२०७२ सालमा गएको भूकम्पपछि बन्द रहेको तातोपानी नाका आफै राम्ररी खुल्न सकेको छैन । वैशाख १७ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर प्रवेश गर्न दिएर चीनले यो नाका निर्यातका लागि पूर्ण रूपमा खुला भएको बताए पनि निर्यातमा अवरोध भइरहेको छ । निर्यातमा मात्र होइन, चीनबाट आउने सामानमा समेत समस्या देखिन थालेको छ । चीनले बारम्बार सिमाना खुलाउने भने पनि त्यसो हुन सकेको छैन । चिनियाँ नीतिको निकै विरोध भएपछि एकाध हप्ता सीमा खुकुलो गरे पनि त्यसमा पुनः कडाइ गर्ने नीति किन लिएको हो भनेर नेपालले बुझ्न र त्यसअनुसार समाधान गर्न पहल गर्न सकेको छैन । खासगरी यो समस्या तातोपानी नाकामा बढी छ जुन भूकम्पअघि सबैभन्दा व्यस्त नाका थियो र नेपालीहरू चीनको भूभागमा गएर सामान खरीद गर्नसमेत पाउँथे ।
चीन नेपालको दोस्रो व्यापारिक साझेदार हो । व्यापारघाटा पनि चीनसँग निकै बढी छ । यस्तोमा विश्वको पहिलो अर्थतन्त्र बन्दै गरेको चीनबाट छिमेकीका नाताले जुन सद्भाव र सहयोग पाउनुपर्ने हो त्यो पाउन सकेको छैन । यसमा नेपालको पनि कमजोरी होला । ठूलो अर्थतन्त्र भएको र शक्तिशाली मुलुकको नाताले चीनले नेपाललाई धेरै सहयोग गर्न सक्छ । तर, उसले नेपाललाई कसरी लिने गरेको छ भन्ने स्पष्ट विश्लेषण कूटनीतिक क्षेत्रले आफै गर्न नसकेको प्रतीत हुन्छ । त्यही कारण उसले नेपाल आउने सामानलाई समेत सहजै नेपाल आउन दिइरहेको छैन ।
चीनले नेपालका हजारौं वस्तुलाई शून्य भन्सारको सुविधा दिएको छ तर ती कुनै पनि वस्तु नेपालले निर्यात गर्न सक्ने खालका छैनन् । नेपालले निर्यात गर्न सक्ने र गरिरहेका वस्तुमा भने उसले विभिन्न बहाना गरेर रोक लगाइरहेको छ । यस्तोमा नेपालले चीनसँग स्पष्ट वार्ता गर्नुपर्छ । समस्यालाई किन बारम्बार अल्झाइरहेको हो भनेर खुलस्त पार्न लगाउनुपर्छ । यसो नगर्ने हो भने चिनियाँ असन्तुष्टि के हो भन्ने थाहा हुँदैन । त्यसैले सरकारी अधिकारीहरूले उनीहरूसँग गर्ने वार्तामा उनीहरूका चासोलाई सम्बोधन गर्ने विश्वास दिलाउनुपर्छ ।