कैलाली । कैलालीको जानकी गाउँपालिका– ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त छन् ।
व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीका घार बोकेर सो वनमा गएका हुन् । छ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका उनी मौरीको आहारा खोज्दै कहिले खेतमा त कहिले विभिन्न सामुदायिक वनमा पुग्ने गर्छन् । मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीका घार ठाउँठाउँ पुर्याउन पनि उनलाई कुनै समस्या छैन । ‘मसँग धेरै मौरी त छैन । व्यवसायलाई विस्तारै बढाउँदै गएको छु ।’ उनले भने, ‘मिहेनतअनुसार आम्दानी राम्रो छ । सिजनमा राम्रो आम्दानी हुन्छ । त्यहीँबाट आएको पैसाले घर खर्च, बालबालिकाको पढाइलगायतको सबै खर्च बेहोर्ने गरेको छु ।’
उनी मौरीपालन व्यवसायसँगै अन्य कृषि पेसामा समेत जोडिएका छन् । उनको सबै परिवार नै कृषिमा केन्द्रित छ । ‘कृषिलाई नै प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ । राज्यले मौरीलाई पनि कृषिसँग जोडेको छ तर त्यसमा किसानलाई कुनै अनुदान सहयोग अहिलेसम्म पनि भएको छैन ।’ किसान बलबहादुरले भने, ‘स्थानीय सरकारले पनि सहयोग गरेको छैन । अन्य कृषि क्षेत्रमा अनुदान आउँछ । अनुदान नदिए मौरीपालनलाई कृषिसँग जोड्नुभएन ।’
उनी मात्रै होइन, पछिल्लो समयमा किसान व्यावसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन् । जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा किसानले अन्य व्यवसाय गर्दै आएको भए पनि मौरीपालनमा किसान आकर्षित हुन सकेका थिएनन् । विशेषगरी पूर्वी क्षेत्रबाट मौरीपालक किसान तोरी फुल्ने समयमा मौरीका घार बोकेर कैलालीका विभिन्न ठाउँमा आउने गर्छन् । त्यहाँबाट आएका मौरीपालक किसानबाटै मौरीपालनमा आकर्षित भएको पाइन्छ ।
कतिपय किसानले व्यावसायिक रूपमा काम शुरु गरेका छन् भने कतिपयले भर्खरै मौरी पालन गर्न शुरू गरेका छन् । बजारीकरणको समस्या नभएका कारण पनि किसानहरू मौरीपालन व्यवसायमा आकर्षित भएको पाइन्छ । किसानले अहिले उत्पादन भएको मौरीको मह प्रतिकेजी रु. ५०० भन्दा बढीमा विक्री गर्दै आएका छन् ।
जानकी–७ का टेकबहादुर चौधरी पेसाले शिक्षक हुन् । उनले १७ वर्ष शिक्षण गरे । शिक्षण पेसाबाट सन्तुष्ट हुन नसकेका उनले अहिले शिक्षण पेसा छोडेर व्यावसायिक मौरीपालनमा लागेका छन् । रासस