वैशाख २६, कोलम्बो । श्रीलंकामा सोमवार भएको हिंसात्मक झडपको क्रममा सत्तारुढ दलका एक जना सांसदको मृत्यु भएको छ ।
श्रीलंकन अनलाइन समाचार पोर्टल डेलि मिररले प्रहरीलाई उद्धृत गर्दै सांसद पी अमरकीर्थी अथुकोरालाको मृत्यु भएको आफ्नो वेबसाइटमा समाचार छापेको छ । उक्त झडपमा १५७ भन्दा धेरै घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार हिंसात्मक विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले एक जना सांसद र अर्का पूर्वमन्त्रीको घरमा पनि आगजनी गरेका छन्। पूर्वमन्त्री जोनस्टन फर्नान्डोको माउन्ट ल्याभिनियामा रहेको घर र सांसद सनथ निशान्तको घरमा प्रदर्शनकारीले आगजनी गरेको बताइएको छ ।
अहिले घटनास्थलको भिडियो फुटेज सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल बनेको छ । घटनास्थलको उक्त भिडियोमा भीषण रुपमा आगजनी भइरहेको र धुवाँको मुस्लो देखाइएको छ ।
हिंसात्मक घटनापछि स्वास्थ्य मन्त्रीले पनि राजीनामा दिएका छन् । सरकारले निषेधाज्ञा लगाएता पनि हजारौं मानिस सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । यो प्रदर्शनलाई श्रीलंकामा अहिलेसम्म भएका सरकार विरोधी प्रदर्शनमध्येकै सबैभन्दा ठूलो भएको बताइएको छ । यसैबीच सोमवार अपरान्ह प्रधानमन्त्री महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।
श्रीलंकामा आर्थिक संकटसँगै पछिल्लो समय राजनीतिक संकट उत्पन्न भएको छ । प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसद्मा रहेका सबै राजनीतिक दललाई सर्वदलीय मन्त्रिपरिषद् गठन गर्न आमन्त्रण गर्ने अपेक्षा गरिएको छ ।
श्रीलंका हाल विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक संकटबाट गुज्रिरहेको छ जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक वस्तुहरूको आपूर्ति अभाव निम्त्याएको छ ।
सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ ।
एजेन्सीहरु
यो पनि हेर्नुस् :
श्रीलंकाका प्रधानमन्त्री राजपाक्षले दिए राजीनामा