काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अधिकतम मूल्य बिड गरेपछि भारतीय खुला बजारबाट विद्युत् पाएको छ । प्राधिकरणले बिडिङमा प्रस्ताव गरेको दरमा भारतीय व्यापार कम्पनीहरूले पछिल्लो २ दिन (बुधवार र बिहीवार) बिजुली दिन मानेका थिएनन् । फलस्वरूप भारतबाट विद्युत् आयात भएको थिएन । त्यसपछि प्राधिकरणले अधिकतम दर प्रस्ताव गरेर विद्युत् आयात गरेको हो ।
अहिले भारतीय बजारमा विद्युत्को अधिकतम दर २० भारू अर्थात् नेपाली ३२ रुपैयाँ पुगेको छ । प्राधिकरणले शुक्रवारका लागि सोही दरमै विद्युत् खरीद गर्ने गरी बिड पेश गरेको थियो । उक्त बिड स्वीकृत भएपछि बिहीवार रातिदेखि नै विद्युत् आयात हुन थालेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए । तर, विभिन्न सेवाशुल्क थप गर्दा प्रतियुनिट ३४/४५ नेपाली रुपैयाँमा पर्ने उनको भनाइ छ ।
‘अहिले हामीले औसतमा १० रुपैयाँमा विद्युत् विक्री गरिरहेका छौं । तसर्थ, हामीलाई प्रतियुनिट २५ रुपैयाँसम्म घाटा हुने देखिएको छ,’ उनले भने, ‘हामी अहिलेसम्म नाफामै छौं । भारतबाट १ रुपैयाँ ९० पैसामा पनि विद्युत् खरीद गरेको इतिहास छ ।’
निकट भविष्यमा औद्योगिक क्षेत्रलाई विद्युत् आपूर्तिमा समस्या हुने संकेत देखिएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । अहिले पाकिस्तानमा १६ घण्टा लोडशेडिङ छ । यसैगरी श्रीलंकामा ६–७ घण्टा लोडशेडिङ हुन थालेको छ । भारतीय बजारमै विद्युत् अभाव हुन थालेको छ । त्यो अवस्थामा नेपालमा पनि विद्युत् अभाव हुन सक्ने प्रवक्ता भट्टराई बताउँछन् ।
‘भारतमा कोइलाबाट विद्युत् उत्पादन हुने हो । तर, अहिले भारतमा कोइलाको अभाव देखिन थालेको छ । त्यसपछि विद्युत् उत्पादन पनि स्वतः प्रभावित हुन्छ,’ उनले भने, ‘त्यो अवस्थामा जतिसुकै बढी मूल्य तिरे पनि विद्युत् नपाउन सकिन्छ । त्यसको असर हामीलाई पनि पर्ने सम्भावना छ ।’
अबको १ महीनापछि हिउँ पग्लिएर नेपालका खोला नालामा पानीको बहाव बढ्न थाल्छ । त्यो अवस्थामा विद्युत्को उत्पादन पनि बढ्नेछ । त्यसपछि भने सहज परिस्थिति आउन सक्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
प्राधिकरणले भारतबाट विद्युत् खरीद गर्न अघिल्लो दिनमै बिड प्रस्ताव गर्नुपर्छ । त्यसमा प्रत्येक १५ मिनेटका लागि छुट्टाछुट्टै बिड प्रस्ताव गर्नुपर्छ । त्यसअनुसार प्राधिकरणले भोलिपल्टका लागि अघिल्लो दिनमै ९६ ओटा बिड प्रस्ताव गर्नुपर्छ । प्राधिकरणले शुक्रवारका लागि पनि सोहीअनुसार बिड प्रस्ताव गरेको थियो । त्यसमा ९० प्रतिशतभन्दा बढी बिड स्वीकृत भएका छन् । अब आगमी दिनमा पनि सोहीअनुसार विद्युत् खरीद गरिने बताइएको छ ।
सुख्खा यामका कारण भारतका जलविद्युत् आयोजना पनि अहिले पुर्ण क्षमतामा चलेका छैनन्, नेपालमा पनि यो अवस्था छ । नेपालको विद्युत् जलविद्युत्मा आधारित हो । हिउँदमा खोलामा पानी घटेको बेला विद्युत् उत्पादन कम हुने हुदाँ भारतबाट नै आयात गर्नुपर्ने हुन्छ ।