काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा रू. १२ करोड ३१ लाख २५ हजार बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीलाई आईपीओ निष्कासनका लागि बोर्डले चैत १७ गते अनुमति प्रदान गरेको जानकारी दिएको छ । हाल कम्पनीमा संस्थापक तर्फको ७५ प्रतिशत शेयर स्वामित्व कायम छ । कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ९३ लाख ७५ हजार रहेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा २५ प्रतिशत शेयर विक्री गर्न लागेको हो । सर्वसाधारणमा आईपीओ बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ४९ करोड २५ लाख कायम हुनेछ ।
गत साउन १७ गते कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको थियो । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले खोटाङ जिल्लामा ६ दशमलव ६ मेगावाट क्षमताको सपसुप खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत रू. ५ अर्ब हुने अनुमान कम्पनीको छ ।