प्रकृतिले पानीलाई यस्तो अद्भुत गुण दिएको छ कि सीमित अवस्थासम्म यसले आफै आफ्नो शुद्धता कायम राख्न सक्छ । मानव तथा जीवित प्राणीका लागि खानाको करीब ३ भाग पानी प्रयोग हुन अति आवश्यक छ । पृथ्वीमा उपलब्ध पानीमध्ये ९६ प्रतिशतभन्दा बढी समुद्र र सागरको नुनिलो पानीले ओगटेको छ । जसले करीब ७१ प्रतिशत पृथ्वीको भाग ढाकेको छ । पृथ्वीमा पाइएको जम्मा पानीको परिमाण १४० लाख क्यूबिकमीटर पानीमा जम्मा ४० लाख क्युबिकमीटर मात्र खानलाई सुरक्षित भएको अनुमान गरिएको छ ।
आगामी ३० देखि ३५ वर्षभित्र काठमाडौं महानगरपालिकाका सबै भूभाग घरैघरले ढाक्ने अनुमान गरिएको छ ।
नेपालमा साना ठूला गरी ८ हजार १०० भन्दा बढी नदीनाला छन् । बाह्रै महीना बहने नदीनाला ७० प्रतिशत र ७ महीना निरन्तर बग्ने नदीहरू २० प्रतिशत र ४ महीना बग्ने नदीहरू १० प्रतिशत छन् ।
मानव जीवनका लागि पानी अपरिहार्य छ । पानीको उचित प्रयोगबाट नै जीवित प्राणीलाई गुणस्तरीय जीवन बिताउन सहयोग पुर्याउँछ । गुणस्तरीय जीवनका लागि सम्बद्ध ठाउँमा उपलब्ध भइरहेको स्वस्थ वातावरणयुक्त खानेपानी व्यवस्थापनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । पानीको उचित प्रयोगबाट नै गुणस्तरीय जीवन जिउन सम्भव छ । गुणस्तरीय जीवनयापनको लागि प्रतिव्यक्ति दैनिक प्रयोजनका लागि औसतमा १२५ लिटर पानी आवश्यक पर्छ ।
शुरूदेखि हालसम्म गुणस्तरीय पानीले करीब २१ दशमलव ४३ प्रतिशत र सरसफाइले १८ दशमलव २१ प्रतिशत योगदान पुर्याएको छ । काठमाडौंमा मात्र प्रत्येक वर्ष १० हजार घर बनिरहेको अनुमान छ । आगामी ३० देखि ३५ वर्षभित्र काठमाडौं महानगरपालिकाका सबै भूभाग घरैघरले ढाक्ने अनुमान गरिएको छ । सोको प्रभावले हाल भएको पानीको मुहानमा तीव्र असर परी पानीको आपूर्तिमा ठूलो समस्या हुने निश्चित छ । शहरी विकास मन्त्रालयको आँकडाअनुसार १ लाख ८० हजार निजी र १ हजार १ सय ९६ ओटा सार्वजनिक धाराबाट करीब २६ लाख सेवाग्राहीले पानीको प्रयोग गरिरहेका छन् । उक्त कार्यका लागि केयूकेएलले ३५ ओटा सतह स्रोत ५९ ओटा ट्युबवेलबाट पानी ल्याई २१ ओटा खानेपानी प्रशोधन केन्द्रमार्फत वितरण गर्दै आएको छ । हालसम्म उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटरभन्दा माथि पुगेको छ । मेलम्चीसमेत गरी आपूर्ति हिउँदमा ३० करोड लिटर मात्र छ । प्राकृतिक सम्पदा दोहनबाट धेरै खानेपानीको मूलमा असर पुगेको छ । ४० देखि ६० प्रतिशतसम्म खानेपानीको दुरुपयोग भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । माथिका कारण प्राकृतिक सम्पदा जोगाई खानेपानीको मुहान संरक्षण, चुहावट र दुरुपयोग रोकी पानीको आवश्यक व्यवस्थापन गर्नु आजको प्रमुख आवश्यकता हो ।
नेपालमा पानीको समस्या हुनुका कारण मुख्य तथा सहायक मुहानको योजनाबद्ध विकास तथा संरक्षण नहुनु, नालाको व्यवस्था नहुनु, संरक्षण क्षेत्र र मुहान क्षेत्र आरक्षण क्षेत्र घोषणा गरेर वृक्षरोपण नहुनु हो । त्यस्तै, वर्षाको पानी संकलन प्रविधिलाई अभियानका रूपमा नल्याइनु, दिगो खानेपानी योजना बनाउन नसक्नु, जनतालाई प्रत्यक्ष सहभागी गराउन नसक्नु पनि कारण हुन् । शिक्षा एवं जनचेतनाको अभाव, व्यापक कमिशन एवं भ्रष्टाचार, गुणस्तरीय जनशक्तिको प्रयोग नगरी राजनीतिका आफ्ना मान्छेको भर्ती केन्द्र हुनु पनि समस्याका कारण मानिन्छ । नेपाललाई विश्व मानचित्रमा नियाल्ने हो भने हामी विश्वकै जलस्रोतको धनी देश मान्छौं । कुनै दिन काठमाडौंवासीले सबभन्दा सस्तो वस्तुको रूपमा नाम लिनुपर्दा पानीलाई लिइन्थ्यो । तर, माथिको कारकतत्त्वले गर्दा काठमाडांै उपत्यका साथै देशका अन्य प्रमुख शहरहरूमा समेत खानेपानीको हाहाकार छ ।
गुणस्तर जीवन र आर्थिक विकासका लागि खानेपानी व्यवस्थापन तथा वितरणमा सुधारको आवश्यकता अपरिहार्य छ । किनभने खानेपानी र गुणस्तरीय जीवन र देश तथा जनताको आर्थिक विकास बीचको अन्तरसम्बन्ध बारेमा विभिन्न समयमा धेरै अध्ययन र अनुसन्धान नभएका त भन्न नमिल्ला । सम्पूर्ण अध्ययनको निचोडका रूपमा पानी नै जीवनको आधारशिला हो तथा गुणस्तरीय जीवन बिताउन पानीकै कारणले मात्र सम्भव छ भन्ने उल्लेख भएको पाइन्छ । साथै, जनताको आर्थिक उन्नतिका लागि पानी नै आधारशीला हो । आज पृथ्वीमा जीवित सम्पूर्ण प्राणीले पानीलाई अमृतको रूपमा स्वीकार गरिसकेका छन् । किनभने वैज्ञानिकहरूले अनुसन्धानको क्रममा विभिन्न मानव तथा अन्य प्राणीको आवश्यकताका रूपमा नयाँ वस्तुको आविष्कार गर्न सक्षम भए पनि आजको एक्काइसौं शताब्दीसम्म पनि पानीको विकल्पका रूपमा अन्य वस्तुको विकास गर्न सकिएको छैन । पानी नै जीवन हो किनभने मानव शरीरको संरचनामा ८० प्रतिशत पानी नै रहेको छ जबकि हामी बस्ने पृथ्वीको २ तिहाइ भाग पानीले ढाकेको छ भने हाम्रो गुणस्तरीय जीवनलाई शतप्रतिशत पानीले नै प्रमुख भूमिका खेलिरहेको हुन्छ । तैपनि माथिको बाधक तत्त्वले खानेपानीमा ठूलो नकारात्मक असर पुर्याएको छ । यी कारण खानेपानी व्यवस्थापन तथा वितरणमा अविलम्ब पुन: संरचनाको आवश्यक देखिन्छ ।
नयाँ बन्ने संरचनामा हाम्रो मान्छे होइन, गुणस्तरीय मान्छे राख्नुपर्छ । राजनीतिक भागबन्डा होइन, वास्तविक नेपाली जनताको हित गर्ने शैक्षिक गुणस्तरीय जनशक्तिको कार्यान्वयन गर्नुपर्ने हुन्छ । स्वतन्त्र पारदर्शी राजनीतिक हस्तक्षेपबाट मुक्त राखिने प्रतिबद्धता, भ्रष्टाचार मुक्त, जनताको निगरानीमा रहने प्रकृतिको बनाइनुपर्छ । यो संस्थालाई नेपाली जनताको हितमा प्रयोग हुने अनुभूति दिलाउन सक्नेगरी गुणात्मक सुधार गर्नुपर्छ । नातावाद, कृपावाद, भ्रष्टाचार, राजनीतिक द्वन्द्व, अयोग्य योजनाकार आदिको अन्त गरी विश्वमै जलस्रोतमा धनी मानिएको नेपालमा खोपानीको समस्यालाई समाधान गर्नु जरुरी छ । खानेपानी, विद्युत्, कृषि आदिमा आत्मनिर्भर बनाउन संघ प्रदेशको भूमिका मुख्य हुन्छ । त्यसमा पनि स्थानीय सरकार तथा उपभोक्ताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । स्वच्छ खानेपानीको आपूर्तिले नागरिकहरू स्वस्थ रहने र यस्तो नागरिककै कारण समृद्धितर्फको यात्रा सम्भव हुने देखिन्छ । पानीमा धनी भए पनि त्यसलाई उपयोग गर्न हामी चुकिरहेका छौं । अब सरकारको ध्यान स्वच्छ खानेपानी आपूर्तिमा केन्द्रित हुनु आवश्यक छ ।
लेखक गुणस्तरीय जीवन विषयमा विद्यावारिधि हुन् ।