फोन चोरी भयो ? यसरी सुरक्षित राख्नुहोस् बैंक विवरण र मोबाइल वालेट

आजकाल चोरहरु तपाईको मोबाईल लिएर एउटै चिज खोज्छन् ? त्यो हो, बैंक विवरण । आजभोलि धेरै भन्दा धेरै मानिसहरू डिजिटल भुक्तानीहरू गर्छन । भुक्तानीका लागि विभिन्न एपहरू प्रयोग गरिरहेका हुन्छन् ।  यी वालेटहरू पहुँच गर्न स्मार्टफोन चोरहरूको लागि गाह्रो छैन् । उदाहरणका लागि, ब्राजिलको साओ पाउलोमा अपराधीहरूले आइफोन ह्यान्डसेटहरू नबेची ती डिभाइसका मालिकहरूको बैंक...

सम्बन्धित सामग्री

वित्तीय प्रणालीमा डिजिटाइजेशन बढ्दो

काठमाडौं । पछिल्लो दशकमा देशको वित्तीय प्रणालीमा डिजिटाइजेशनको क्रम बढेको छ । भौतिक रूपमै उपस्थित भएर लाइन बसेर लिनुपर्ने धेरै सेवा घरमै बसेर पाइने गरी वित्तीय संस्था अटोमेशनमा गएका छन् । एक क्लिकको भरमा बिल तथा युटिलिटीको अनलाइन पेमेन्ट, टपअप, अनलाइन सपिङ र टिकट बुकिङ गर्ने तथा डिजिटल्ली कारोबार गर्न सहज भएको छ । कुनै समय विप्रेषणको निकै ठूलो बजार थियो । आदानप्रदानको बाटो निकै झन्झटिलो । विदेशबाट रकम पठाउन अहिले जस्तो सजिलो थिएन । अहिले विदेशबाट पैसा पठाउनेबित्तिकै नेपालमा हेर्न मिल्ने र पठाउने व्यक्तिले पनि प्राप्त गरेको थाहा पाउने प्रविधि आयो । हातहातमा मोबाइल हुन थालेपछि विप्रेषण उद्योगले भिन्दै आकार लिन थाल्यो । काउन्टरबाट होइन मोबाइलमै पैसा पुर्‍याउनुपर्ने आवश्यकता महसूस भयो । यसको समाधानका रूपमा फिनटेकका उपकरण आए, यसमध्ये मोबाइल वालेट पनि एक हो ।  विद्युतीय वालेट भनेको नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भुक्तानी सेवाप्रदायकले ग्राहकको नाममा जारी गर्ने विद्युतीय खाता हो । वालेट प्रयोगकर्ताले तोकिएका बैंक तथा वित्तीय संस्था अथवा एजेन्टबाट वालेटमा रकम जम्मा गरी वस्तु वा सेवा खरीदको रकम भुक्तानी गर्न सक्छन् । नेपाल राष्ट्र बैंकका अनुसार हाल देशमा २७ ओटा यस्ता भुक्तानी सेवाप्रदायक (पीएसपी)ले अनुमति लिएका छन् । भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)मा स्वदेशी र विदेशी कम्पनी गरी १० ओटाले अनुमति लिएर सञ्चालनमा छन् । पीएसपीले कार्ड अथवा कार्डबाहेकका उपकरणबाट वस्तु, सेवा, सम्पत्ति वा दायित्वबापतको रकम भुक्तानी लिनेदिने बीचमा मध्यस्थता गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने, स्वदेशमा रकम स्थानान्तरण गर्ने, भुक्तानीसम्बन्धी कुनै प्रणाली सञ्चालकमा आबद्ध भई कार्य गर्छन् । त्यस्तै भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)ले भुक्तानी स्वीच (सञ्चालन गर्ने, स्वचालित क्लियरिङसम्बन्धी कार्य गर्ने, भुक्तानी प्रणालीको अन्तरआबद्धता सम्बन्धी काम गर्ने, विद्युतीय भुक्तानी कार्डको सञ्जाल सञ्चालन गर्नेलगायत काम गर्छन् । बैंक, वित्तीय संस्थाले दिने बैंकिङ सेवा डिजिटल माध्यममा जोड्ने काम फिनटेक कम्पनीले गर्दै आएको छ । पीएसओले सफ्टवेयर विकास गर्ने काम गर्छन् भने पीएसपीले भुक्तानी सेवा दिन्छन् । यति धेरै फिनटेक आवश्यक छ ? ठूलो लगानीसहित सञ्चालनमा आएका यी कम्पनीको आम्दानीको स्रोत भनेको प्रत्येक कारोबारबाट आउने कमिशन र एपमार्फत सेवा दिने केही यस्ता प्लेटफर्ममा देखिने विज्ञापन हो । नेपालमा धेरैजसो फिनटेक कम्पनीहरू प्रारम्भिक चरणमा छन् । अधिकांश नाफाको सट्टा सेवा विस्तारमा केन्द्रित छन् । शुरुआती चरणमा धेरै यस्ता सेवाप्रदायक कम्पनी सक्रिय रूपमा सञ्चालनमा छैनन् । सजिलो पे पेमेन्टकी कार्यकारी निर्देशक रस्मिना रञ्जित केही ठूला कम्पनीको एक प्रकारको सिन्डिकेटले अन्यमा सक्रियता नदेखिएको बताउँछिन् । उनले नेपाली बैंकिङ क्षेत्र र नेपालको कारोबारअनुसार भुक्तानी सेवा प्रदायक केही बढी नै भएको बताउँछिन् । ‘प्रविधि आफैमा खर्चिलो कुरा हो सञ्चालन लागत पनि बढी हुन्छ । त्यसअनुसार नेपालमा यस्ता पीएसपी धेरै भए कि भन्ने लाग्छ ।’ पछिल्लो समय बैंक तथा वित्तीय संस्था मर्जर भएकाले फिनटेकको क्षेत्र पनि साँघुरो हुँदै गएको उनको भनाइ छ । अब बैंक मात्रै होइन यस्ता सेवाप्रदायक समेत मर्जरमा जानुपर्ने उनको विचार छ ।  फिनटेक क्षेत्र जति विकास हुनुपर्ने थियो, त्यसअनुसार नभए पनि हुँदै नभएको भन्न नमिल्ले उनको भनाइ छ । तर, बैंकिङ क्षेत्र मात्रै नभई टेक्नोलोजी र सेक्युरिटी पहिले विश्वसनीय हुनुपर्ने उनको बुझाइ छ । भौतिक रूपमै वित्तीय संस्थाका कार्यालय पुग्नुपर्ने अवस्थालाई यस्ता सेवाप्रदायकले सहज बनाएको भए पनि अझै पर्याप्त नभएको उनले बताइन् । हाल केही बैंकले अनलाइनबाटै खाता खोल्न सकिने सेवा दिएको भए पनि भौतिक रूपमै बैंक पुग्नुपर्ने बाध्यता नहटेको उनको भनाइ छ ।  ‘हामीले कल्पना गरेको डिजिटल बैंकिङ यतिमात्रै होइन । नेपालका कतिपय स्थानमा बैंक नै पुग्न सकेका छैनन् । त्यस्ता स्थानमा स्मार्टफोन पुगेका छन् । स्मार्टफोनसँगै हामी पुगेका छौं,’ उनले भनिन् । खल्तीका सहसंस्थापक तथा निर्देशक अमित अग्रवाल कुनै पनि इन्ड्रस्टीको शुरुआत यसरी नै हुने बताउँछन् । ‘कसैले केही गर्छु भनेको छ भने त्यसलाई रोक्न मिल्दैन, शुरूमा धेरै आउँछन् जसले राम्रो सेवा दिन सक्छ त्यो दिगो हुन्छ अरू विस्तारै बाहिँरिदै जान्छन्,’ उनले भने । यस्ता सेवाप्रदायकको विकासमा धेरै समय लाग्ने र चुनौती पनि धेरै भएको उनको भनाइ छ ।  ‘अहिले २७ कम्पनीलाई राष्ट्र बैंकले अनुमति दिएको छ, सबै सक्रिय छैनन्, खल्तीमा मात्रै हाल ३१५ कर्मचारी छन् । आईटीको जनशक्ति सस्तो मूल्यमा पाउँदैन, सञ्चालन लागत नै खर्चिलो छ,’ उनले भने । यी संस्थाको मर्जरबारे उनको फरक मत छ । ‘यस क्षेत्रमा मर्जरले खासै अर्थ राख्दैन किनकि सबैले फरक फरक प्रविधि प्रयोग गरेको हुन्छ, यसमा ठूलो लगानी भइसकेको छ, प्रयोगकर्तामा दोहोरोपना बढी हुन्छ,’ उनले भने ।  राष्ट्र बैंकले २०८५ सम्ममा पीएसपीले पनि कम्तीमा ५ करोड चुक्ता पूँजी पुर्‍याउनुपर्ने निर्देशन जारी गरेकाले यिनको संख्या घट्दै जाने उनले बताए । सञ्चालनमा रहेकाले त घाटामा काम गर्नुपरेको छ, जुन सञ्चालनमै छैनन् ती कसरी अगाडि आउँछन् ?’ उनले प्रश्न गरे ।  ई–सेवा वालेटका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का पनि अग्रवालको कुरामा सहमत देखिन्छन् । ‘केका लागि मर्जर भन्ने स्पष्ट हुनुपर्‍यो, संख्यालाई आधार मान्न सकिँदैन, म्याच्योर भयौं भन्ने हो भने भएका छैनौं,’ उनले भने, ‘काम गर्दै आएका केही वालेट मात्रै छौं, अरूले काम गर्नै बाँकी छ, अहिले मर्जरमा जाने कुरा अलि हतार हुन्छ ।’  ठूलो बजार अंश रहेकाले जति धेरै यस्ता कम्पनीले काम गर्‍यो त्यति नै वित्तीय साक्षरता बढाउन मद्दत पुग्ने उनको भनाइ छ । हालसम्म नेपालको वित्तीय क्षेत्रमा १० दशमलव ७१ मात्रै डिजिटलाइज्ड भएको भन्दै अझै झन्डै ९० प्रतिशत बजार बाँकी रहेकाले सबै अप्रेशनमा आउने उनले बताए ।  नेपाल राष्ट्र बैंकका सूचना अधिकारी तथा सहप्रवक्ता डिल्लीराम पोख्रेल फिनटेकको संख्या धेरै भन्न नमिल्ने तर प्रतिस्पर्धा भने बढेको बताउँछन् । सहजै सेवा सञ्चालन गर्न चाहनेलाई अनुमति दिने र आवश्यक नियमनमा चनाखो हुनुपर्ने उनी बताउँछन् । ‘कति आवश्यक हो वा कतिलाई अनुमति दिने भनेर तोक्न मिल्दैन तर हामीलाई नियमन गर्न चुनौती छ, यसमा डाटा सुरक्षाका कुरा हुन्छ । यसमा हामीले ध्यान दिनुपर्छ,’ उनले भने । सरकारी भुक्तानीमा नि:शुल्क सेवा  खल्तीका निर्देशक अग्रवालले डिजिटल बैंकिङ सेवाप्रदायकले सरकारी भुक्तानी गर्दा नि:शुल्क सेवा दिनु परेको बताउँछन् । ‘विश्व बैंकको रिपोर्टअनुसार एक व्यक्तिलाई डिजिटलाइजेशनमा ल्याउन ५ दशमलव ५ डलर अर्थात् झन्डै ७०० रुपैयाँ खर्च हुन्छ तर हामीले त डिजिटलाइज्ड गर्न सरकारलाई नि:शुल्क सहयोग गरिरहेका छौं,’ उनले भने । सरकारी भुक्तानीमा कुनै आम्दानी नभएको भन्दै सरकारसँग यस विषयमा कुरा गर्दा प्रयोगकर्तासँग शुल्क लिन सुझाव आउने गरेको उनको भनाइ छ । ‘त्यतिमात्रै होइन, कतिपय ठाउँमा प्राविधिक तयारी नपुगेकाले आफैले बनाइदिनु परेको छ,’ उनले भने । विद्युतीय भुक्तानी प्रविधिले ठाउँठाउँका कार्यालयमा हुने भीड र लाइन घटाएको उनको तर्क छ । ‘त्यति मात्रै होइन, राष्ट्र बैंकको नोट छाप्ने र सुरक्षित राख्नेदेखि रिसाइकल गर्नेसम्मको खर्च कम भएको छ,’ उनले भने, ‘रिचार्ज कार्डदेखि बिलिङसम्मका पेपर प्रिन्टमा हुने अर्बौं रकम कम भएको छ । तर, सरकारले यसलाई बुझ्ने कोसिस गरेको छैन ।’ उनले यसबाट बैंकलाई सहज र आफूहरूलाई ‘लस’ भएको बताए ।  रेमिट नेपालका जनरल म्यानेजर सन्तोष भेटुवालले बेलायत सरकारले सन् २०३० सम्म बैंक होइन, बैंकिङमात्रै हुने प्रक्षेपण गरिसकेको अवस्थामा नेपालमा पनि डिजिटल पेमेन्ट सिस्टम धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँछन् । नेपालको भन्दा केही ढिलो गरी शुरू भएको भारतमा फिनटेक कम्पनीले परम्परागत बैंकको तुलनामा राजस्वको एक तिहाइ अंश ओगटेको रिपोर्ट आएको उनको भनाइ छ । ‘भारतीय फिनटेक स्पेसमा डिजिटल भुक्तानी ऋण, बीमा, सम्पत्ति व्यवस्थापन, पियर–टु–पियर ऋण आदि जस्ता विशिष्ट वित्तीय क्षेत्रमा काम गरिरहेका छन्,’ अग्रवालले भने, ‘नेपालमा भने यस्ता सेवाप्रदायकलाई बढी कडाइ गर्ने तथा सहजै विश्वास नगर्ने अवस्था छ ।’ डिजिटल भुक्तानी बढ्दो नेपाल राष्ट्र बैंकका अनुसार विद्युतीय भुक्तानी बढ्दै गएको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा क्यूआरमार्फत २ खर्ब ४५ खर्ब रुपैयाँ कारोबार भएको थियो । आव २०७८/७९ को तुलनामा यो तथ्यांक १५९ प्रतिशतले बढी हो । आव २०७८/७९ मा क्यूआरमार्फत ९४ अर्ब ५० करोड रुपैयाँ कारोबार भएको थियो । राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल नेपालमा कोभिड महामारीपछि डिजिटल माध्यममार्फत हुने कारोबार बढको बताउँछन् । ‘कोभिडको समयमा धेरैले नगदरहित कारोबार शुरू गरेसँगै डिजिटल कारोबारमा १० वर्षमा हुने वृद्धि २–३ वर्षमै भएको छ,’ उनले भने ।  कार्यकारी निर्देशक पौडेल राष्ट्र बैंकले क्यूआरबाट नि:शुल्क भुक्तानी गर्ने व्यवस्था लागू गरेसँगै क्यूआरबाट हुने कारोबार बढेको बताउँछन् । ‘अहिले मर्चेन्टको क्यूआर स्ट्यान्डको संख्या पनि बढेको छ,’ उनले भने । यस्तै मोबाइल बैंकिङअन्तर्गतको भुक्तानी पनि अघिल्लो वर्षको तुलनामा गतवर्ष ८० प्रतिशतले, कनेक्ट आईपीएस ३३ प्रतिशतले र आईपीएस ३ प्रतिशतले बढेको छ । डिजिटल भुक्तानी बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । यसले नगदको प्रयोगलाई कम गर्न मद्दत गर्नुका साथै पारदर्शिता कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न पनि मद्दत गर्छ ।  अहिले अन्य माध्यमको तुलनामा इन्टरनेट बैंकिङमार्फत हुने डिजिटल कारोबारमा भने आकर्षण घट्दो छ । अन्य माध्यमबाट हुने विद्युतीय कारोबार बढिरहँदा आरटीजीएस र इन्टरनेट बैंकिङबाट हुने विद्युतीय भुक्तानी कारोबार घटेको छ । आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा आरटीजीएस र इन्टरनेट बैंकिङबाट हुने विद्युतीय भुक्तानीको रकम क्रमश: १८ र १ प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ । पौडेलका अनुसार अहिले शेयरबजार, रियल इस्टेट, आयात निर्यात, कर्जाप्रवाह लगायत सबै क्षेत्र प्रभावित भएकाले आरटीजीएसमार्फत हुने ठूला कारोबार घटेको हो । स्मार्टफोन र इन्टरनेट जडानको बढ्दो उपलब्धता, अनलाइन सपिङ र ई–कमर्सको बढ्दो लोकप्रियता र डिजिटलाइजेशनलाई प्रवर्द्धन गर्ने सरकारको प्रयासलगायत कारणले नेपालमा डिजिटल भुक्तानी बढिरहेको देखिन्छ । नेपालमा ७३ प्रतिशत परिवारले स्मार्टफोन प्रयोग गर्ने राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाएको छ । ३७ दशमलव ८ प्रतिशत नेपालीले इन्टरनेट प्रयोग गर्छन् । डिजिटल भुक्तानीको मोबाइल वालेट, इन्टरनेट बैंकिङ, मोबाइललगायत माध्यमबाट प्रयोगकर्ताले मोबाइलमार्फत नै सजिलैसँग फिल्मको टिकट, विद्यालयका बिल, यातायात भाडा, विभिन्न सामग्री खरीदको भुक्तानी गर्दै आएका छन् ।  डिजिटल भुक्तानी बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । यसले नगदको प्रयोगलाई कम गर्न मद्दत गर्नुका साथै पारदर्शिता कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न पनि मद्दत गर्छ । यसले वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न र वित्तीय सेवाको पहुँच बढाउन पनि मद्दत गरिरहेको छ ।

बढ्दै छ, वालेटमार्फत हुने कारोबार

काठमाडौं । विद्युतीय भुक्तानी सेवाप्रदायक वालेटमार्फत हुने कारोबार रकम पछिल्लो समय बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसमार्पmत हुने कारोबार रकम बढ्दै गएको देखाएको हो । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा मात्र वालेटमार्पmत हुने कारोबार औसतभन्दा धेरै माथि गएको छ । गत आवको कुल कारोबार रकमको आधारमा वालेटमार्फत मासिक औसतमा ९ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ कारोबार हुने गर्छ । तर, साउनमा वालेटमार्पmत औसतभन्दा बढी १४ अर्ब ५ करोड २० लाख रुपैयाँ कारोबार भएको छ । वालेटमार्फत गत असारमा रू. १२ अर्ब ७९ करोड र जेठमा रू. ८ अर्ब ३५ करोड बराबरको कारोबार भएको थियो । पछिल्लो समय वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ । गत आवमा भने वालेटमार्फत १ खर्ब १४ अर्ब ४३ करोड रुपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलले पनि पछिल्लो समय वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको बताए । विशेषगरी यसको सेवासुविधाको दायरा बढ्दै जाँदा प्रयोगकर्तासँगै कारोबार रकम पनि बढ्दै गएको उनको भनाइ छ । ‘पहिला वालेटमार्फत गरिने कारोबारको दायरा सीमित थियो । तर, धेरै किसिमका भुक्तानी यसैमार्फत नै गर्न सकिन्छ,’ उनले भने, ‘यसरी यसको दायरा बढ्दै गएपछि यसमार्फत हुने कारोबार रकम पनि बढ्दै गएको हो ।’ पछिल्लो समय यसमार्फत गरिने कारोबारको सीमा पनि बढाइएको छ । त्यसकारण पनि यसको सीमा बढ्दै गएको हो । कोरोना महामारीको समयमा विद्युतीय भुक्तानी गर्ने प्रचलनको पनि विकास भएको छ । फलस्वरूप वालेटमार्फत हुने कारोबार बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । वालेट विद्युतीय भुक्तानी तथा कारोबारको साधन हो । नेपालमा यो प्रचलनमा आएको केही वर्ष मात्रा भएको छ । प्रचलनमा आएको छोटो समयमा नै वालेटको प्रयोग बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । हाल नेपालमा २२ ओटा डिजिटल भुक्तानी दिने मोबाइल वालेट कम्पनी छन् । इसेवा, खल्ती, प्रभु पे, आईएमई पे, इनेटजस्ता वालेटले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्दै आएका छन् । पहिला त्यस्ता वालेटले दिने सेवासुविधा कम थियो । पहिला सीमित प्रयोजनमा मात्र वालेटको प्रयोग हुन्थ्यो । तर, अहिले बैंक खातामा पैसा जम्मा गर्ने, इन्टरनेट/पानी/बिजुलीको बिल पे गर्ने, हवाई टिकट, फिल्म टिकट, मोबाइल रिचार्जलगायत थुप्रै सेवासुविधा यसमा हुन्छन् । फलस्वरूप वालेटको व्यावसायिक विकास पनि हुँदै गएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेल बताउँछन् । साथै, अन्यको तुलनामा यो आर्थिक रूपमा सुरक्षित पनि भएको उनको भनाइ छ । ‘ग्राहकले आफूलाई आवश्यक पर्ने रकम बैंकखाताबाट वालेटमा जम्मा गरेर सोहीअनुसार खर्च गर्न सक्छन् । बैंकको पैसा बैंकमा नै सुरक्षित हुन्छ । बढी खर्च हुने सम्भावना हुँदैन,’ उनले भने, ‘तसर्थ, यो आर्थिक रूपमा सुरक्षित पनि छ ।’

नमस्ते पे मोबाइल भुक्तानी सेवा आजदेखि सञ्चालनमा

भदौ २९, काठमाडौ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन आज (मंगलवार)बाट शुरु गरिएको छ ।  मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्‍याउने उद्देश्यले उक्त सेवाको शुरु गरिएको हो ।  वि.सं. २०७६ वैशाख १९ गते तत्कालीन प्रधानमन्त्रीको उपस्थितिमा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच भएको औपचारिक समझदारीको फलस्वरूप २०७७ साउन १३ मा विधिवत रुपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापित थियो । सोही कम्पनीमार्फत मंगलवारबाट नमस्ते पे सञ्चालनमा ल्याएको हो । कार्यक्रममा नमस्ते पे वालेट सेवाको लोगो अनावरण, एन्ड्रोइड मोबाइल एप अनावरण तथा ५०० सर्टकोड यूएसएसडीबाट सो सेवा प्रयोग समेतको सुरुआत गरिएको थियो ।  कोभिड महामारीका कारण सेवा सञ्चालनका लागि खरीद गरिएको उपकरण आपूर्तिमा भएको ढिलाइ एवम् सिस्टमको विकास र परीक्षणमा संलग्न जनशक्तिलाई पारेको अप्रत्याशित प्रतिकुल प्रभावका कारण सेवाको व्यावसायिक सञ्चालन शुरु गर्न केही ढिलाइ भएको भएपनि प्रथम चरणको सेवा कम्पनी स्थापना भएको लगभग १३ महीनाको अवधिमा सञ्चालनमा आएको कम्पनीले जानकारी दिएको छ ।  मोबाइल सेट बजारको ९५५ भन्दा बढी हिस्सा ओगटने एन्ड्रोइड सिस्टमको मोबाइल एप यस चरणमा उपलब्ध हुनेछ । आईओएसको लागि केही औपचारिक तयारी बाँकी भएकोले सो सिस्टमका मोबाइलको लागि पनि सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने कम्पनीले जानकारी दिएको छ ।  स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी यूएसएसडी प्रविधिका माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको शुभारम्भ गरिएको छ । हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगका लागि *500# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिने कम्पनीले जानकारी दिएको छ ।  प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् ।  यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकसहित करीब ९ ओटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ । बाँकी बैंकबाट पैसा लोड गर्नका लागि क्रमशः व्यवस्था गर्दै लगिने कम्पनीको भनाइ छ ।  कम्पनीका अनुसार बैंकहरुको अलावा यस कम्पनीको देशव्यापी एजेन्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशीघ्र शुरु गरिनेछ । ‘यसका लागि एजेण्ट नेटवर्क तयार गर्ने कार्य भइरहेको छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा हो । विभिन्न सञ्चार माध्यम र खासगरी अनलाइन मिडियामा पटक पटक प्रकाशित भएजस्तो नेपाल टेलिकमको मोबाइल ब्यालेन्सलाई नै पैसाको रूपमा उपयोग गर्न सकिने भने हुँदैन । नमस्ते पे वालेटमा बैंक वा एजेन्ट नेटवर्कमार्फत रकम लोड गरेरमात्र विद्युतीय भुक्तानिको लागि प्रयोग गर्न सकिन्छ ।  मोबाइल वित्तीय सेवाको लागि बैंक, मर्चेन्ट, युटिलिटी सेवा प्रदायक, अनलाइन व्यवसाय सञ्चालक लगायतका विविध साझेदार र सरोकारवालाहरुसँग व्यावसायिक, वित्तीय सहकार्य तथा प्राविधिक अन्तरआवद्धताको विकास एवम् परीक्षणसमेत गर्नुपर्ने भएकोले सम्भावित सबै किसिमका सेवा एकैपटक सञ्चालन गर्न चुनौतीपूर्ण हुने र बढी समय लाग्ने कम्पनीले जानकारी दिएको छ ।  ‘यसका साथै प्रारम्भिक चरणमा थोरै सेवासहित सञ्चालन गर्दा सुरुमा आउन सक्ने समस्याहरुको पहिचान र निराकरण गर्नसमेत थप सहज हुने हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ पनि कम्पनीले चरणबद्ध रूपमा सेवाहरु थप्दै र विविधिकरण गर्दै जाने रणनीति अंगीकार गरेको छ ।’ ‘विगत डेढ वर्षभन्दा बढी समयदेखि विश्वभर जनस्वास्थ्यको सर्वाधिक ठूलो चुनौतिको रूपमा रहेको कोभिड–१९ महामारी तथा सोको कारणले गर्दा जनजीवन प्रभावित भएको सन्दर्भमा डिजिटल वित्तीय सेवाको उपादेयता थप टडकारो रूपमा देखिएको कम्पनीले बताएको छ ।  यही बृहत्तर उद्देश्यका साथ कम्पनीले सेवा शुभारम्भ गर्न लागेको छ र क्रमशः सेवासुविधाहरू थप गरी सो यथाशीघ्र उद्देश्य प्राप्तिका लागि कम्पनी लागिपरेको बताइएको छ ।  यसरी बृहत वित्तीय समावेशिकरण र वित्तीय सेवामा देशभर पहुँच पुरुयाउने अभियानमा यस क्षेत्रमा वर्षौं अघिदेखि अगुवाका रूपमा लागिपरेर विविध सेवासुविधाको विकास गरी डिजिटल वित्तीय कारोबारको बजार तयार गर्न महत्वपूर्ण भूमिका खेलेका अन्य सेवा प्रदायक तथा सरोकारवालासँग आपसी हितमा सघन सहकार्य र साझेदारी गर्दै मुलुकभर अत्याधुनिक प्रविधिमा आधारि विद्युतीय भुक्तानी सेवाको सहज र सुरक्षित उपलब्धता सुनिश्चित गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।  सार्वजनिक क्षेत्रबाट पहिलोपटक शुरु हुन लागेको नमस्ते पे वालेट सेवाले देशमा प्रविधिको प्रयोगमार्फत वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अपेक्षा छ ।