असार २, चितवन । चितवनको रत्ननगर नगरपालिकामा साढे १४ करोडको लागतमा मातृशिशु अस्पतालको निर्माण प्रक्रिया अघि बढेको छ ।
वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा पूर्वी चितवनमै पहिलो मातृशिशु अस्पताल निर्माणको प्रक्रिया शुरू गरिएको हो । गर्भवती आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि रत्ननगर नगरपालिकाको पहलमा अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।
बकुलहर रत्ननगर अस्पतालको परिसरमा निर्माण हुन लागेको सो अस्पतालको भवन निर्माणका लागि ठेक्का प्रक्रिया शुरू भइसकेको नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । वनका अनुसार सुरक्षित तरिकाले सुत्केरी गराएर आमा र बच्चाको सुरक्षा र मृत्युदर न्यूनीकरणका लागि अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।
साढे तीनतले भवनमा आइसियू, भेन्टिलेटर, जनरल वार्ड, अपरेसन कक्ष, ओपिडी कक्ष, सुत्केरी कक्ष रहनेछ । अस्पताल लिफ्टसहित अपांगमैत्री पनि बन्ने छ । सो अस्पताल ५० शय्या क्षमताको हुने र एकैपटक ३० जना महिलालाई सुत्केरी गराउन सकिने प्रमुख वनले बताए । हाल रत्ननगर अस्पतालमा दैनिक ३ जना महिलाको मात्र सुत्केरी गराउन सक्ने क्षमता छ । सो अस्पताल सञ्चालनमा आएपछि दैनिक ३० जना महिलाहरुलाई सुरक्षित सुत्केरी गराउन सकिने वनले बताए ।
अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य उपकरण विदेशबाट ल्याउने नगरपालिकाको योजना रहेको छ । ‘अस्पतालमा प्रयोग हुने उपकरण अत्याधुनिक हुनेछन्’, मेयर वनले भने, ‘सम्भवतः स्विट्जरल्यान्डबाट उपकरण ल्याइनेछ ।’ अस्पतालमा आईसीयू, भेन्टिलेटरसहित मेडिकल पाइपलाइन सिस्टम जडित हुने मेयर वनले जानकारी दिए ।
अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया शुरू भइसकेकाले अबको डेढ महीनामा निर्माण कार्य शुरू गरिने बताइएको छ । दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजनासहित भवन निर्माण शुरू हुने र लगत्तै अस्पताल सञ्चालनमा ल्याइने छ । सो अस्पताल सञ्चालनमा आएपछि सुत्केरी गराउन र बच्चाको उपचारका लागि सदरमुकाम भरतपुर जानुपर्ने बाध्यता हट्ने प्रमुख वनको भनाइ छ ।
पूर्वी चितवनका तीन लाख जनताले प्रत्यक्ष सेवा उपभोग गर्ने गरी रत्ननगर नगरपालिकाको पहलमा मातृशिशु अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।
प्रदेश सरकारले बकुलहर रत्ननगर अस्पताललाई प्रदेशस्तरको मान्यता दिएर ५० शय्याको अस्पतालका रुपमा विकास गरेको छ । केन्द्र सरकारले प्रदान गरेको तीन करोड रूपैयाँबाट सो अस्पतालमा आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि काम भइरहेको छ ।