४६% लाभांश वितरण गरेको मञ्जुश्री फाइनान्सको नाफा ३३% घट्यो

माघ ७, काठमाडौं । मञ्जुश्री फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३३ प्रतिशत घटेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ११ करोड ३४ लाख खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ७ करोड ५३ लाख ८९ हजारमा झरेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा कमी आएकाले नाफा घटेको हो । सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० प्रतिशत घटेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ४६ प्रतिशत लाभांश दिएको हो । ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरेर कुल ४६ प्रतिशत लाभांश वितरण गरेको हो ।  ४० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३५ करोड १५ लाख पुगेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३६ करोड ४० लाख र रिटेन्ड अर्निङमा रू.५ करोड ८५ लाख  सञ्चित गरेको हो । सो अवधिमा कम्पनीले रू. १० अर्ब ३५ करोड ४४ लाख निक्षेप संकलन गरेको छ भने रू. ८ अर्ब ८२ करोड ८६ लाख कर्जा लगानी गरेको हो ।  त्यसैगरी कम्पनीको वितरणयोग्य नाफा रू. ५ करोड ८५ लाख रहेको छ । नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २३ दशमलव ४९ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ११ दशमलव १६ मा झरेको हो । त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ६७ दशमलव ९२ गुणा, तरलता अनुपात २७ दशमलव ६१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३१ रहेको छ । 

सम्बन्धित सामग्री

४६ % लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो पुस २९ मा साधारण सभा

पुस ८, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले १४ औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । कम्पनीले सभा कम्पनीको काठमाडौंस्थित नयाँबानेश्वर भवनमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।सभाले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी सभाले  यस फाइनान्स कम्पनी र अन्य कुनै पनि उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभिने वा प्राप्ति गर्ने तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  यस्तै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गते गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

४ ओटा वित्त कम्पनीको लाभांश घोषणा, कुन - कुन कम्पनीले गरे लाभांश प्रस्ताव ?

मंसिर २४, काठमाडौं । हालसम्ममा गत आवको मुनाफाबाट चार ओटा वित्त कम्पनीले मात्र लाभांश वितरण गर्ने घोषणा गरेका छन् । मञ्जुश्री फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, आइसिएफसि फाइनान्स र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । यी चार कम्पनीहरुमध्ये आइसिएफसि फाइनान्सले साधारण सभाको मिति तय गरेको छ । कम्पनीले पुस ५ गते साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) गरेर १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २३ गतेदेखि पुस ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । बाँकी तीन कम्पनीले साधारण सभाको मिति तय गरेका छैनन् । यी चार कम्पनीमध्ये सबैभन्दा बढी मञ्जुश्री फाइनान्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर समेत) गरेर कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले हालसम्मकै उच्च लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । त्यसैगरी, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले ७ दशमलव ७० प्रतिशत बोनस शेयर ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यी प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।