काठमाडौं । प्राथमिक बजारमा पछिल्लो समय सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेको छ । सार्वजनिक निष्कासनका क्रममा कम्पनीहरूको आईपीओ बढी संख्यामा विक्रीमा आइरहेको छ ।
यसै क्रममा असार २९ गतेदेखि नेशनल हाइड्रोपावरले भने ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दैछ । नेशनल हाइड्रोले जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूका लागि ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । प्रतिशेयर रू. १०० अंकित मूल्यमा ८२ करोड २१ लाख ४५ हजार बराबरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर कम्पनीले विक्री गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार पुग्नेछ । साउन २८ गतेसम्म विक्रीमा रहने हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १ गते बुक क्लोज गरेको छ ।
यस कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । योसँगै भोजपुरमा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खूवा खेला जलविद्युत आयोजनाको निर्माण पनि कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रोपावर कम्पनीमार्फत भइरहेको छ ।
यसअघि कम्पनीले सिन्धुपाल्चोकको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रवती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती तेस्रो जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन शुरू गरिएको छ ।
सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गरी यस कम्पनीले २०७९ असोज १४ गतेदेखि एकीकृत कारोबार शुरू गरेको छ । कम्पनीले नयाँ आयोजना निर्माणका लागि हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो । कम्पनीले हकप्रद विक्रीबाट संकलित पूँजीबाट लोअर इर्खुवा हाइड्रोपावरका लागि रू. १२ करोड २७ लाख, तल्लो इन्द्रावती जलविद्युत आयोजनाको लागि रू. ५६ करोड १७ लाख र इच्द्रावती तेस्रो जलविद्युत आयोजनका लागि रू. १३ करोड ७७ लाख छुट्याएको छ ।
धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता रू. १८३ दशमलव ५० रहेको कम्पनीको हकप्रद शेयर भने शेयधनीहरूले प्रतिकित्ता रू. १०० मै खरीद गर्न पाउनेछन् । हाल १०० कित्ता शेयर भएका नेशनल हाइड्रोका शेयरधनीहरूले ५० कित्ता हकप्रद शेयर खरीद गर्न पाउने भएका हुन् । यस कम्पनीले हालसम्मको इतिहासमा पहिलो पटक १९ दशमलव ५० प्रतिशत लाभांश वितरण गरेको अवस्था छ ।
कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १८ दशमलव ५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट भने कम्पनीले लाभांश वितरण गरेको छैन ।
गत आर्थिक वर्ष कम्पनीले रू. १ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले विद्युत विक्रीबाट रू. १७ करोड ४५ लाखभन्दा बढी आम्दानी गरेको थियो ।