फागुन २, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।
कम्पनी २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आइपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । आवश्य प्रक्रिया पुरा गरेर बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।
विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । हालसम्ममा कम्पनीले ३२ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू. ६ करोड ८६ लाख पुग्नेछ ।
कम्पनीले चालू आवको दोस्रो त्रेमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५२ प्रतिशतले घटेको छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ९३ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. १ करोड ८८ लाखमा सीमित भएको हो । कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ६ करोड १६ लाख खुद ब्याज आम्दानी रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. ६ करोड ६० लाख पुगेको हो ।
त्यसैगरी कम्पनीको सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासमा रू. ३४ करोड ११ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिमा रू. २ करोड २६ लाखमा धनात्मक भएको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू.१४ करोड ५८ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ९५ करोड ६९ लाख सापटि लिएर,रू.८९ करोड ८७ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब १३ करोड कर्जा लगानी गरेको छ ।
कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ७५ लाख ९ हजार खराब कर्जा उठाएको छ । त्यसैगरी सो अवधिमा कम्पनीको पूँजी कोष पर्याप्तता ९ दशमलव ६१ प्रतिशत र निष्क्रिय कर्जा २ दशमलव शून्य २ प्रतिशत रहेको छ ।