कोरोना नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनले सुझाएका दुई उपायमा साबुन पानीले हात धुने र सेनिटाइजरले हात सफा गर्ने प्रभावकारी मानिएको छ । त्यसैअनुसार साबुन र सेनिटाइजरको माग विश्वव्यापी रूपमा बढ्दो छ ।
नेपालमा पनि कोरोनाको प्रभाव बढेसँगै यी दुईको माग बढेको छ । मागसँगै गलत कार्यले पनि प्रोत्साहन पाएको छ । साबुनको माग बढ्दा साबुन उत्पादक साबुन उत्पादन गर्न छाडेर सेनिटाइजरतिर लागे । अहिले त्यसले अर्को समस्या उत्पन्न भएको छ ।
तत्काल कमाउने प्रवृत्तिले मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । त्यसैले औषधि व्यवस्था विभाग दैनिकजसो आयातित वा स्वदेशमा नै उत्पादन भएका पनि सेनिटाइजर प्रतिबन्ध लगाउन व्यस्त छ ।
बुधबार मात्र विभागले नेपालमा प्रयोगमा आइरहेका चार कम्पनीका सेनिटाइजरलाई प्रतिबन्ध लगाएको छ । विभागले ती सेनिटाइजरको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल नामक रसायन मिश्रण गरेको पाइएको जनाएको छ ।
विषाक्त सेनिटाइजरमध्ये चीनमा बनेको ओपकल नन वासिङ इन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र भारतमा बनेको पामाकेयर स्ट्यान्ड ह्यान्ड सेनिटाइजर ६० एमएलमा ती रसायन मिसावट गरिएको पाइएको हो ।