काठमाडौं । जातीय समता समाजको चौथो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । यही फागुन ८ र ९ गते बुटवलमा हुने राष्ट्रिय सम्मेलनका लागि सबै तयारी गरिएको समाजका अध्यक्ष दिलबहादुर विकले जानकारी दिनुभएको छ ।
सम्मेलनको मूल नारा ‘सामाजिक न्याय, समानता र छुवाछुू अन्त्यका लागि हाम्रो आन्दोलन ! राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा र संघीयताको खारेजी तथा संसद विघटन विरुद्ध चौथो राष्ट्रिय सम्मेलन !’ तय गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण राष्ट्रिय सम्मेलन प्रतिनिधिमूलक हुने अध्यक्ष विकले बताउनुभयो ।
सम्मेलनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन, आर्थिक प्रतिवेदन पारित गर्नुका साथै नयाँ नेतृत्वको चयनसमेत हुने छ ।
सम्मेलनपछि समसामयिक विषयमा देशव्यापी कार्यक्रम बनाउने अध्यक्ष विकले बताउनुभयो ।
जातीय समता समाजले प्रतिनिधि सभा विघटन विरुद्ध सङ्घर्षका गर्नुका साथै सङ्घीयता खारेजीको मागलाई दृढतापूर्वक अगाडि बढाएको छ ।सम्मेलनपछि यी विषयसहित जातीय भेदभावका विषयहरू समेत समेटी अभियान सञ्चालन गर्ने अध्यक्ष विकले बताउनुभएको छ ।