जेठ १९, काठमाडौं । पूर्वमन्त्री एवं नेकपा(एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै ल्याएर थप संकट ल्याउने बताएका छन् । साथै उनले बजेटका कारण आफूले त्यस्तो अपेक्षा नगरेको पनि बताएका छन् ।
प्रतिनिधि सभामा बिहीवार बजेट सम्बन्धमा आयोजित छलफलमा बोल्दै उनले बर्तमान विश्वमा आर्थिक संकट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट ल्याउनुपर्नेमा अर्थमन्त्रीले त्यसतर्फ ध्यान नदिएको बताए ।
सांसद ज्ञवालीले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको बताए ।
उनले बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै भने, ‘बजेट ठूलो आकारको छ, यो चुवानी वर्ष हो, चुनाव गर्ने छलफलमा तपाईँहरु आफैं आयात घटाउँछु भन्नुहुन्छ, राजस्व बढाउँछु भन्नुहुन्छ, तर हाम्रो सबैभन्दा ठूलो राजस्व नै आयातबाट छ ।’
अर्थमन्त्री जनार्दन शर्माले जमीन नटेकिकन बजेट ल्याएको भन्दै उनले भने, ‘यसले उत्पादन वृद्धि गर्दैन, सरकारी कोषमा पैसा हुँदैन, वितरण गर्न पुग्दैन । व्यापार घाटा घटाउँदैन ।’ अहिलेको बजेटले थप संकटको पुनरोत्पादन गर्ने दावी पनि गरे ।
प्रतिनिधि सभाको बिहीवार तेस्रो दिन पनि सरकारले आर्थिक वर्ष २०७९/ ८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल भइरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा बजेटको सैद्धान्तिक विषयमा सामान्य छलफल गरिने र विस्तृतरूपमा मन्त्रालयगत छलफल पछि हुने जानकारी गराएका छन् ।