हो । अब तेस्रो चरणमा कम्पनीका कर्मचारी र सामूहिक लगानीकोष समेत सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी कम्पनीले गरेको हो । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दा तय भएको ४०१ रुपैयाँ कटअफ मूल्यमा १० प्रतिशत छूट गरी सर्वसाधारणमा प्रतिकित्ता ६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले आईपीओ विक्री गर्न अनुमति पाएको हो ।  उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्याएको शेयरमध्ये विक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयरसमेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो । तेस्रो चरणमा विक्री गरिने शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी कम्पनीका कर्मचारीका लागि १ लाख ५४ हजार २२७ कित्ता आईपीओ सुरक्षित गरिएको छ । यीबाहेक बाँकी २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । बुक बिल्डिङ विधिमार्फत विक्रीमा आएको आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता माग गर्नुपर्ने व्यवस्था छ । कम्पनीको आईपीओ खरीदका लागि अधिकतम सीमा १० हजार कित्ता तोकिएको छ । यो आईपीओ विक्री अवधि छिटोमा फागुन १६ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र मागबमोजिम आवेदन प्राप्त नभएमा भने ढिलो अवधि फागुन २७ गतेसम्म विक्री लम्बिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ भने सहनिष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमा नै सुरक्षित रूपले वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमता रहेको संकेत गर्ने ईक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासीको सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ । गत आर्थिक वर्ष ०७९/८० को वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको जगेडा तथा कोषमा ३ अर्ब ४५ करोड ६९ लाख रुपैयाँभन्दा बढी सञ्चित रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २८ पैसा र प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ३६ पैसा छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

सर्वोत्तम सिमेन्टको आईपीओ खरीदका लागि आजसम्म मात्र आवेदन दिन सक्ने

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि विक्रीमा ल्याएको आईपीओ उद्योग प्रभावित स्थानीय र खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीयले आजसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आईपीओमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित स्थानीयसँगै खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ विक्री गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने माघ १० गतेसम्म आईपीओ विक्री गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयमा ९ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा २ लाख ६७ हजार कित्ता आईपीओ पहिलो चरणमा विक्री गरेको हो । स्थानीयले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड र सह निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले नेपालमा पहिलो पटक बुक विल्डिङ विधिबाट आईपीओ जारी गरेको हो । यस अघि योग्य संस्थागत लगानीकर्ताका लागि प्रतिकित्ता ४०१ रूपैयाँमा आईपीओ विक्री गरेको कम्पनीले दोस्रो चरणको आईपीओको मूल्य भने प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आईपीओ विक्री गरेको हो । संस्थागत लगानीकर्तामा विक्री भएको मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा दोस्रो चरणको आईपीओ विक्री गरिएको हो । यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ ।

रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न पायो स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले पुस १९ गते कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति दिएको हो । यस कम्पनीले आइपीओ निष्कासन गर्न बोर्डमा २०७९ असार ३१ गते निवेदन दिएको थियो । लामो समयपछि कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।  अनुमति पाएसँगै पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन हुनेछ । कम्पनीको शेयरको ४० प्रतिशतले हुने ७ लाख ७० हजार ६४६ कित्ता शेयर बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरिनेछ ।  कम्पनीको शेयरको आशय मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म छ । यही रेन्जमा रहेर योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन दिनु पर्नेछ । धितोपत्र पूर्ण रूपमा विक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गर्नुपर्छ । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छूट दिई धितोपत्र निष्कासन गर्नुपर्ने छ ।  योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरिएको शेयर बाँडफाँट भएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।  पवन गोल्यान कम्पनीका कार्यकारी अध्यक्ष हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा छ । कम्पनीले अन्तरराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्नलगायत सिउने धागो विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि सञ्चालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।  रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने दोस्रो कम्पनी बनेको छ । सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।

सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई आईपीओ जारी गर्न बोर्डमा दियो निवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आईपीओ विक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।  मङ्सिर १८ गते प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले ३६ लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डमा निवेदन दिएको हो । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । नेपालमा पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट यस कम्पनीले आईपीओ विक्री गरेको हो । योग्य संस्थागत लगानीकर्तामा भने प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले मङ्सिर ६ गतेदेखि १० गतेसम्म पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता आईपीओ विक्री गरेको थियो । योग्य संस्थागत लगानीकर्तामा जारी भएको शेयरको विक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसा तोकिएको थियो । मङ्सिर ११ गते तोकिएको अवधिभित्र योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त बोलपत्र खोली निर्धारण भएको ४०१ रुपैयाँ कटअफ मूल्यमा आईपीओ बाँडफाँट गरिएको हो । बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्तामा निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा आईपीओ जारी हुनेछ । सोही व्यवस्थाबमोजिम कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत दरको २४ लाख कित्ता आईपीओ योग्य संस्थागत लगानीकर्ताहरूमा विक्री गर्न कम्पनीले बोर्डबाट स्वीकृति पाएको थियो । दोस्रो चरणमा विक्री हुने कुल कित्ता आईपीओमध्ये ८ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दालाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ ।  यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ ।

पूँजीबजारमा सुधार

नेपालको शेयरबजार परिसूचक नेप्सेको उच्चतम विन्दु ३२ सयबाट ओरालो लागिरहेको शेयरबजार उकालो लाग्न सकेको छैन । एकथरी लगानीकर्ताले सीमित लगानीकर्ता भएकाले आपूर्ति बढ्दा बजार उकालो लाग्न नसकेको भनी शेयरको प्रारम्भिक निष्कासन बन्द गर्न माग गरेपछि नियामक नेपाल धितोपत्र बोर्डले शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) का लागि अनुमति दिएको छैन ।  शेयरको आपूर्ति रोक्न माग गरेकाले भन्दा पनि नियमसंगत तरिकाले आईपीओको अनुमति दिँदा विभिन्न आलोचना भएकाले अहिले आईपीओ स्वीकृतिमा जानाजान ढिलाइ गरेको देखिन्छ । खासगरी पछिल्लो समयमा प्रिमियम थपेर आईपीओ निष्कासनका लागि स्वीकृति दिएकामा आलोचनाको स्वर सुनिने गरेको छ । आम्दानी नै नभएको कम्पनीलाई पनि प्रिमियममा आईपीओ निष्कासन गर्न दिएको भनी लगानीकर्ताले आलोचना गर्ने गरेका छन् । तर, बोर्डले प्रक्रिया पूरा गरेर आएका कम्पनीलाई आईपीओको अनुमति दिनु अन्यथा देखिँदैन । शेयर कारोबारको प्रकृति नै जोखिमपूर्ण हुन्छ । त्यसैले प्रिमियम मूल्य कति हुनुपर्ने, कतिचाहिँ ठीक हो र कतिचाहिँ बढी हो भन्नेमा कुनै आधार छैन । आईपीओ जारी गर्दा कम्पनीले आह्वानपत्रमा सबै विवरण प्रकाशित गरेको हुन्छ । त्यसो हुँदा विवरणपत्र हेरेर मात्रै आईपीओमा लगानी गर्नुपर्छ । आईपीओ भन्नेबित्तिकै जुन कम्पनीको पनि भरिहाल्नुपर्छ भन्ने लगानीकर्ताको सोच गलत हो । आईपीओ भर्न वा नभर्न लगानीकर्ता स्वतन्त्र हुन्छ । हो, आह्वानपत्रमा गलत जानकारी दिएको छ भने त्यसमा कम्पनीलाई कारबाही हुनुपर्छ । आईपीओ किनेको मूल्यभन्दा बढीमा विक्री हुनुपर्छ भन्ने केही पनि छैन । कतिपय कम्पनी आईपीओ जारी गरेपछि सञ्चालन हुन नसकेर बन्द पनि हुन सक्छन् । सञ्चालनमा आएपछि केही वर्षमा बन्द पनि हुन सक्छन् । नेप्सेमा सूचीकृत कैयौं कम्पनी बन्द भएका छन् र तिनको शेयर प्रमाणपत्र कागजको खोस्टो बनेका छन् । त्यसैले यो तथ्य लगानीकर्ताले भुल्नु हुँदैन ।  शेयरबजार शतप्रतिशत मुनाफा सुनिश्चित भएको क्षेत्र होइन, यो ज्यादै जोखिमयुक्त लगानी हो । नेपालमा भने शेयरमा लगानी गर्दा नाफा मात्रै हुन्छ भन्ने सोच हाबी छ । अर्कोतर्फ प्रिमियम थपेर आईपीओ विक्री गर्न दिनुभन्दा मूल्यान्वेषण गरेर त्यसअनुसार आईपीओ जारी गर्नु वैज्ञानिक हुन्छ । अहिले सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट मूल्यान्वेषण गरी आईपीओ जारी गर्ने क्रममा छ । यसको कटअफ मूल्य तय भइसकेको छ जसमा १० प्रतिशत घटाएर कम्पनीले आईपीओ जारी गर्न सक्छ । खासमा बुक बिल्डिङविधिबाट आईपीओ जारी गर्ने कुरामा पनि विवाद आएर रोकिएको हो । त्यसमा पनि चलखेल भएको आरोप लागेको थियो । नियामक निकायले यस्तो चलखेल रोक्नुपर्छ र आफै पनि त्यस्तो विवादमा पर्ने गरी काम गर्नु हुँदैन ।  बोर्डले प्रक्रिया पूरा गरेर आएका सबैलाई आईपीओ जारी गर्न स्वीकृति दिनुपर्छ । यसमा न ढिलाइ गर्न हुन्छ न त रोक्न नै । कम्पनीले आफ्नो वित्तीय योजना बनाएको हुन्छ । ‘म यति काम सकेर यति कामका लागि पूँजीबजारबाट पैसा उठाउँछु’ भनेर उसले योजनाबद्ध ढंगले काम गरेको हुन्छ । आईपीओ निष्कासनमा ढिलाइ हुँदा वा रोकिँदा कम्पनीको काममा असर पर्छ । त्यसले कम्पनी नीतिगत अनिश्चयको शिकार बन्न पुग्छ । यसो हुनु हुँदैन, यसले लगानीकर्तामाझ सकारात्मक सन्देश जाँदैन । सँगै नियामक निकायले कुनै पनि काम गर्दा स्वतन्त्रपूर्वक विवेक प्रयोग गर्न पाइने व्यवस्था पनि त्यतिकै आवश्यक हुन्छ । आईपीओ स्वीकृतिको विषयलाई लिएर धितोपत्र बोर्डका अध्यक्षले सार्वजनिक रूपमा दिएको नियमपूर्वक काम गर्दा पनि अनेकौं मुद्दामामिलाको सामना गर्नु परेको भन्ने भनाइले पूँजीबजारको विकासमा भइरहेको अप्ठ्यारोलाई इंगित गर्छ । शेयरबजार शतप्रतिशत मुनाफा सुनिश्चित भएको क्षेत्र होइन, यो ज्यादै जोखिमयुक्त लगानी हो । नेपालमा भने शेयरमा लगानी गर्दा नाफा मात्रै हुन्छ भन्ने सोच हाबी छ । त्यसैले लगानी डुब्नुपर्छ भन्ने जानकारी दिन पनि केही कम्पनीमा लगानी डुब्न आवश्यक देखिन्छ । बोर्डले शेयरसम्बन्धी सचेतना कार्यक्रम चलाए पनि लगानीकर्ता सचेत नभएको अवस्था छ । त्यही कारण शेयर बजारप्रतिको बुझाइमा सुधार ल्याउन जरुरी देखिन्छ । त्यसैले शेयरबजारका आधारभूत विषयको ज्ञान तथा आवश्यक पक्षमा इमानदारीपूर्वक काम हुन सके मात्र पूँजीबजारमा सुधार हुन्छ ।

१० अर्बभन्दा बढीका आईपीओ पाइपलाइनमा, धेरै कम्पनी जलविद्युत क्षेत्रका

अहिले सञ्चालनमा रहेका ३२ वटा कम्पनीहरु सर्वसाधारणलाई सेयर बिक्री गर्ने (आईपीओ जारी गर्ने) अनुमतिको पर्खाइमा रहेका छन् । पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति लिनको लागि ३२ वटा कम्पनीले बोर्डमा निवेदन दिएका छन् ।बोर्डले दिएको जानकारीअनुसार यी कम्पनीको आईपीओ मूल्य १० अर्ब १५ करोड रुपैयाँभन्दा बढी हुन्छ । यसरी आईपीओ जारी गर्न लागेका कम्पनीहरूमा बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेका कम्पनीहरु सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स पनि रहेका छन् । यी कम्पनीहरुले बोर्डबाट

विवादकै बीच सर्वोत्तम सिमेन्ट फेरि बुक बिल्डिङमा अघि बढ्ने

पहिलो पटक बुक बिल्डिङ प्रणाली मार्फत ६० लाख कित्ता सेयर आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट विवादका बीच पनि अघि बढ्ने भएको छ । कम्पनीले आगामी माघ ११ गते बोलाइएको तेस्रो वार्षिक साधारणसभाबाट विशेष प्रस्तावको रुपमा बुक बिल्डिङलाई प्रस्तावको रुपमा लैजाने र सभाबाट पारित गर्ने योजना बनाएको हो ।त्यसो त यसअघि नै कम्पनीले ६० लाख कित्ता बराबरको सेयर बुक बिल्डिङ मार्फत सर्वसाधारणमा जारी गर्ने घोषणा गरेको थियो । पहिलो पटक बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणमा प्रिमियम मूल्य समेत जोडेर सेयर जा